+
+

प्रधानन्यायाधीश जबराले भने : भोलि घर फर्किन्छु, बिदामा बस्दिनँ

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १६ गते १९:०७

१६ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफू शुक्रबार अस्पतालबाट निवास फर्कने भन्दै सर्वोच्च अदालतका न्यायाधीशहरुलाई बिदामा नबस्ने जानकारी गराएका छन् ।

सर्वोच्च अदालतका न्यायाधीशहरुको भेलामा एक न्यायाधीशसँग टेलिफोनमा कुरा गर्दै जबराले आफ्नो स्वास्थ्य अवस्था सुधार भएकाले शुक्रबार निवास फर्कने जानकारी गराएका हुन् ।

कोरोना संक्रमण भएपछि गत सोमबार साँझदेखि प्रधानन्यायाधीश जबरा बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालमा भर्ना भएका थिए । विहीबार न्यायाधीशहरुको छलफलका क्रममा न्यायाधीश हरिकृष्ण कार्कीले प्रधानन्यायाधीश जबरालाई फोन गरेका थिए ।

त्यसक्रममा जबराले आफू संक्रमित भएर अस्पतालमा उपचाररत रहेको, शुक्रबार निवासमा फर्किने भनी जवाफ दिएको भनी कार्कीले अरु न्यायाधीशहरुलाई जानकारी गराएका थिए । त्यसपछि सर्वोच्च अदालतका न्यायाधीशहरुले बन्दीप्रत्यक्षीकरणका निवेदनहरुमात्रै सुनुवाइ गर्ने भनी छलफल टुंगिएको एक न्यायाधीशले बताए ।

बिहीबारको सर्वोच्च अदालतका न्यायाधीशहरुसँग नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनका पदाधिकारीहरुले पनि छलफल गरेका थिए । छलफलका क्रममा उनीहरुले संविधानको धारा १२९ को उपधारा ६ मा ‘प्रधानन्यायाधीशले आफ्नो काम गर्न नसक्ने अवस्था भएमा’ स्वतः बरिष्ठतम न्यायाधीश कामू प्रधानन्यायाधीश हुने व्यवस्था भएको भन्दै त्यो भूमिका निर्वाह गर्न बरिष्ठतम न्यायाधीश दीपक कार्कीको ध्यानाकर्षण गराएका थिए ।

नेपाल बार एशोसिएसनले भने प्रधानन्यायाधीश जबरा आफ्नो दैनिक काम गर्न असमर्थ रहेको भन्दै स्वतः कामू प्रधानन्यााधीशको पद क्रियाशील हुनुपर्ने माग गरेको छ ।

बारले प्रधानन्यायाधीश जबराको राजीनामा नआएसम्म सर्वोच्च अदालत परिसरमा धर्ना जारी राख्ने जनाएको छ । साथै प्रधानन्यायाधीश जबरा इजलासमा संलग्न भएमा त्यो इजलास समेत बहिस्कार गर्ने चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?