+
+
कांग्रेस प्रदेश अधिवेशन :

भूपेन्द्रजंग कर्णालीमा पौडेल पक्षको निर्विकल्प उम्मेदवार, देउवा समूहले छान्न सकेन

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १७ गते ७:००

१७ मंसिर, सुर्खेत । नेपाली कांग्रेसको कर्णाली प्रदेश सभापतिमा संस्थापनइतर (रामचन्द्र पौडेल) समूहबाट भूपेन्द्रजंग शाही उम्मेदवार हुने पक्का भएको छ ।

कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत पौडेल समूहले प्रदेशको सभापतिमा युवा नेता भनेर चिनिएका शाहीलाई उम्मेदवार तय गरेको हो । पौडेल समूहले बिहीबार पत्रकार सम्मेलन गरी शाहीलाई प्रदेश सभापतिमा उठाउने जानकारी दिएको छ ।

कालीकोटका शाही नेपाल विद्यार्थी संघका पूर्वउपाध्यक्ष र तरुण दलका केन्द्रीय महामन्त्री भइसकेका छन् । २०७० सालको संविधानसभा र २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा कालीकोटबाट चुनाव लडेका शाही दुवैपटक पराजित भएका थिए ।

आम चुनावमा पराजित शाही पौडेल पक्षबाट सर्वसम्मत उम्मेदवार भएपछि पार्टीको पहिलो प्रदेश सभापतिका लागि भिड्न लागेका हुन् । पत्रकार सम्मेलनमा शाहीले आफूले सभापतिमा जित्ने दाबीसमेत गरेका छन् । आफूले जिते कांग्रेसभित्रको गुट-उपगुट न्यूनिकरण गर्ने उनको भनाइ छ ।

उनले कांग्रेस रुपान्तरणका लागि ३० बुँदे प्रस्ताव समेत पेस गरेका छन् । १४औं महाधिवेशनबाट कांग्रेसमा आमुल रुपान्तरणको खाचो रहेको नेता शाहीले बताए । ‘पार्टी अब पुरानो शैली, गतिहीन र परम्परावादी तरिकाले चल्न सक्दैन’ उनले भने, ‘पार्टी भित्रको गुटबन्दि र चाकडी प्रथाको राजनिति अन्त्य गर्नु मेरो पहिलो प्राथमिकता हुँनेछ ।’

देउवा समूहमा सहमति जुट्न सकेन

संस्थापन (शेरबहादुर देउवा) पक्षबाट प्रदेश सभापतिमा अझै सहति जुट्न सकेको छैन् । संस्थापन पक्षबाट दुई जना सभापतिका आकांक्षी छन् । जाजरकोटका राजिवविक्रम शाह र जुम्लाका ललितजंग शाही सभापतिको उम्मेदवारका लागि लविङमा छन् ।

दुई जनामध्ये टिमभित्रबाट निर्विरोध छनोटका लागि नेताहरूले छलफल जारी राखेको र शुक्रबार बिहानसम्म टुंगो लाग्ने देउवा पक्षले जनाएको छ ।

शाह र शाही संविधानसभा निर्वाचन २०७० मा निर्वाचित सांसदसमेत हुन् ।

आन्तरिक प्रतिस्पर्धामा यसअघि पौडेल समूहको वर्चश्व रहेको कर्णालीमा यो पटक देउवा समूहले पकट बढाएको छ । १० जिल्लामध्ये ८ जिल्लाका सभापति देउवा समूहका छन् । दैलेख र कालीकोटमा मात्रै पौडेल समूहले सभापति पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?