+
+

मलेसियामा पनि ओमिक्रोन, स्वास्थ्य सेवा सुदृढ गर्न डब्ल्यूएचओको आह्वान

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १७ गते १३:२५

१७ मंसिर, काठमाडौं । दक्षिण अफ्रिकामा पहिलो पटक पहिचान गरिएको कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फैलिने क्रम जारी छ ।

मलेसियामा समेत ओमिक्रोनका एक संक्रमित फेला परेका छन् । मलेसियाका स्वास्थ्य मन्त्री खयरी जमालुद्दिनले आफ्नो मुलुकमा ओमिक्रोनको पहिलो संक्रमण पुष्टि भएको बताएका हुन् । नोभेम्बर १९ गते दक्षिण अफ्रिकाबाट सिंगापुर हुँदै मलेसिया आएका विदेशी यात्रुमा संक्रमण देखिएको उनको भनाइ थियो ।

मलेसियाको स्वास्थ्य विभागले समेत दक्षिण अफ्रिकाबाट आएका २५४ जना यात्रुमध्ये एकजनामा ओमिक्रोन पुष्टि गरेको छ । ती यात्रुमध्ये कम्तिमा ८३ जनामा कोरोना नेगेटिभ देखिएको, १३४ जनाको परीक्षण रिपोर्ट आउन बाँकी रहेको र ३५ को स्वाब परीक्षण गर्नु नपरेको विभागको भनाइ छ ।

फिलिपिन्समा दक्षिण अफ्रिकाबाट आएका एक व्यक्तिमा कोभिड-१९ पुष्टि भएको र कुन भेरियन्ट भनेर तय गर्न जिन सिक्वेन्सिङ भइरहेको अलजजिराले बताएको छ ।

यसैबीच, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले एसिया-प्रशान्त क्षेत्रका मुलुकमा स्वास्थ्य सेवा सुदृढ पार्दै र मानिसहरूलाई पूर्ण खोप लगाउँदै ओमिक्रोन भेरियन्टबाट हुन सक्ने संभावित संक्रमणका लागि तयारी गर्न भनेको छ ।

‘सीमा बन्द गर्दा केही समय संक्रमण रोक्न सकिन्छ तर संभावित नयाँ संक्रमण लागि सबै मुलुक र समुदायले तयारी गर्नुपर्छ’, डब्ल्यूएचओकाव क्षेत्रीय निर्देशक टाकेशी कासाईले भने । यात्रामाथिको कडाइमा मात्रै भर पर्न नहुने र संभावित संक्रमण रोक्नका लागि खोप लगाउने सहितका अन्य उपाय समेत अपनाउनु पर्ने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?