+
+

राप्रपा अध्यक्षमा विजयी राजेन्द्र लिङ्देन को हुन् ?

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १९ गते ९:२९

१९ मंसिर, काठमाडौं । लामो समयदेखि राप्रपाको नेतृत्व गर्दै आएका कमल थापालाई अध्यक्षमा पराजित गरेर राजेन्द्र लिङ्देन पुनः एकपटक चर्चामा आएका छन् ।

राप्रपाको केन्द्रीय सदस्य, महामन्त्री लगायत जिम्मेवारी सम्हालिसकेका ५६ वर्षीय लिङ्देन पार्टीको एकता महाधिवेशनबाट कमल थापालाई पराजित गर्दै केन्द्रीय अध्यक्षमा निर्वाचित भएका छन् ।

झापाको हल्दिबारी गाउँपालिका–१ घर भएका लिङ्देन २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई हराएर चर्चित बनेका थिए ।

लिङ्देनको जन्म भने वि.सं. २०२२ साल भदौ २२ गते पाँचथरको अमरपुरमा भएको थियो । उनको राजनीतिक यात्रा २०३६ सालबाट सुरु भएको थियो । २०३६ सालमा राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलमा उनी आवद्ध भएका थिए । २०४७ सालमा राप्रपाको झापा जिल्ला सचिव बने । २०४९ सालमा राप्रपाको विद्यार्थी संगठन (राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन) बन्दा उनी संस्थापक अध्यक्ष बने । २०४७ पछि स्थापित राप्रपाको जिल्ला तहको पदाधिकारीदेखि २०६६ सालमा पार्टी केन्द्रीय सदस्य र त्यसपछि महामन्त्रीको रुपमा उनी कार्यरत रहे ।

पिता मानप्रसाद र माता धनकुमारीका छोरा लिङ्देनले राजनीतिशास्त्र र इतिहासमा स्नातकसम्म अध्ययन गरेका छन् । स्थानीय निकायको निर्वाचनमा तत्कालीन गोलधाप गाविस वडा नम्बर–३ बाट २ पटकसम्म वडाध्यक्ष बनेका उनी वि.सं. २०६१ देखि २०६३ सम्म जिविस झापाको सभापतिसमेत बने ।

०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा पराजय व्यहोरेका लिङ्देन २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई हराएपछि चर्चामा रहे । लिङ्देन झापा क्षेत्र नम्बर–३ बाट सांसद् निर्वाचित भएका हुन् ।

राजनीतिक आन्दोलनको क्रममा पटक–पटक हिरासतमा बिताएका उनी २०३८ र २०४७ सालमा दुई पटक जेल परेका थिए । ९ महिनाभन्दा बढी समय बन्दी जीवन बिताएको उनी बताउँछन् । आफूलाई निष्ठाको पर्याय, विकास अभियन्ताको रुपमा परिचित गराउन चाहने लिङ्देन युवा पुस्तामा लोकप्रिय मानिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?