+
+
Shares

देशको राजनीतिमा अनिश्चयको कालो बादल मडारियो, राप्रपाले मात्रै निकास दिनसक्छ : लिङ्देन

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २७ गते १६:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको राजनीतिमा अनिश्चय र अनिश्चितताको कालो बादल मडारिएको भन्दै देशलाई निकास दिने एकमात्र पार्टी राप्रपा भएको दाबी गरे।
  • नेपाल सनातन धर्म संस्कृति संगठनको काठमाडौं जिल्ला अधिवेशनमा उनले अन्य राजनीतिक दलहरू असफल भइसकेको र राप्रपालाई पुनर्गठन गर्नुपर्ने बताए।
  • लिङ्देनले परम्परागत कार्यशैलीले पार्टी नबलियो हुने भन्दै आगामी महाधिवेशनको तयारीमा जुट्न नेता–कार्यकर्तालाई आग्रह गरे।

२७ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको राजनीतिमा अनिश्चय र अनिश्चितताको कालो बादलहरू मडारिरहेको भन्दै यस्तो समयमा मुलुकलाई निकास दिने एकमात्र पार्टी राप्रपा भएको जिकिर गरेका छन् ।

नेपाल सनातन धर्म संस्कृति संगठनको काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले मुलुकका अन्य राजनीतिक दलहरु असफल भइसकेको उनको भनाइ छ ।

‘नेपालको राजनीति एउटा अध्यारो सुरुङमा प्रवेश गरेको छ । अनिश्चय र अनिश्चितताका कालो बादलहरू आज हाम्रो शिरमाथि मडारिराखेको छ । सबै जस्तो राजनीतिक दलहरू असफलताको बाटोतर्फ गइराखेका छन् । यस्तो बेला देशलाई निकास दिने र एउटा दृष्टि दिने कुनै शक्ति र पार्टी नेपालमा जीवित छ भने त्यो राष्ट्रिय प्रजातन्त्र पार्टी हो,’ लिङ्देनको दाबी छ ।

साथै, उनले परम्परागत कार्यशैलीबाट पार्टीलाई बलियो बनाउन नसकिने भन्दै नेतृत्वदेखि कार्यकर्तासम्म सबै बदलिन जरुरी रहेको पनि बताए । पार्टीको अगामी महाधिवेशनमार्फत पार्टीलाई पुन:जीवन दिनेगरी संगठनको पुन:गठन गरेर जानुपर्ने समेत उनको भनाइ छ ।

‘राष्ट्रिय प्रजातन्त्र पार्टीलाई यस्तो शक्तिको रूपमा तयार गर्नको लागि हामी परम्परागत रूपमा जसरी हिंडिराखेका छौं, जसरी चलिराखेका छौं, त्यसले पुग्दैन । मैले पनि जे गरिराखेको छु, त्यसले पुग्दैन । तपाईंहरूले पनि जे गरिराख्नुभएको छ, त्यसले पुग्दैन । हामी सबै बदलिनुपर्छ,’ उनले भने ।

मुलुकमा विद्यमान चुनौतीको सामना गर्दै पार्टीलाई देशको नेतृत्व गर्नसक्ने शक्तिको रुपमा तयार पार्न पुनर्गठनको आवश्यकता रहेको उनको भनाइ छ । त्यसका लागि महाधिवेशनको तयारीमा जुट्न उनले नेता कार्यकर्ताहरुलाई आग्रह समेत गरे । उनले पार्टी संगठन विस्तार नगरी सीमित कार्यकर्तामै केन्द्रित भएर राप्रपा ठूलो बन्न नसक्ने भन्दै सबैका लागि ढोका खुला गर्नुपर्ने गर्नुपर्ने समेत बताए ।

‘हामी नयाँ ढङ्गले जानुपर्छ र यसलाई एकमुष्टमा भन्ने हो भने आउने महाधिवेशनबाट राप्रपालाई पुनर्गठित गरेर जानुपर्छ । र पुनर्गठित राप्रपा हामीले बोकेर जानुपर्छ । यसको लागि पार्टीमा सबैको लागि ढोका खोल्नुपर्छ । त्यो क्रममा कोही समस्याको रूपमा छन् भने छुट्न पनि सक्छन् । त्यसमा हामीले चिन्ता गर्न हुन्न । अहिले हामी जति छौँ, सैद्धान्तिक रूपमा ती मानिसहरू एकताबद्ध भएर जानुपर्छ । कोही पनि विचलित हुनु हुँदैन,’ उनले भने ।

आउने महाधिवेशनमा यो पार्टीलाई पुनर्गठित गरेरै लाने कुरामा लाग्नुपर्ने बताउँदै उनले सबैलाई महाधिवेशनको तयारीमा जुट्न समेत आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?