 
																			२० मंसिर, काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले अन्तर्राष्ट्रिय उडानमा खतराजन्य पदार्थ ढुवानीको अनुमति पाएको छ । योसँगै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)ले खतराको सूचीमा राखेर सुरक्षा अपनाएर ढुवानी गर्न सकिने गरी अनुमति दिएका वस्तु तथा पदार्थहरु ल्याउन नेपाल एयरलाइन्सलाई बाटो खुलेको छ ।
नेपाल नागरिक उड्डन प्राधिरकणले जारी गरेको अनुमतिपत्रअनुसार त्यस्ता सामान ढुवानीका लागि तोकिएका मापदण्डहरु पूरा गर्नुपर्ने छ । सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा एक कार्यक्रमका बीच निगमलाई अन्तर्राष्ट्रिय उडानमा खतराजन्य पदार्थको ढुवानी अनुमति प्रमाणपत्र जारी गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटन मन्त्री प्रेम आलेले आफूले मन्त्रालय अनावश्यक खर्च कटौती गर्दै लागको दावी गरे । नेपाल वायु सेवा निगम घाटामा गएको र ऋणको ब्याजसमेत तिर्न नसकेको भन्दै मन्त्री आलेले नेपाली ध्वजाबाहक जहाजलाई नाफामा लैजाने चाहना राखेको बताए ।
‘वायु सेवा निगम नेपाली जनताले तिरेको राजस्वबाट खडा भएको हो, यसलाई कुनैपनि हालतमा माथि उठाउनै पर्छ,’ उनले भने, ‘हामी चाहान्छौं कम भन्दा कम खर्च गरेर नेपाल ध्वजाबाहक जहाज नाफामा जाओस् ।’
अहिलेपनि ५० अर्ब भन्दा बढी ऋण रहेको भन्दै उनले ९ प्रतिशत हामीले ब्याज तिरिराख्नु पर्ने अवस्था चिन्ताजनक भएको उल्लेख गरे । ‘निगमले किस्ता तिर्न र ब्याज तिर्न सकेका छैन । यस्तै समस्या समाधान गर्नका लागि म यहाँ आएको छु’ उनले भने ।
मन्त्री आलेले खतराजन्य पदार्थ आयात निर्यातको अनुमति पाउनु नेपालको लागि उपलब्धि भएको उल्लेख गरे । खतराजन्य पदार्थ आयात-निर्यातमा अब व्यवसायीहरुलाई झन्झट नहुने र नाफा हुने उनले बताए ।
‘व्यवसायीहरुलाई पनि हरेक ठाउँमा झन्झट हुन्थ्यो । सामान ल्याउँदा कम्तिमा अब सोझै आउन सक्ने भयो । त्यो पनि एउटा उपलब्धि हो’ उनले भने । उनले यात्रु नभएको फ्लाइट पनि यस्ता पदार्थ बोक्दा नाफा हुने बताए ।
आलेले आफू मन्त्रालय मातहतका सबै निकायको कमी, कमजोरी, विकृति र विसंगति सुधार्न प्रयासरत रहेको उल्लेख गर्दै सहयोग गर्न सम्बन्धित पक्षलाई आग्रह गरे ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4