 
																						२० मंसिर, काठमाडौं । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पनि भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई जनामा ओमिक्रोन संक्रमण फेला परेको पुष्टि गरेको हो ।
मंसिर ३ गते नयाँ भेरियन्ट भेटिएको देश हुँदै आएका ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिमा ओमिक्रोन भेटिएको मन्त्रालयले जनाएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्व समुदायलाई जानकारी नगराउँदै नेपालमा ओमिक्रोन भित्रिसकेको देखिएकाले यो भेरियन्ट भित्रभित्रै फैलिएको त छैन भन्ने धेरैको चासो छ ।
संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारीका अनुसार ओमिक्रोन भेरियन्ट कति घातक छ ? अहिले प्रयोग भइरहेका खोप यो भेरियन्टविरुद्ध प्रभावकारी छ कि छैन भन्नेबारे अध्ययन अनुसन्धान भइरहेको छ । त्यसैले अहिले जोखिमबाट बच्न जनस्वास्थ्यका मापदण्डहरु पालना नै महत्वपूर्ण कदम हो । साथै यसको फैलावट रोक्नका लागि डा. अधिकारी चार वटा सुझाव दिन्छन्ः
पहिलो – नेपाल–भारत सीमा नाकामा कडाइ गर्नुपर्छ । कडाइ गर्ने भन्दैमा यसअघि जस्तो अवैज्ञानिक ढंगले गरेको कडाइको कुने औचित्य छैन । कडाइ वैज्ञानिक ढंगले गर्नुपर्छ । त्यसको लागि सरकारले तयारी गर्नु आवश्यक हुन्छ ।
दोस्रो – बुस्टर डोज । यो भेरियन्टमा खोप कति प्रभावकारी छ भन्ने अध्ययनकै क्रममा छ । तर केही न केही काम गर्छ भन्ने अनुमान गर्न सकिन्छ । हामी कहाँ अझै पनि धेरै नागरिकले पहिलो डोज खोप नै पाउन नसकेको अवस्था छ । उनीहरुलाई तत्काल कम्तीमा एक डोज खोप दिने व्यवस्था मिलाउनुपर्छ । दोस्रो डोजको पर्खाइमा रहेकालाई पनि खोप दिनुपर्छ । त्यस्तै पूर्ण खोप पाएको ६ महिना नाघेकालाई बुस्टर डोज दिने व्यवस्था मिलाउनुपर्छ । सबैलाई बुस्टर डोज लगाउन सम्भव नभए फ्रन्टलाइनर्स, दीर्घरोगी, वृद्धवृद्धालाई प्राथमिकतामा राखेर बुस्टर डोज दिन सकिन्छ । पूर्णखोप पाएको ६ महिनापछि इम्युनिटी पावर घट्दै जाने देखाएको छ । त्यसैले सम्भव भए सबैलाई र नभए प्राथमिकतामा राखेर बुस्टर डोज दिँदा उपयुक्त हुन्छ ।
तेस्रो सुझाव – जनचेतना । ओमिक्रोन भेरियन्टबारे जनचेतना फैलाउनु आवश्यक छ । ओमिक्रोन भेरियन्ट कसरी सर्छ, यसको संक्रमण हुँदा के–कस्ता लक्षणहरु देखा पर्छन्, लक्षणहरु देखा परेमा के गर्ने ? अस्पताल कुन समयमा जाने ? परीक्षण कसरी गर्ने ? एक व्यक्तिबाट अर्को व्यक्तिमा यसको संक्रमण फैलन नदिन के गर्ने ? कसरी सावधानी अपनाउने ? भनेर जानकारी दिन जरुरी छ । सँगै यसअघि जस्तै जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालन गर्न जरुरी छ भन्ने चेतनाको विकास गराउनु जरुरी छ । अनिवार्य रुपमा गुणस्तरीय मास्क लगाउने, भौतिक दुरी कायम गर्ने, भीडभाड नगर्ने लगायतका जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नु आवश्यक हुन्छ ।
चौथो सुझाव – नियमित जिन सिक्वेन्सिङ । ओमिक्रोन भेरियन्टबाटै संक्रमण भएको हो वा होइन पीसीआर परीक्षणबाट पहिचान गर्न सकिँदैन । त्यसैले कोरोना पुष्टि भएका व्यक्तिहरुको नमुना लिएर जिन सिक्वेन्सिङ नियमित गर्नुपर्छ । कोरोना पुष्टि भएको संख्यामध्ये कम्तीमा ५ प्रतिशतको जिन सिक्वेन्सिङ गर्नुपर्छ । यो नेपालमा सम्भव पनि छ । तर यो भइरहेको छैन । त्यसैले जिन सिक्वेन्सिङलाई तीव्रता दिनुपर्छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुन पनि ओमिक्रोन भेरियन्टबारे धेरै कुरा थाहा नभएको अवस्थामा जनस्वास्थ्यको मापदण्ड पालना गर्नु नै उत्तम हुने बताउँछन् । छिटोभन्दा छिटो सबै नागरिकलाई खोप दिने व्यवस्था गर्नुपर्ने र पूर्ण खोप लगाइसकेकाहरुलाई पनि बुस्टर डोज दिनु उपयुक्त हुने उनले बताए ।
अत्यावश्यकीय सामग्री जोहो गरौं
अनुसन्धानको क्रममा डब्ल्यूएचओले यो छिटो फैलन सक्ने खतरा रहेको संकेत गरेकाले नेपालमा पनि यसको फैलावट भित्रभित्रै धेरै हुनसक्ने आशंका उब्जाएको डा. पुन बताउँछन् । ‘अनुसन्धानको क्रममा छिटो फैलिने, तर घातक नहुने हो कि भन्ने कुरा पनि आएको छ । यस्तो अवस्थामा त्यति धेरै समस्या नहुन सक्छ,’ डा. पुन भन्छन्, ‘तर छिटो पनि फैलिने र घातक पनि हुने देखियो भने चिन्ताको विषय हुनसक्छ ।’
त्यसैले ओमिक्रोन भेरियन्टले निम्त्याउन सक्ने जोखिमलाई मध्यनजर गरी खोप, औषधि, स्वास्थ्य उपकरण लगायतका अति आवश्यकीय सामग्रीको जोहो गर्नुपर्ने डा. अधिकारीको सुझाव छ ।
‘डेल्टा भेरियन्ट जतिकै वा यो भन्दा पनि बढी संक्रामक एवं घातक भएको अवस्थामा सबैतिर खोप, औषधि, अक्सिजन लगायत अति आवश्यकीय स्वास्थ्य उपकरणहरुको अभाव सिर्जना हुनसक्छ’ डा. अधिकारी भन्छन्, ‘त्यसैलै खोप, औषधि लगायत आवश्यक स्वास्थ्य उपकरणहरुको जोहो पहिला नै गर्दा उचित हुन्छ । संक्रमण सबै मुलुकमा उच्च भएको समयमा ती अति आवश्यकीय स्वास्थ्य उपकरणहरु आपूर्ति गर्न कठिन हुन सक्छ । जसले गर्दा ठूलो क्षति बेहोर्नुपर्ने हुन्छ ।’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4