+
+

डेढ अर्बमा तीन हजार नेपाली ट्रान्सफर्मर किन्दै प्राधिकरण

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २० गते १८:५४

२० मंसिर, काठमाडौं । नेपाल इकरात इन्जिनियरिङ कम्पनी (निक)ले केही हप्तामै नेपाल विद्युत् प्राधिकरणलाई नयाँ वितरण ट्रान्सफर्मरको आपूर्ति थाल्दैछ । हेटौंडामा निकको कारखानाले लामो समयपछि नेपालमै आफ्नो उत्पादन बेच्ने अवसर पाएको हो ।

नेपाल विद्युत प्राधिकरणका अधिकारीहरुका अनुसार निकको ट्रान्सफर्मरले नेपालभित्र बजार पाएको करिब १३ वर्षपछि मात्रै हो । २९ वर्ष पुरानो कम्पनी निकका ट्रान्सफर्मर बंगलादेश र भुटनमा पुगिरहे पनि विद्युत प्राधिकरणले निकाल्ने टेन्डरमा निक सफल हुन सकेको थिएन ।

त्यसका कारण निकले प्राधिकरणलाई ट्रान्सफर्मर बेच्न पाएन भने विदेशबाट आयात हुने ट्रान्सफर्मरमा मात्रै वितरण प्रणाली निर्भर बन्ने अवस्था आएको थियो ।

यसवर्ष दुई पटकका टेन्डरमा निक सफल भएको प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख मनोज सिलवाल बताउँछन् ।

विदेशी कम्पनीले कबोल गरेको भन्दा १५ प्रतिशत बढी मूल्य कबोल गरेपनि स्वदेशी कम्पनी योग्य हुने व्यवस्था अनुसार निक दुबै पटकको टेन्डरमा सफल भएको हो । निकसँग चीन, भारत र श्रीलंकाका तीन कम्पनी पनि प्रतिस्पर्धामा थिए ।त्यसअनुसार पहिलो पटक गरिएको ४ सय वटा र पछिल्लो पटक गरिएको २६ सय वटा ट्रान्सफर्मरको ठेक्का निकले पाएको सिलवालले बताए । ‘निकका पुराना ट्रान्सफर्मर अहिले पनि हाम्रो प्रणालीमा छ,’ सिलवाल भन्छन्,’निकको ट्रान्सफर्मरमा गुणस्तरसम्बद्ध समस्या छैन ।’

निकले करिब एक अर्ब ६० करोडमा ठेक्का हात पारेको हो । अहिले प्राधिकरणको प्रणालीमा करिब ३७ हजार वितरण ट्रान्सफर्मरहरु छन् । त्यसमध्ये करिब १० हजार निककै रहेको अनुमान छ ।

निकसँग ४ देखि १० महिना भित्र ट्रान्सफर्मरआपूर्ति गर्नुपर्ने गरी ठेक्का सम्झौता भएको छ । निकले वर्षमा १० हजार केभीएसम्मका ट्रान्सर्फमर उत्पादन गर्छ ।

देशभर विद्युतको वितरणलाइनमा जोड्नुपर्ने सयौं ट्रान्सफर्मरको माग छ । तर, प्राधिकरणले मागअनुसार वितरण केन्द्रहरूलाई ट्रान्सफर्मर उपलब्ध गराउन सकेको छैन ।

प्राधिकरणले पछिल्लोपटक ल्याएको ८ हजार ट्रान्सफर्मर लाइनमा जोडिइसकेको छ । प्राधिकरणको यसअघिको नेतृत्वले ट्रान्सर्फमरको आपूर्ति चक्र नबिथोलिने गरी प्रक्रिया अघि नबढाउँदा अभावको अवस्था आएको हो ।

ट्रान्सफर्मर अभावपछि वितरणलाइन विस्तार र स्तरीकरणको काम नै प्रभावित छ । अहिले बिग्रिएका ट्रान्सफर्मर मर्मत गरेर अभाव टार्ने काम हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?