+
+

अध्यागमनले फर्काइदियो दुबई उड्न लागेका ७६ यात्रु

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २१ गते ८:१९

२१ मंसिर, काठमाडौं । दुबई घुम्न जान लागेका ७६ जना यात्रुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलस्थित अध्यागम कार्यालयले फर्काइदिएको छ ।

ललितपुरको जावलाखेलस्थित शुभेक्षा बहुउद्देश्यी सहकारी संस्थाबाट दुबई घुम्न जान लागेको बताएका उनीहरूलाई मानव ओसारपसारको आशंकामा फर्काइएको प्रमुख अध्यागम अधिकृत पुष्पराज शाहीले जानकारी दिए । ‘सहकारीको पत्र ल्याएर ७६ जना मान्छे आएका थिए । ७० प्रतिशत महिला थिए’ उनले भने, ‘मानव ओसारपसार जस्तै महिला ओसारपसार गर्न खोजेको हुनसक्छ । त्यसैले फर्कायौं ।’

नेपाल एयरलाइन्सको जहाजमार्फत दुबई उड्न लागेका ७६ जना मध्ये ७० प्रतिशतभन्दा धेरै महिला थिए । सहकारीबाट जान लागेको बताए पनि उनीहरू कुनै जानकारीविना एक्कासी एयर्पोर्ट आएको र कागजातसमेत नभएकोले फर्काइएको प्रमुख अधिकृत शाहीले बताए । यसअघि ४/५ जना महिलाहरू भए पनि पहिले नै जानकारी आउने गरेको उनको भनाइ छ ।

आइतबार राति ११ बजे उड्न लागेका उनीहरूले जम्मा चार दिनका लागि दुबई जान लागेको बताएका थिए । तर भिसा भने साढे एक महीनाभन्दा धेरैको रहेको शाहीले बताए । ‘कसैले प्रष्ट जवाफ दिन सक्दैनन्’ उनले भने, ‘भिसा एक-डेढ महीनाभन्दा धेरैको छ तर उनीहरु चार दिनका लागि जान लागेको बताउँछन्, महिलाहरूलाई त्यहाँ लगेर घरेलु काममा लगाउन हुनसक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?