काठमाडौं । कान्तिपुर मिडिया ग्रुप र एपेक्स कलेज प्राइभेट लिमिटेडबीच पारस्पारिक सम्बन्धका विभिन्न क्षेत्रमा सहयोग र सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर (एमओयू) भएको छ । दुवै संस्थाका साझा लक्ष्य र उद्देश्यहरु प्राप्तिका लागि विविध क्षेत्रमा सहकार्य गर्ने गरी कान्तिपुर मिडिया ग्रुपका एजीएम महेश स्वार र एपेक्स कलेजका प्रिन्सिपल एलपी भानु शर्माले सोमबार यस्तो सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सहयोग र सहकार्यका क्षेत्रहरुमा इन्टर्नसीप तथा रोजगारी अवसर, विभिन्न अध्ययन तथा अनुसन्धानमा काममा अन्तरआवद्धता र दुई संस्थाबीचको सैद्धान्तिक तथा व्यवहारिक ज्ञान साटासाट रहेको छन् ।
दुई संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर भएपछि एपेक्स कलेजका विद्यार्थीलाई कान्तिपुर मिडिया ग्रुपले रोजगारी तथा इन्टर्नसीपका लागि अवसर दिने जारी विज्ञप्तिमा उल्लेख छ । त्यस्तै, एपेक्स कलेजका प्राध्यापक एवं विद्यार्थीहरुले गरेका सोध–अनुसन्धानलाई कान्तिपुर पब्लिकेसनमार्फत् प्रकाशन तथा अभिलेखिकरण गरिने जनाइएको छ ।
एपेक्स कलेजअन्तर्गतको एपेक्स मिडिया क्लबमार्फत् विद्यार्थीहरुले कान्तिपुर टेलिभिजन र रेडियो कान्तिपुरका माध्यामबाट आफ्ना क्षमता प्रस्तुत गर्ने अवसर पाउनेछन् ।
त्यस्तै, एपेक्स कलेजले सञ्चालन गरिरहेको ब्याचलर अफ कम्प्युटर इन्फरमेसन सिस्टोम (बीसीआईएस) कार्यक्रममा अध्ययनरत विद्यार्थीका लागि कान्तिपुर डिजिटल कर्पमा इन्टर्नसीपको अवसर दिइनेछ ।
यस्तो सहकार्यबाट विद्यार्थीहरुलाई व्यवसायिक ज्ञान र सीप प्राप्त हुने अवसर मात्र नभई उनीहरुले उद्योग तथा व्यवसायका क्षेत्रमा प्रतिष्ठित व्यक्तिहरुसँग काम गर्ने अवसरसमेत पाउने जारी विज्ञप्तिमा उल्लेख छ । ‘दुई संस्थाबीच भएको समझदारीले दुवै संस्थाको स्रोत साधनको प्रयोगबाट बदलि“दो समयअनुसार एक बृहत् प्लेटफर्म सिर्जना गर्न सहयोग गर्नेछ,’ कान्तिपुर मिडिया ग्रुपका एजीएम स्वारले भने, ‘यो दुवै पक्षका लागि विन–विनको सम्झौता हो ।’
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4