+
+

एनआरएनले खोल्लान् नेपाली बैंकमा डलर खाता ? 

रोयल आचार्य रोयल आचार्य
२०७८ मंसिर २२ गते ११:२१

२२ मंसिर, काठमाडौं । गैरआवासी नेपालीहरु (एनआरएन) हरुलाई नेपाली बैंकहरुमा विदेशी मुद्रामा खाता खोल्न सकिने व्यवस्था गरेको छ । विदेशी मुद्रा सञ्चितिको अवस्था नाजुक बनेका बेला गरिएको यो व्यवस्थाले देशको अर्थतन्त्र र गैरआवासीय नेपालीहरु दुवैलाई फाइदा हुने विश्वास सरकारको छ । तर, एनआरएनहरुले सरकारले अपेक्ष गरेअनुसार डलर जम्मा गर्छन् भन्नेमा आशंकाहरु भने छन् ।

नेपाल राष्ट्र बैंकको विदेशी विनमय सञ्चिति विभागका कार्यकारी निर्देशक रामु पौडेल यो व्यवस्थाले मुलुकमा विदेशी मुद्राको सञ्चिति बढाउन सहयोग पुग्ने बताउँछन् । यसले तत्कालका लागि मात्रै भएर दीर्घकालिन रुपमा सकारात्मक असर पर्ने उनको भनाइ छ । गैरआवासीय नेपालीहरु स्वयम्लाई पनि यसले फाइदा पुग्ने कार्यकारी निर्देशक पौडेलले बताउँछन् ।

‘कतिपय देशहरुमा नेगेटिभ ब्याजदर छ, त्यस्ता देशहरुमा भएको रकम नेपालमा राखेर एनआरएनले ब्याज आम्दानी गर्न सक्छन्, यो उहाँहरुको लागि पनि खुसीको कुरा हो’ उनले भने ।

राष्ट्र बैंकले मौदि्रक नीतिको त्रैमासिक समीक्षा कार्यान्वयनका लागि एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको थियो । एनआरएनले न्यूनतम ५ हजार अमेरिकी डलर राखेर खाता खोल्न सक्नेछन् ।

गैरआवासीय नेपालीको नाममा संयुक्त रुपमा समेत यसप्रकारको खाता खोल्न सक्ने राष्ट्र बैंकले बताएको छ । गैरआवासीय नेपालीको नाममा खाता खोल्दा तथा सञ्चालन गर्दा नेपाल सरकारको सम्बन्धित निकायबाट जारी भएको गैरआवासीय नेपाली नेपालीको अद्यावधिक परिचय पत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ ।

राष्ट्र बैंकका अनुसार यस्तो खातामा रहेको निक्षेप फिर्ता गर्नु पर्दा निक्षेपकर्ताले जम्मा गरेको मुद्रा र निक्षेप प्राप्त भएको देश फरक नपर्ने गरी निक्षेपकर्ताको नाममा विदेशमा खोलिएको खातामा फिर्ता पठाउनुपर्नेछ । यस्तो खातामा नगद भने जम्मा नहुने राष्ट्र बैंकले बताएको छ ।

बैंकिङ प्रणालीबाट मात्रै रकम जम्मा गर्न र निकाल्न सक्ने राष्ट्र बैंकले बताएको छ । यो व्यवस्थाले कति विदेशी मुद्रा भित्र्याउन सकिन्छ भनेर ठ्याक्कै अहिले नै अनुमान गर्न भने नसकिने कार्यकारी निर्देशक पौडेलले बताए ।

विज्ञ भन्छन् -बुझाउन जरुरी छ

बैंकिङ विज्ञ अनलराज भट्टराई यो व्यवस्था एकदमै राम्रो भएको र यसले नेपालीमा लगानी भित्र्याउन पनि महत्वपूर्ण सहयोग पुग्ने बताउँछन् । यो व्यवस्थाबारे अब संसारभर रहेका गैर आवासीय नेपालीहरुलाई बुझाउनु पर्ने उनले बताए । तर यसका लागि केही समय भने लाग्ने उनको भनाइ छ ।

‘अहिले त प्रचार प्रसार गर्नुपर्ने आवश्यकता छ, विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीहरुलाई यो कुरा बुझाउनु पर्छ,’ उनले भने, ‘नेपालमा खाता खोलेर ब्याज पाइन्छ फाइदा हुन्छ भन्ने कुरा बुझाउन सक्ने हो भने यहाँ लगानी आउँछ ।’

निक्षेप राखेर ब्याज खानमात्रै होइन नेपालमा लगानी गर्न पनि बैंक खाता आवश्यक पर्छ । राष्ट्र बैंकको यो व्यवस्थाले केही सहजता प्रदान गर्नेछ । अहिले विश्वका ८० भन्दा धेरै देशमा ८० लाख गैरआवासीय नेपालीहरु रहेको र अनौपचारिक अध्ययनअनुसार वाषिर्क ८० खर्बको कारोबार गैरआवासीय नेपालीहरुबाट हुने गरेको उनले बताए ।

‘यहाँ एक महिनामा कमाउने त धेरै देशहरुमा हाम्रा गैरआवासीय नेपालीहरुले एक दिनमै पनि कमाउनुहुन्छ जस्तो एउटा विद्यार्थीले घण्टाको १० डलर १२ डलरसम्म कमाउन सक्छ’ उनले भने, ‘यसमध्ये केही रकम नेपाल ल्याउन सकिन्छ भन्ने हाम्रो अनुमान हो, अब खाता खोल्न र लैजान पनि सहज बनाउनुपर्छ ।’

अब आउने क्रम शुरु हुने हो भने छाटो समयका लागि २ अर्ब डलरसम्म र पछि ४ देखि ५ देखि अर्ब डलरसम्म वाषिर्क एनआरएनबाट विदेशी मुद्रा आउन सक्ने भट्टराईको अनुमान छ ।

संसारभरिका गैर आवासीयहरुले सहज रुपमा स्वदेशमा पैसा पठाउन पनि सहज छैन । निक्षेप राख्न होस् या लगानी गर्नका लागि होस् यहाँ खाता आवश्यक पर्छ । यस्तो बेला बचत खातामा पैसा राख्न र चाहिएको बेला सहजै निकाल्न सक्ने व्यवस्था आउनु खुसीको कुरा हुने उनले बताए ।

खुसी छन् एनआरएन

राष्ट्र बैंकको यो व्यवस्थाले गैरआवासीय नेपालीहरु पनि खुसी छन् । गैरआवासीय नेपाली संघ अमेरिकाका पूर्व उपाध्यक्ष समेत रहेका श्री पराजुली बैंक खाता खोल्न दिने र चाहिएको बेला सहज रुपमा लैजान दिने व्यवस्था खुसीकै विषय भएको बताउँछन् ।

यसअघि पनि बैंकहरुले विदेशी मुद्रामा बैंक खाता खोल्ने गरेका थिए । आफूलाई रकम निकाल्नु परेको बेला विदेशी मुद्रामै बैंकहरुले भुक्तानी गर्ने गरेका थिए ।

आफूले माछापुच्छ्रे बैंकमा यस्तो खाता चलाइरहेको उनले बताए । खाता खोल्न पाउने सुविधा भए पनि आफूले चाहेको बेला लैजान भने सहज भएको उनले बताए ।

‘पहिले पनि खाता खोलिएकै हो, तर चाहिएको बेलामा लैजान सहज थिएन’ पराजुलीले भने, ‘अब बचत खाता खोल्ने र आफूलाई चाहिएको बेला सहज रुपमा लैजान पनि सक्नेगरी राष्ट्र बैंकले व्यवस्था गरेको भन्ने बुझिन्छ, यो विषय राम्रै हो ।’

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?