+
+

ओमिक्रोनविरुद्ध अहिलेकै खोपले काम गर्न सक्छन् : डब्ल्यूएचओ

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २२ गते ११:४५

२२ मंसिर, काठमाडौं । विश्व स्वास्थ्य संगठनका अधिकारीले हाल प्रयोग भइरहेका कोभिड खोपले ओमिक्रोनविरुद्ध काम गर्न सक्ने बताएका छन् ।

दक्षिण अफ्रिकामा नयाँ भेरियन्टबारे गरिएको नयाँ ल्याब परीक्षणबाट ओमिक्रोनले फाइजर खोप छल्न सक्ने देखिएका बेला विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अधिकारीको पछिल्लो धारणा आएको हो ।

अनुसन्धानकर्ताले पनि नयाँ भेरियन्टविरुद्ध खोपको प्रभावकारिता कम हुन सक्ने बताइरहेकाका छन् । तर डब्ल्यूएचओका स्वास्थ्य आपतकाल कार्यक्रमका कार्यकारी निर्देशक डा. माइक रायनले ओमिक्रोनको खोप छल्ने क्षमता अन्य भेरियन्टभन्दा राम्रो रहेकोबारे हालसम्म कुनै संकेत फेला नपरेको बताएका छन् ।

‘हामीसँग गम्भीर संक्रमण र अस्पताल भर्ना हुनबाट बचाउँने अनि सबै भेरियन्टविरुद्ध काम गरिसकेका निकै प्रभावकारी खोप छन्’ डा. रायनले भने, ‘नयाँ भेरियन्टको हकमा फरक अनुमान गर्नुपर्ने कुनै कारण छैन ।’

प्रारम्भिक तथ्याङ्कबाट समेत डेल्टा र अन्य भेरियन्टको तुनलामा ओमिक्रोनले गम्भीर संक्रमण गर्ने संभावना कम रहेको पनि रायनको भनाइ थियो ।

दक्षिण अफ्रिकामा गरिएको नयाँ अध्ययनले भने सुरुको कोभिड स्ट्रेनको तुलनामा ओमिक्रोनविरुद्ध फाइजर/बायोइन्टेक खोपको प्रभावकारिता ४० प्रतिशत कम हुन सक्ने देखाउँछ । तर उक्त अध्ययनको स्वतन्त्र विश्लेषण हुन भने बाँकी छ ।

अध्ययनको नेतृत्व गरेका तथा अफ्रिका हेल्थ रिसर्च इन्स्टिच्युटका भाइरस विशेषज्ञ एलेक्स सिगलले समेत ओमिक्रोनले खोपबाट प्राप्त हुने एन्टिबडी छल्नेसम्बन्धी तथ्य ‘अपूर्ण’ रहेको बताएका छन् ।

वैज्ञानिकहरूले पनि  यसअघिको कोभिड संक्रमण, लगत्तैको खोप वा बुस्टर डोजका कारण रोग प्रतिरोधी क्षमता बढ्न सक्ने र मानिसहरू गम्भीर संक्रमणबाट सुरक्षित हुने विश्वास गरेका छन् ।

मोडेर्ना, जोनसन एण्ड जोनसनसहितका अन्य कोभिड ओमिक्रोनविरुद्ध काम गर्ने वा नगर्ने भनेर हालसम्म महत्वपूर्ण तथ्य बाहिर आइसकेको छैन । ओमिक्रोनविरुद्ध फाइजर खोप के-कति प्रभावकारी छ भन्नेबारे केही दिनभित्रै तथ्याङ्क बाहिर आउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?