+
+

ओमिक्रोन भेरियन्ट पत्ता लगाउन के गर्दैछ स्वास्थ्य मन्त्रालय ?

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २२ गते १४:०४

२१ मंसिर, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमित नेपालमै भेटिएपछि सरकारले जिन सिक्वेन्सिङलाई तीव्रता दिएको छ ।

नयाँ भेरियन्टको फैलावट र यसले पार्ने असर पत्ता लगाउन जिन सिक्वेन्सिङलाई तीव्रता दिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले बताए । जिन सिक्वेन्सिङबाट हाल सक्रिय रहेको भेरियन्ट कुन हो भनी पत्ता लाग्छ ।

त्यस्तै संक्रमितको संख्या बढ्छ कि भनेर निगरानी भइरहेको पनि उनको भनाइ छ ‘अस्पतालमा बिरामीको चाप बढ्छ कि भनेर चनाखो भएका छौं । सिस्टमलाई अलर्ट अवस्थामा राखेका छौं’ डा. पौडेलले भने ।

मन्त्रालयले हिजोआज दैनिक गरिने पीसीआर परीक्षणमा पोजेटिभ रिपोर्ट आएको नमुनाको जिन सिक्वेन्सिङ गर्न थालेको छ । त्यस्तै पोजेटिभ रिपोर्ट आएको नमुनामा एस–जिन परीक्षण गर्दा एस–जिन फेला नपरेको नमुनाको पनि जिन सिक्वेन्सिङ गरिने मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले बताए ।

एस–जिन फेला नपरेको नमुनामा पनि ओमिक्रोन भेरियन्ट पुष्टिको सम्भावना भएकोले त्यस्तो नमुनाको जिन सिक्वेन्सिङ गरिने डा. अधिकारीले बताए ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. पौडेलले भने, ‘पछिल्लो २४ घण्टामा ११ हजार जनाको परीक्षण गर्दा ३ सय जनामा मात्रै संक्रमण पुष्टि भएको छ । यसले के देखाउँछ भने संक्रमित संख्यामा खासै उतारचढाव देखिएको छैन ।’

यसअघि सरकारले हवाइ मार्ग र भारतीय सीमा नाकाबाट नेपाल भित्रिने व्यक्तिमा लक्षण देखिए कोरोना परीक्षण गर्ने र रिपोर्ट पोजेटिभ आए एस–जिन परीक्षण गर्ने गरेको थियो । एस–जिनको रिपोर्ट पोजेटिभ आए जिन सिक्वेन्सिङ गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना पठाउने गरेको थियो ।

ओमिक्रोनको संक्रमणबाट बच्न परीक्षण बढाउने, जिन सिक्वेन्सिङलाई तीव्रता दिनुका साथै कोभिड–१९ विरुद्धको खोप अभियानलाई पनि बढाउने सहप्रवक्ता अधिकारीले बताए ।

प्रत्येक दिन पुष्टि हुने संक्रमितको संख्यामा खासै परिवर्तन नदेखिएको मन्त्रालयको भनाइ छ । प्रवक्ता डा. पौडेलले भने, ‘पछिल्लो २४ घण्टामा ११ हजार जनाको परीक्षण गर्दा ३ सय जनामा मात्रै संक्रमण पुष्टि भएको छ । यसले के देखाउँछ भने संक्रमित संख्यामा खासै उतारचढाव देखिएको छैन ।’

कसरी पत्ता लगाइन्छ ओमिक्रोन भेरियन्ट ?

कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन पत्ता लगाउन पीसीआर परीक्षणसँगै एस जिन परीक्षण पनि गरिन्छ ।

पीसीआर रिपोर्ट पोजेटिभ नमुनामा एस जिन फेला नपरे (एस जिन टार्गेट फेलर) उक्त नमुनालाई जिन सिक्वेन्सिङका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइन्छ । एस जिन फेला नपरेको नमुनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि हुने सम्भावना बलियो हुने डा. अधिकारी बताउँछन् ।

जिन सिक्वेन्सिङ गर्न करिब दुई साता जति लाग्ने र यसले नयाँ भेरियन्ट पत्ता लगाउन सक्छ ।

के हो ओमिक्रोन भेरियन्ट ?

ओमिक्रोन भेरियन्ट कोभिड–१९ को सबैभन्दा पछिल्लो भेरियन्ट हो । यो भेरियन्ट आफ्नो देशमा फेला परेको भनी दक्षिण अफ्रिकाले नोभेम्बर २४ मा विश्व स्वास्थ्य संगठनलाई जानकारी गराएको थियो । यो भेरियन्ट अहिले नेपाल लगायत ५० देशमा फैलिसकेको छ ।

यो भेरियन्ट देखा परेका दक्षिण अफ्रिकालगायतका अन्य मुलुकमा संक्रमण दर ह्वातै बढेको छ । तर यो भेरियन्ट कत्तिको संक्रामक छ भन्ने हालसम्म स्पष्ट भइनसकेको र यसबारे थप अध्ययन भइरहेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले बताएको छ ।

डब्ल्यूएचओले यो भेरियन्ट धेरै छिटो फैलिन सक्ने भेरियन्टको रुपमा हेरेको छ । यो भेरियन्टविरुद्ध हाल प्रयोगमा रहेका खोप कत्तिको प्रभावकारी छ भन्नेबारे पनि डब्ल्यूएचओले अध्ययन गरिरहेको छ । खोपको पूर्ण मात्रा लगाएकाहरुमा पनि यो भेरियन्टको संक्रमण रहेको पाइएको छ ।

यो भेरियन्टबाट बच्न के गर्ने ?

ओमिक्रोन पनि कोभिड–१९ को अन्य भेरियन्ट जस्तै भेरियन्ट हो । यो भेरियन्टको संक्रमणबाट जोगिन पनि डेल्टा भेरियन्टमा अपनाइने जस्तै सावधानी अपनाउने हो ।

ओमिक्रोनको संक्रमणबाट जोगिन मास्कको प्रयोग सही ढंगले गर्न, समय समयमा साबुन पानीले हात धुन, सेनिटाइजर प्रयोग गर्न, भीडभाड नगर्न, हावा आवातजावत राम्रोसँग हुने ठाउँमा बस्न, अन्य जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न जनस्वास्थ्य विज्ञहरु सुझाव दिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?