+
+

राष्ट्रकवि माधव घिमिरेको सम्मानमा हुलाक टिकट प्रकाशन

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २२ गते १७:४६

२२ मंसिर, काठमाडौं । सरकारले राष्ट्रकवि माधवप्रसाद घिमिरेको सम्मानमा हुलाक टिकट प्रकाशन गरेको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा राष्ट्रकविको सम्मानस्वरुप हुलाक टिकट प्रकाशन गरिएको हो ।

कार्यक्रममा बोल्दै नेपाल सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्वर्गारोहणपछि पनि राष्ट्रकवि घिमिरे सबैको प्रेरणाको श्रोत रहेको बताए । उनले धर्ती रहुन्जेल नेपाल र नेपाली रहने र नेपाली रहुन्जेल राष्ट्रकविको संस्मरण भइरहने बताए । मन्त्री कार्कीले राष्ट्रकवि घिमिरेको योगदानलाई ताजा गराउन हुलाक टिकट प्रकाशन गरिएको र यो नेपालीहरुको लागि गौरवको विषय भएको बताए।

‘उहाँको स्वर्गारोहणपछि पनि उहाँ हामी सबैको प्रेरणाको श्रोत हुनुहुन्छ । उहाँ कालजयी हुनुहुन्छ । उहाँले रचना गरेका सम्पत्ति नेपालीहरुलाई छोडेर जानुभएको छ । यो सदा उच्च सम्मानका साथ नेपालीहरुले यसलाई आत्मसाथ गर्नेछन् ।’ मन्त्री कार्कीले भने, ‘यो धर्ती रहुन्जेल नेपाल रहन्छ, नेपाल रहुन्जेल नेपालीहरु रहन्छन् र नेपालीहरु रहुन्जेल राष्ट्रकवि माधवप्रसाद घिमिरे सदैव पुस्तौँपुस्तासम्म उहाँको संस्मरण रहिरनेछ । त्यसलाई अझ ताजा स्मरण गराउन हामीले हुलाक टिकट प्रकाशन गरेका छौँ । यो सबैका निमित्त सन्तोष र गौरवको विषय हो ।’

कार्यक्रममा राष्ट्रकवि घिमिरेकी छोरी डा.किरण रेग्मीले मृत्युपछि पाएको हुलाक टिकटको सम्मान हरेक नागरिकका घरमा पुग्ने बताइन्। उनले मानिसहरुले देहावसानपछि बिस्तारै बिर्सिंदै जाने भनेपनि उनका गीत र कविताहरुले कहिल्यै बिर्सिन नसकिने बताइन् ।

डा. रेग्मीले गाउँछ गीत नेपाली भन्ने गीत राष्ट्रगानबाट हटाएकोप्रति चिन्ता व्यक्त गरिन्। उक्त गीतमा नेपाल र नेपालीहरुको बारेमा सबै यथार्थ चित्रण गरिएकोले नेपालको बारेमा धेरै कुरा जानकारी मिल्ने समेत उनले बताइन्।

‘बुबाले मृत्युपश्चात् जुन यो मानसम्मान पाउनुभएको छ, यो घरघरमा जान्छ । पहिलाको सम्मानहरु कोठामा हुन्थे, विद्यार्थी, शोधकर्ताहरुका लागि मात्रै हुन्थे । मान्छे मरेपछि बिर्सिंदै जान्छ भन्छन् तर उहाँका कविता, गीतहरुले अझै भावुक बनाउँछ ।’ डा. रेग्मीले भनिन्, ‘राष्ट्रगानमा देशको सीमा, दलित, जनजाती सबैलाई छोएको गीत गाउँछ गीत नेपाली भन्ने थियो, अब हुन पाएन, केही कारणले होला, समयले होला । त्यो गीतले शरीर नै तात्थ्यो ।’

पिताका कविता र गीतहरुले राष्ट्रको परिचय दिने र कालजयी रहने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?