+
+
मिनेन्द्र रिजालसँग अन्तर्वार्ता :

महाधिवेशनपछि कांग्रेस एकाङ्गी बन्ला कि भन्ने चिन्ता छ

महाधिवेशनपछि कांग्रेस एकांकी संगठनमा रुपान्तरण होला कि भन्ने चिन्ता पनि छ । कांग्रेसको नेतृत्व, संगठन र विचारको जुन ‘ब्रोडर अपील’ छ, त्यो नरहला कि भन्ने चिन्ता छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २२ गते १८:१२

२२ मंसिर, काठमाडौं । डा. मिनेन्द्र रिजाल रामचन्द्र पौडेल समूहबाट नेपाली कांग्रेसको महामन्त्री पदका दावेदार हुन् । तर, महाधिवेशन सुरु हुन दुई दिन बाँकी छँदा सभापतिको उम्मेदवार टुंगो नलाग्दा उनको प्यानल नै स्पष्ट हुन सकेको छैन ।

डा. रिजालको विश्लेषण छ– समूहबाट सभापतिको साझा उम्मेदवार तय गर्न सक्दा अहिले शेरबहादुर देउवाभन्दा अलिकति मात्र कम अनुमानित मत पुर्ताल गरेर माथि लैजान कठिनाइ छैन ।

तर, सभापतिमा साझा उम्मेदवार बनाउन नसक्दा पदाधिकारीका आकांक्षीहरुका राजनीतिक भविष्य पनि अनिश्चयमा छ । ‘सभापतिको एउटा उम्मेदवार बनाउन नसक्ने हो भने कहाँनिर उभिँदा माथिल्लो नेतृत्वलाई दबाव सिर्जना गर्न सक्छु भन्ने सोच आएको छ’, उनी भन्छन्, ‘त्यसैले मिलेर बसेको डब्बाहरुले कुन चाहिँ इन्जिनसँग जोडिने भनेर निर्णय गर्नुपर्ने परिस्थिति नआउला भन्न सकिन्न ।’

प्रस्तुत छ, कांग्रेस महामन्त्रीका आकांक्षी डा. रिजालसँग अनलाइनखबरकर्मी राजकुमार श्रेष्ठले गरेको कुराकानीको सम्पादित अंश :

सभापति शेरबहादुर देउवाले महाधिवेशन गर्नुहोला कि नहोला भन्ने अलमलमा लामै समय बस्नुभयो । हुने भएपछि चाहिँ उम्मेदवार टुंगो लगाउनै सकस भयो, होइन ?

वास्तवमा अन्यौल थिएन, हामी आफैंले सिर्जना गर्‍यौं । सभापति एवं प्रधानमन्त्रीले विशेष गर्नु भएको छ भनेर आभार प्रकट गर्न म यसो भनिरहेको छैन । यो बीचमा मैले जति संगत गरेँ, उहाँ महाधिवेशन गर्न चाहनुहुन्छ भन्ने प्रष्ट देखिएको थियो । त्यसको विकल्प पनि थिएन । हामीले नै कुनै न कुनै कारणले आफ्नो तयारी गरेका थिएनौं ।

महाधिवेशनपछि कांग्रेस एकांकी संगठनमा रुपान्तरण होला कि भन्ने चिन्ता पनि छ । कांग्रेसको नेतृत्व, संगठन र विचारको जुन ‘ब्रोडर अपील’ छ, त्यो नरहला कि भन्ने चिन्ता छ ।

देउवाले महाधिवेशन गराउँदैनन् भन्ने आशंकामा बाँच्दा आफूले तयारी गरेको छैन, आफ्नो उम्मेदवार तय गर्न सकेको छैन भन्ने हेक्का भएन जस्तो लाग्छ । प्रकाशमान सिंहकहाँ भएको बैठकमा मैले देउवाले महाधिवेशन गराउँदैनन् भन्ने भ्रम नराखौं भनेको थिएँ । उहाँसँग विकल्प पनि थिएन । उहाँ अधिवेशन नगरी कतिञ्जेल बस्न सक्नु हुन्थ्यो र !

अर्कोतर्फ प्रधानमन्त्री भएपछि चुनाव लड्न सहज परिस्थिति बनेको थियो । त्यसैले हामीले अधिवेशनमा कसरी उहाँको विकल्प प्रस्तुत गर्ने भनेर छलफल गर्नुपर्ने थियो । त्यसमा हामी कहिल्यै पनि जुटेनौं जस्तो लाग्छ ।

महाधिवेशन आइसक्दा पनि देउवासँग सभापतिमा लड्ने को हो भन्ने टुंगो नलाग्नुको कारण त्यही मात्र हो ?

मैले आफ्नै नेताहरुबारे अरुचिकर कुरा गरेजस्तो, आफ्नै सम्भावनामा अहित हुने कुरा गरेजस्तो पनि हुनसक्छ, तर हामीमा कताकता अर्धचेतन मनमा देउवालाई हराउन नसक्ने हो भने हार्न चाहिँ मैले पाए हुन्थ्यो भन्ने धारणा छ कि जस्तो लाग्यो । त्यो आशंका छ मलाई ।

सभापतिमा देउवालाई हराउने होइन, उनीसंग हार्न पाए हुन्थ्यो भन्ने चाहना ?

हामी यस्तो समयबाट गुज्रिरहेका छौं कि एकछिनलाई मान्नुस्, रामचन्द्र पौडेल र शेरबहादुर देउवा बीचमा प्रतिस्पर्धा भयो वा शेरबहादुर देउवा र अरु कसैको प्रतिस्पर्धा भयो भने उहाँहरुको नेतृत्वको चरण धेरै लामो समयसम्म जान सक्छ भन्ने लाग्दैन । सभापति हुनुभयो भने पनि देउवा वा पौडेल आउने ५ वर्ष पार्टी हाँक्नुहोला भन्ने लाग्दैन ।

त्यसैले सभापतिका आकांक्षीहरुको अर्धचेतन मनमा देउवा र पौडेलको समय बितिनहाल्ने वा अझ लम्बिने हो भने पनि लामो समय नपर्खी मेरो नेतृत्वमा कांग्रेसलाई अगाडि लैजान सकिन्छ भन्ने लागेको हुनुपर्छ ।

यसले त संस्थापन इतरका तपाईँहरुलाई नै घाटा भयो होइन ? तपाईँहरुले बलियो छौं भनेको प्रदेश १ र बागमती प्रदेश सभापतिमा हार भयो नि ?

हामी आपसमा नमिलेका कारण भोट घट्यो भन्ने तर्कसँग म सहमत छैन । तलबाट आउने प्रतिनिधिहरु खासै घटेका छैनन् । हाम्रो व्यवस्थापनको समस्या चाहिँ रह्यो ।

प्रदेश १ र बागमतीमा हामीले जित्नुपर्थ्यो । प्रदेश १ को सबै प्रक्रियामा म आफैं पनि संलग्न छु । जति भोटले हारेपनि पराजयको जिम्मेवारी मैले पनि लिनुपर्छ । बाग्मतीबारे मैले नेताहरुसँग बसेर धेरै कुरा गर्न पाएको छैन, तर व्यवस्थापकीय समस्या रहेजस्तो लाग्छ ।

हामी मत कम पाएर पराजित भएको होइन, आफ्नो व्यवस्थापन गर्न नसकेर हो । अहिले पनि विकल्पको मत संख्या देउवालाई परास्त गर्न सक्ने छ । त्यसका लागि जुन उर्जा हुनुपर्ने हो, त्यो देखिएको छैन । अलि शिथिल देखिएको छ । लड्ने मान्छेहरुमा पनि शिथिलता देखिन्छ, मतदाताहरुमा पनि ।

कताकता फेरि पनि देउवा नै आउनुहुन्छ भनेजस्तो चिन्ताले शिथिलता र अलिअलि निराशा पनि बढाएको देखिन्छ । तर एक मात्र उम्मेदवार हुने स्थिति बन्यो भने तत्कालै उर्जा यसरी सञ्चारित हुन्छ कि देउवाभन्दा अलिकति मात्र मत कम छ भने त्यसलाई पुर्न र माथि जान हामीलाई कुनै कठिनाइ छैन ।

यति धेरै छलफल भइसके, कुनै निष्कर्ष छैन । सहमति भए मेरो नाममा हुनुपर्छ, नत्र कुनै हालतमा उम्मेदवार बन्छु भन्ने छ । देउवाविरुद्ध एक मात्र उम्मेदवार बन्ने सम्भावना अझै छ र ?

हामी जतिजति महाधिवेशनको नजिक हुँदैछौं, त्यतित्यति एक मात्र उम्मेदवार बनाउन सकिन्न कि भन्ने चिन्ताले गाल्दै लगेको छ । सभापतिको साझा उम्मेदवार नभएका कारण यो समूहसँग जोडिएका अरुको पनि राजनीतिक भविष्य कसो पो होला भन्ने चिन्ता अझ बढ्यो भने अहिले जुन ठाउँमा उभिएका छौं, त्योभन्दा अझ बढी निराशाजनक परिणाम हात पर्नसक्छ ।

महाधिवेशनपछि कांग्रेस एकांकी संगठनमा रुपान्तरण होला कि भन्ने चिन्ता पनि छ । कांग्रेसको नेतृत्व, संगठन र विचारको जुन ‘ब्रोडर अपील’ छ, त्यो नरहला कि भन्ने चिन्ता छ ।

देउवा सभापति बन्नुहोला कि नहोला भन्ने सभापतिकै आकांक्षीहरुका लागि बढी चिन्ता र चिन्तनको विषय होला । तर मेरो लागि चिन्तन र चिन्ताको विषय देउवा फेरि सभापति बन्दा विविधताहरु सकिएर कांग्रेस बेढंगको बन्ला कि ? आगामी दिनमा आउने नेपालको चुनौती र अवसर बोकेर अगाडि बढ्न नसक्ला कि ? भन्ने हो ।

संसदमा हेर्दा वा कांग्रेसको बोली को हो भनेर खोज्दा कति मान्छे फेला पर्छन् त ? आजको दिनमा शेरबहादुर देउवा नेता हुनुहुन्छ, रामचन्द्र पौडेल नेता हुनुहुन्छ । तर कांग्रेसको बाणी खोज्दा अरु नेता खोज्न थाले नि मानिसहरुले । उहाँहरु छाता त हुनुहोला, तर बाणी अरु नै हुन थाले ।

कांग्रेसले सकेन भने हामीले ७५ वर्ष लगाएर बनाएको संविधानको पूर्ण स्वामित्व लिएर अगाडि लैजाने राजनीतिक शक्ति अरु कोही छैन । कांग्रेसको आफ्नै नेतृत्व एकांकी बन्न पुग्यो भने संविधानलाई समग्र रुपमा बोकेर हिँड्न सक्दैन भन्ने चिन्ता हो । त्यस अर्थमा विकल्प खोजेको हौं हामीले ।

व्यक्तिगत रुपमा शेरबहादुर देउवासँग मेरो सम्बन्ध नराम्रो छैन । उहाँप्रति मेरो सद्भाव छ, मप्रति पनि स्नेह नै राख्नुहुन्छ । तथापि, गएको ४–५ वर्षमा पार्टी जसरी ध्रवीकृत रह्यो, त्यही ध्रुवलाई वैधानिक आधार दिने खालको कांग्रेस बन्यो भने यो संविधानले परिकल्पना गरेको नेपाल नहोला भन्ने चिन्ता हो ।

देउवाको व्यक्तिगत खोट देखाउन खोजेको होइन । तर १३ औं महाधिवेशनबाट निर्वाचित देउवाको टिमका विमलेन्द्र निधि पनि घटेकाले कांग्रेसले विविधता गुमाउँछ कि भन्ने त्यो चिन्ता हो ।

अरु पदका आकांक्षीहरु पनि विभाजित हुने खतरा छ ?

म महामन्त्री पदको प्रत्यासी हुँ । महामन्त्रीभन्दा माथिको पनि होइन, तलको पनि होइन । तर, कसलाई सभापति मानेको उम्मेदवार भनेर आफैं सोच्दा उत्तर नपाउने अवस्था छ । यसबाट मेरो मनमा पनि निराशाको भाव पलाउन थालेको होला । नेपाली कांग्रेसमा गर्ने योगदान पनि सीमित हुने चिन्ता देखिएको होला ।

सभापति मात्र नटुंगिएको हो, महामन्त्री, सहमहामन्त्रीको टुंगो लागिसकेको छ भन्ने पनि सुनिन्छ नि ?

सभापति र उपसभापति तय हुनेवित्तिकै त्यो इन्जिनमा जोडिन बाँकी डब्बा तयार भइहाल्छन् । तर इन्जिन नै दुइटा लाग्यो भने ती डब्बाहरु अलमलमा पर्छन् । त्यो कठिनाइ हामी व्यहोर्दैछौं जस्तो लाग्छ ।

सहमति होस् भनेर धेरै कुर्‍यौं, अब कसलाई सभापति मानेर जाने भन्ने निर्णय आफैं गरेर अगाडि बढौं भन्ने अवस्था आउनसक्छ ?

मिलेर बसेको डब्बाहरुले कुन इन्जिनसँग जोडिने भनेर आफैं निर्णय गर्नुपर्ने परिस्थिति नआउला भन्न सकिन्न ।

महामन्त्री बन्ने आकांक्षा देखाउनुभएको छ । आगामी महाधिवेशनमा नेतृत्वमा दाबी गर्ने तयारी हो कि जस्तो खालको टिम बन्छ, त्यसमा महामन्त्रीका रुपमा काम गर्न सक्छु भनेर ?

एकछिन २ वर्ष पछाडि फर्कौं । त्यसबेला मभन्दा १० वर्षभन्दा बढी उमेरका नेताहरुले महामन्त्रीको आकांक्षा राख्नुभएको थियो । आज मेरो समकालीन या मभन्दा कम उमेर या पार्टीमा मप्रति जे प्रभाव–आशा गरिन्छ, त्यही खालका नेताहरु नै महामन्त्रीको उम्मेदवारका रुपमा देख्नुहुन्छ ।

यो हाम्रो मात्र प्रयत्नले भएको होइन, आज पार्टी उभिएको ठाउँमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल वयका नेताहरु हुनुहुन्छ । संस्थापक नेताहरुको वंश परम्परालाई प्रतिनिधित्व गर्ने नेताहरु हुनुहुन्छ, जसलाई अगाडि सार्दा आमकांग्रेस कार्यकर्तामा अब कांग्रेसले चुरो छाड्दैन भन्ने भरोसा हुन्छ । र, त्यसपछि हामीहरु छौं ।

यही लहरका वा हामीभन्दा पछाडिका नेताहरुले महामन्त्री पदलाई निकै भरोसाका साथ ग्रहण गरेको देखिन्छ । अब पाँच वर्षपछिको कांग्रेस कस्तो हुन्छ, कसले चलाउँछ ? कांग्रेस कुन रुपमा विकसित हुनुपर्छ ? भन्ने प्रश्नको उत्तर खोज्न थालिएको छ ।

अर्को, संसदमा हेर्दा वा कांग्रेसको बोली को हो भनेर खोज्दा कति मान्छे फेला पर्छन् त ? आजको दिनमा शेरबहादुर देउवा नेता हुनुहुन्छ, रामचन्द्र पौडेल नेता हुनुहुन्छ । तर कांग्रेसको बाणी खोज्दा अरु नेता खोज्न थाले नि मानिसहरुले । उहाँहरु छाता त हुनुहोला, तर बाणी अरु नै हुन थाले । महामन्त्रीमा लड्न चाहने हामी ८–१० जनामा त्यो बाणी खोज्न थालियो नि त ।

गएको ३–४ वर्षमा कम्युनिस्टहरु नेपालको विकल्प होइनन् भन्ने प्रमाणित भयो । एमाले जस्तो ठूलो संगठन भएको पार्टीको महाधिवेशनले लोकतान्त्रिक संविधान बोकेर हिँड्न, आधुनिक नेपाल बनाउन, समृद्धिकको यात्रामा हिँड्न, सबै नेपालीलाई समेटेर लैजान त्यो सक्षम हुने छैन भन्ने प्रष्ट पार्‍यो ।

अर्थात्, कांग्रेसबाहेक अरु विकल्प खोज्ने ठाउँ रहेन । त्यो कांग्रेसमा ५ वर्ष पछाडिको नेतृत्वका लागि महामन्त्री खोजेको होला, उपसभापति खोजेको होला ।

कांग्रेस पार्टीले संविधानका अन्तर्वस्तुमा जसरी अपनत्व लिनुपर्थ्यो, त्यसरी लिएन भन्ने आरोप छ नि ?

तपाईंसँग म सहमत छु । संघीयतालाई बलियो बनाउन हामीले के काम गर्‍यौं त ? बल्ल हामी संघीय नेतृत्व निर्माण गर्दैछौं । प्रदेशहरु त निर्माण गर्‍यौं, प्रदेश निर्माण गर्ने आधार के भन्ने बहस अझै सकिएको छैन । बाबुराम भट्टराईहरुलाई लागेको छ कि जातको आधारमा प्रदेश बनाउनुपर्ने थियो । जबकी हामीले बनाएको प्रदेशहरु प्रदेश १ र २ अथवा बाग्मती र कर्णाली अथवा गण्डकी र सुदूरपश्चिम प्रदेश किन बेग्लाबेग्लै हुनुपर्छ भनेर प्रष्ट छ ।

तर हाम्रो ढंग कस्तो भयो भने केन्द्रको सरकारमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आएको फुट र एमालेमा परेको परकम्पबाट ६ वटा प्रदेशको सरकार परिर्वतन भयो । केन्द्रको सरकार परिर्वतन हुँदा, केन्द्रको पार्टी फुट्दा हरेक प्रदेशको सरकार परिर्वतन हुनु भनेको हामीले संविधानको प्रमुख व्यवस्था संघीयता कति गहिरोसँग नेपालको हितका लागि प्रयोग गर्न सक्यौं भन्ने प्रश्न आयो । यसले हाम्रो सामूहिक असफलता प्रमाणित गर्छ ।

म अरु पार्टीको कुरा गरिरहेको छैन, कांग्रेसको सामूहिक असफलता । हामीले ल्याएका हौं, संघीय लोकतान्त्रिक गणतन्त्र । तर त्यसको एउटा विशेषतालाई पनि बोकेर हिँड्न सक्ने भएनौं । गणतन्त्रमा त हामी एक ठाउँमा उभिएका हौंला, तर भर्खरै भएको राप्रपाको महाधिवेशनले प्रश्न उब्जाएको छ धेरैको मनमा ।

हामीले धर्म परम्परा मान्छौं, धार्मिक स्वतन्त्रता पनि मान्छौं, राज्यले कुनै एउटा धर्म बोकेर हिँड्दैन, कसैको धर्ममा हस्तक्षेप गर्दैन भन्दा ठूलो संख्याको हिन्दुहरुले असुरक्षित महसुस गर्नु पर्दैन । कम सख्यामा रहेका अरु धर्मवलम्बीले ठूलो उथलपुथल गर्ने परिस्थिति बन्दैन भन्ने स्थापित गरेर बनाएको धर्म निरपेक्ष संविधानलाई त्यसरी नै लैजान सकेनौं । धर्म निरपेक्षतालाई बहस भन्दा बाहिर लैजान सकेनौं ।

अर्कोतर्फ ईश्वरका नाममा सपथ नलिने कम्युनिस्टहरु छन्, जो धर्मलाई शिरमा बोकेर हिँड्न, सबभन्दा लामो टीका लगाउन, महंगा सुनका झल्लर बोकेर हिँड्न र राम जन्मभूमि पत्ता लगाउन उद्धत् छन् ।

स्पष्ट वैचारिक दृष्टिकोण भएको बीपी कोइरालाको परम्पराबाट ७५ वर्ष झाँगिएको नेपाली काग्रेसले बनाएको आधुनिक नेपाल निर्माण गर्ने संविधानलाई जुरुक्क बोकेर हिँड्न सकेन । यो हाम्रो सामूहिक असफलता हो ।

तपाईंहरु महामन्त्री भएर आउँँदा त्यो कमजोरी सच्चिन्छ भन्ने के ग्यारेन्टी ?

संघीयताको विषयमा सोध्नुभयो भने म नाम भन्न चाहन्नँ, उचित पनि हुन्नँ, तर मभन्दा कम सचेत नेता को–को महामन्त्री लडिरहेका छन् भनेर सम्झन सक्छु । धर्मबारे म भन्दा बढी खुम्चिएर बस्नुपर्छ भन्ने मान्यता राख्ने नेता को भनेर ठम्याउन सक्छु ।

आर्थिक दृष्टिकोण प्रष्ट नभएका साथीहरु पनि उम्मेदवार हुनुहुन्छ । नेपालको संविधानमा गणतन्त्रभन्दा अरु ‘फिचर’ बढी महत्वपूर्ण हुन् भन्ने उम्मेदवारहरु पनि देख्छु । नेपालमा चाहिने भन्दा बढी लोकतन्त्र भयो, यसलाई अलिकति कस्दा सोचेको जस्तो विकासको बाटोमा हिँड्न सकिन्छ भन्ने सोच भएका साथीहरु पनि हुनुहुन्छ । म भन्दा प्रगतिशील छु, निकै अगाडि छु भन्ने नेताहरु पनि हुनुहुन्छ ।

यस अर्थमा म आफूलाई अलिबढी भेरोसा गर्ने अनुहारका रुपमा पाउँछु साथीहरुको बीचमा । म कांग्रेसको लामो परम्पराको कहिँ न कहिँ प्रतिनिधित्व गर्छु, आधुनिकतातिर जाने कुरामा पनि ढंगका साथ लयबद्ध रुपमा कांग्रेसलाई अभिव्यक्ति गर्न सक्छु । मैले यसो भन्दा आत्मावञ्चना हुन्छ जस्तो लाग्दैन ।

तस्वीरहरु : चन्द्रबहादुर आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?