+
+

५५ ऋणीले लिए ६ अर्ब ८० करोड पुनरकर्जा सुविधा (सूचिसहित)

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २३ गते ७:५६

२३ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्यामा परेका उद्योग व्यवसायहरूका लागि ल्याएको पुनरकर्जा सुविधा हालसम्म ५५ उद्योग व्यवसायहरूले लिएका छन् । कोरोना महामारीबाट प्रभावित उद्योग-व्यवसायलाई पुनरुत्थान गर्न ल्याइएको पुनरकर्जा सुविधा राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ का लागि समेत निरन्तरता दिएको छ ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २१ बैंक तथा वित्तीय संस्थाहरूले ५५ कम्पनीलाई यस्तो सुविधा दिएका छन् । जसमा ८ वटा बैंक तथा वित्तीय संस्थाहरूबाट ११ ऋणीेले विशेष पुनरकर्जा अन्तर्गत १ अर्ब ८६ करोड २३ लाख सुविधा पाएका छन् भने साधारण पुनरकर्जातर्फ १९ बैंक तथा वित्तीय संस्थाबाट ४४ ऋणीले ४ अर्ब ९३ करोड ९० लाख रुपैयाँ पुनरकर्जा सुविधा पाएका छन् ।

मौद्रिक नीतिमा गत आर्थिक वर्षमा दिइएको रकमको अधिकतम सीमा ननाघ्ने गरी यो वर्ष समेत त्यसलाई निरन्तरता दिने निर्णय भएको हो । पुनरकर्जा लघु, घरेलु, साना तथा मझौला उद्यम-व्यवसायले प्राथमिकताका आधारमा पाउने भएका छन् ।

सबैभन्दा धेरै पर्यटन क्षेत्रका

कोरोना महामारीका कारण नेपालमा सबैभन्दा धेरै असर पर्यटन क्षेत्रमा परेको थियो । राष्ट्र बैंकमा पुनरकर्जा सुविधा लिनेहरूमा पनि धेरै पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योग व्यवसायहरू नै रहेका छन् । हालसम्म राष्ट्र बैंकले दिएको पुनरकर्जा सुविधामध्ये ५० दशमलव ९३ प्रतिशत अर्थात ३ अर्ब ४६ करोड ३८ लाख रुपैयाँ पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योग व्यवसायहरूले लिएका छन् ।

पर्यटनपछि जलविद्युत् क्षेत्रमा २३.६४ प्रतिशत अर्थात १ अर्ब ६० करोड ७६ लाख रुपैयाँ लगानी भएको छ भने उत्पादनमूलक उद्योगहरूमा ८० करोड ८० लाख, अस्पतालमा ४८ करोड ७० लाख, शिक्षामा २४ करोड ५० लाख, यातायातमा १३ करोड ५२ लाख र कपडा व्यवसायमा ५ करोड ४७ लाख रुपैयाँ पुनरकर्जा सुविधा उपयोग भएको छ ।

प्रदेशगत रुपमा हेर्दा भने वागमती प्रदेशमा सबैभन्दा धेरै पुनरकर्जा सुविधा उपयोग भएको छ । सबैभन्दा कम भने प्रदेश २ र प्रदेश १ मा देखिएको छ । बागमती प्रदेशमा हालसम्म ३ अर्ब ४५ करोड ३६ लाख रुपैयाँ पुनरकर्जा सुविधा उपयोग भएको छ । यो कुल पुनरकर्जाको ५० दशमलव ७८ प्रतिशत हो ।

वागमती पछि गण्डकीमा १ अर्ब ८९ करोड ३६ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ भने लुम्बिनीमा ८८ करोड ५५ लाख रुपैयाँ, प्रदेश १ मा ३६ करोड ४२ लाख रुपैयाँ र प्रदेश २ मा २० लाख ४४ हजार रुपैयाँ उपयोग भएको छ ।

पुनरकर्जा राष्ट्र बैंकले ३ प्रतिशत ब्याजदरमा बैंकहरूलाई उपलब्ध गराउँछ भने ऋणीले ५ प्रतिशतमात्रै ब्याज तिर्नु पर्नेछ । आवेदनका लागि राष्ट्र बैंकले केही शर्तहरू तोकेको छ । उक्त शर्तहरू पालना भएकाले मात्रै कर्जा पाउनेछन् ।

संस्थाले माग गर्ने कूल पुनरकर्जा रकम संस्थाको प्राथमिक पुँजीको अधिकतम २५ प्रतिशतसम्म हुनुपर्ने, आवेदनको लागि छनौट गरिएका कर्जाको भुक्तानी अवधि न्यूनतम एक वर्ष बाँकी रहेको हुनुपर्ने तथा एकभन्दा बढी बैंक तथा वित्तीय संस्था मार्फत कर्जा उपयोग गरेका ऋणीको हकमा एक बैंक/वित्तीय संस्था मार्फत मात्र आवेदन भएको व्यहोरा आवेदकले सुनिश्चित गरेको हुनुपर्ने लगायतका शर्तहरू राष्ट्र बैंकले तोकेको छ ।

पुनरकर्जाको लागि आवेदन गरिएको कूल रकममध्ये कम्तिमा ७० प्रतिशत रकम लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा अन्तर्गत हुने गरी माग गर्नुपर्ने, आवेदनको लागि कर्जा छनौट गर्दा प्रत्येक शाखाबाट न्यूनतम ५ वटा ग्राहक/ऋणी समेटिएको हुनुपर्ने तथा आवेदन पेश गर्ने संस्थाको पुँजीकोष अनुपात यस बैंकले तोके बमोजिम पुगेको हुनुपर्ने लगायतका तथ्यांकहरूसमेत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?