
२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ गते शुरु हुँदैछ । कांग्रेसले यस पटक खसआर्य, महिला, मधेशी, जनजाति, थारु, मुस्लिम, पिछडिएको क्षेत्र (अपाङ्ग/अल्पसंख्यक) र दलित गरी आठवटा क्षेत्र (क्लस्टर) का लागि एक–एक जना सहमहामन्त्रीको व्यवस्था गरेको छ ।
पहिलो पटक निर्वाचनबाट चयन हुन लागेको कांग्रेसको यो पदाधिकारी पदमा धेरै नेताहरु आकांक्षी देखिएका छन् ।
१४ औं महाधिवेशनमा शेरबहादुर देउवा पक्षबाट मीनबहादुर विश्वकर्माले दलिततर्फको सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । प्रस्तुत छ नेता विश्वकर्मासँग अनलाइनखबरका रघुनाथ बजगाईंले गरेको कुराकानी :
१. सहमहामन्त्रीमा तपाईंको उम्मेदवारी किन ?
म दुई कार्यकाल केन्द्रीय सदस्य भएको र संसदीय फाँटमा काम गरेको छु । आन्तरिक तथा बाह्य रूपमा र पार्टीका कठिन परिस्थितिहरूमा पनि बडो लगनशीलताका साथ आफ्नो भूमिका निर्वाह गरेको छु ।
राष्ट्रिय/अन्तर्राष्ट्रिय क्षेत्रमा पनि मैले आफ्नो विश्वास कायम गर्न सकेको छु र आम कार्यकर्ताहरूको आग्रहमा सहमहामन्त्रीमा उम्मेदवारी प्रस्तुत गरेको छु । अहिलेसम्मको अनुभवले पार्टीलाई थप गतिशील बनाउनलाई नै मैले सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेको हुँ ।
२. दलित सहमहामन्त्री पदमा तपाईं नै उम्मेदवार किन ?
मैले निर्वाह गर्ने भूमिका अरूले पनि निभाउन सक्छन्, सक्दैनन् भन्ने होइन । अरू साथीहरू पनि धेरै छन्, यद्यपि मैले पनि आफूलाई यो पदमा योग्य ठानें ।
नेपाली कांग्रेसमा सहमहामन्त्री नयाँ पद हो । यो समुदाय (दलित) को प्रतिनिधित्व गर्न म सक्षम छु । मैले असल प्रतिनिधित्व गर्छु । सँगसँगै कांग्रेसका समग्र मुद्दालाई समयानुकूल ढंगबाट म विस्तृत रूपले उठाउन र निष्कर्षमा पुर्याउन सक्छु । कांग्रेसजनले पनि ममाथि भरोसा गरेका छन् ।
सहमहामन्त्री भनेको पदाधिकारीमा रहने पद हो । समावेशी लगायत विषयमा पार्टीमा भूमिका खेल्न सक्ने पद भएकाले पनि मैले यही पद रोजेको हुँ । यहाँ रहेर पार्टीभित्र समावेशितालाई मूल मुद्दा बनाउन पनि सकिन्छ ।
३. तपाईंको क्लस्टर (दलित) मा देखिएका समस्या के हुन् ?
नेपाली कांग्रेसले २००७ सालमा पहिलो पटक सशस्त्र क्रान्ति गर्दा सँगै खाउँ, सँगै बसौं भनेर सामाजिक क्रान्ति गर्यो । जमीन जोत्नेको हुन्छ, घर पोत्नेको भनेर आर्थिक क्रान्तिको उद्घोष गर्यो । यो पार्टीले २००९ सालमै धनमानसिंह परियारलाई महामन्त्री बनाएर समावेशितालाई अगाडि बढायो । त्यो बेला बीपी कोइरालाले विवेक प्रयोग गरेर समावेशी बनाउनुभयो ।
पछिल्ला दिनमा ११ औं महाधिवेशनपछि शेरबहादुर देउवाले विधानमार्फत समावेशी बनाउनुभयो । अहिले शेरबहादुर देउवाका समावेशिताका मुद्दा हामी बोकेर हिंडिरहेका छौं । यो मुलुकलाई समावेशी गराउन, मुलुकको आर्थिक र सामाजिक रूपान्तरणका लागि टुप्पोमा पुर्याउनका लागि निर्णायक मोडमा पुर्याउन अझै बाँकी छ । त्यसकारण यो मुद्दा राम्ररी बुझेको मान्छे कांग्रेस पदाधिकारीमा खाँचो छ ।
समावेशिताभित्र गरीबका मुद्दा छन्, समानताका मुद्दा छन्, यसकारण हामीले नेपाली कांग्रेसलाई पहिले पूर्ण समावेशी बनायौं भने मात्रै राज्य समावेशी हुन्छ । हाम्रा स्पष्ट मुद्दा छन्- दलित समुदायको सशक्तिकरण, दलित समुदायको सहभागिता ।
सशक्तिकरण भनेको शिक्षामा, रोजगारीमा पहुँच वृद्धि हो । यसलाई संविधानमा उल्लेख गर्यौं । यसो भएको हुनाले म त्यहाँ पुगेपछि यी मुद्दाहरूलाई अलिक सहज ढङ्गले राख्न सकिन्छ ।
४. खुलामा प्रतिस्पर्धा गर्न छाडेर तपाईंले किन क्लस्टर रोज्नुभयो ? हारिन्छ भन्ने डरले हो ?
अहिले सह-महामन्त्रीमा खुला पद छैन । यो भन्दा माथि खुला पद थोरै छन् । एकपछि अर्को जिम्मेवारी लिंदै जाने हो । यसअघि केन्द्रीय सदस्य भएकाले अब सहमहामन्त्रीको उम्मेदवार बनेको हुँ ।
सहमहामन्त्री भइसकेको भए महामन्त्री र महामन्त्री भइसकेको भए उपसभापति र त्यसपछि सभापतिको उम्मेदवार हुने हो । क्रमशः अगाडि बढेको राम्रो हुन्छ । एकैपटक छलाङ मार्ने व्यक्तिको रहर मात्रै सबै कुरा हुँदैन ।
५. नेताहरुको व्यवस्थापनका लागि मात्रै आरक्षण छुट्याइएको हो कि, यो समुदायलाई नेतृत्वमा ल्याउन पनि सहयोग पुग्छ ?
यहाँ नेताहरूको व्यवस्थापनको प्रश्न होइन र आरक्षण भन्ने शब्द पनि उचित भएन । यो कोटा प्रणाली हो । हामीले पार्टीलाई समावेशी बनाउनका लागि यो कोटा सिर्जना गरेको हो । पार्टीलाई कसरी समावेशी बनाउने भन्ने विषयमा छलफल हुँदा यो व्यवस्था गरिएको हो र
यो व्यवस्था मेरै पहलमा भन्दिनँ तर हाम्रै पहलमा भएको हो । र, यसले नेतृत्व विकासमा सघाउ पुर्याउँछ । समावेशी हुन र नेतृत्व क्षमता पनि विकास हुँदै नेतृत्वमा पुर्याउन यो व्यवस्थाले सघाउँछ ।
६. तपाईंले सभापतिमा शेरबहादुर देउवालाई किन समर्थन गरेको ?
मैले राजनीति गर्न थालेदेखि नै शेरबहादुर देउवाले हाम्रै (समावेशीताको) मुद्दालाई उठाइरहनुभएको थियो । दलित छात्रवृत्तिको कार्यक्रम २०५४ सालमा ल्याउनुभयो ।
राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग स्थापना गर्ने महिलाहरूलाई पनि अगाडि बढाउने, हलिया प्रथा उन्मूलन गर्ने, गरीब किसानलाई सहुलियत दिनुपर्छ भन्ने जस्ता विषयलाई अगाडि बढाउनुभयो । यस्तो विषय उहाँले अगाडि बढाइसकेपछि, हामीले उठाउनुपर्ने मुद्दा उहाँले नै लिएर अगाडि बढेपछि मैले लिडरको रूपमा साथ दिएँ ।
उहाँले मलाई पछ्याउँदै आउनुभएको होइन, मैले उहाँलाई पछ्याएको हुँ, मैले खोज्दै हिंडेको हुँ र अहिले पनि मैले बोक्नुपर्ने मुद्दा उहाँले बोकेर हिंडिरहनुभएको छ भने मैले उहाँलाई साथ नदिएर हुन्छ त ? त्यसकारण मैले शेरबहादुर देउवालाई भोट मात्रै माग्ने होइन, साथ मात्रै दिने होइन उहाँको मुद्दालाई मैले आफ्नो मुद्दा भनेर अगाडि जाने हो ।
७. अघिल्लो कार्यकाललाई कसरी समीक्षा गर्नुहुन्छ ? जितेपछि के गर्नुहुन्छ ?
मैले केन्द्रीय समितिमा बसेर काम गर्दा पदाधिकारीमा समावेशिताको कोटाका लागि पहल गरें जुन निर्णायक भएर कार्यान्वयनमा छ । केन्द्रीय समितिमा रहेर विधान निर्माण लगायतमा पनि जिम्मेवारी लिएँ । तथापि, केन्द्रीय समितिमा रहेर अन्य धेरै जिम्मेवारी निर्वाह गर्न पाइनँ ।
म संसदमा पनि सदस्य छु । संसदमा कांग्रेसलाई जिम्मेवार बनाउन, नागरिकका आवाज उठाउन, प्रतिपक्षमा रहँदा प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्न सक्रिय भएँ । संविधान कार्यान्वयन गर्ने सवालमा, कांग्रेसलाई संसदभित्र दरिलो पार्टीका रूपमा प्रस्तुत गर्नमा भूमिका खेलें ।
पार्टीलाई समावेशी बनाउन मात्रै होइन, पार्टीलाई सुदृढ बनाउन वैचारिक र कार्यक्रमिक दुवै कोणबाट जहाँ थिएँ त्यहींबाट भूमिका खेलेको छु । अब जितेपछि पनि मैले पार्टीलाई अझ परिमार्जित गर्ने, अझ समावेशी बनाउने र अन्य पार्टीका तुलनामा कांग्रेसमा रहँदा आम कार्यकर्ताले र कांग्रेसका कार्यकर्तालाई चुन्दा आम नेपालीले गौरवको अनुभूति गर्ने वातावरण बनाउने हो । यो बनाउन नेताहरूसँग समन्वयमा रहेर काम गर्छु ।
प्रतिक्रिया 4