+
+

कांग्रेसमा पदाधिकारीको उम्मेदवार टुंग्याउनै सकस

खगेन्द्र भण्डारी खगेन्द्र भण्डारी
२०७८ मंसिर २३ गते २३:५०

२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि देशभरबाट छानिएका करिव ४३ सय महाधिवेशन प्रतिनिधि काठमाडौं आइसकेका छन् । विभिन्न मुलुकमा रहेका जनसम्पर्क समितिबाट पनि प्रतिनिधि काठमाडौं पुगिसकेका छन् । शुक्रबार १४औं महाधिवेशनको उद्घाटन हुनेछ ।

केन्द्रीय निर्वाचन समितिको तालिकाअनुसार शनिबार उम्मेदवारहरुको  मनोनयन दर्ता गर्नुपर्नेछ । कांग्रेसमा अब कस्तो नेतृत्व आउला भन्ने चासो पनि धेरैको छ, तर कांग्रेसभित्र भने उम्मेदवारको टुंगो अझै लाग्न सकेको छैन । व्यक्तिगत रुपमा उम्मेदवारी घोषणा गरेका तथा केन्द्रीय सदस्यदेखि पदाधिकारीसम्मको आकांक्षा राखेका नेताहरु गुटको आधिकारिक समूहमा पर्ने/नपर्ने अन्यौलमा छन् । महाधिवेशन उद्घाटनको अघिल्लो दिनसम्म न संस्थापन समूहले उम्मेदवारको टुंगो लगाउन सकेको छ भने न रामचन्द्र पौडेल समूहले ।

कांग्रेस विधान अनुसार एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीका लागि निर्वाचन हुनेछ । त्यस्तै ३५ खुला केन्द्रीय सदस्य, ९ महिला केन्द्रीय सदस्य, प्रत्येक प्रदेशबाट एक महिलासहित २१ केन्द्रीय सदस्य र विभिन्न समावेशी समूह अन्तर्गत ५६ जना केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ । सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनित गर्ने विधानको व्यवस्था छ भने कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यहरुबाट चयन हुनेछन् ।

१६७ सदस्यीय केन्द्रीय कार्यसमितिमा १३४ जनाका लागि निर्वाचन हुने भएपनि अहिलेसम्म कुनै पनि समूहले उम्मेदवारहरुको घोषणा गर्न सकेको छैन ।

देउवालाई पदाधिकारी चयन गर्न ‘महाभारत’

संस्थापन समूहबाट सभापति शेरबहादुर देउवा आफैं दोहोरिन चाहेका छन् । उनलाई चुनौती दिएका उपसभापति विमलेन्द्र निधि बाहिरिएकाले यो समूहमा अब सभापतिमा देउवालाई चुनौती दिने नेताहरु कोही पनि छैनन् ।

तर पदाधिकारी छनोट गर्न सहज छैन । अघिल्ला महाधिवेशनहरुमा देउवालाई सभापतिमा जिताउन ‘त्याग’ गर्न तयार भएका नेताहरु यो पटक कुनै हालतमा चाहेको पदमा उम्मेदवार हुने अडानमा छन् । १३ औं महाधिवेशनमा एक उपसभापति, एक महामन्त्री र एक कोषाध्यक्ष पदका लागि चुनाव हुँदा पनि देउवालाई जिताउनैपर्ने भन्दै थुप्रैले केन्द्रीय सदस्यमा  चित्त बुझाएका थिए । यसपटक दुई उपसभापति, दुई महामन्त्री र ८ सहमहामन्त्री पदमा निर्वाचन हुँदा पनि आकांक्षीहरुको चित्त बुझाउन सक्ने अवस्थामा देउवा छैनन् ।

‘यसपटक कोहि पनि छोड्ने मनिस्थितिमा हुनुहुन्न,’  संस्थापन निकट एक नेताले भने, ‘पदको संख्या बढेर के गर्ने, उम्मेदवारको संख्या त्योभन्दा बढि भएपछि ।’

नेताहरुका अनुसार दुई उपसभापतिमा विजयकुमार गच्छदार र  महामन्त्री पुर्णबहादुर खड्काको दाबी छ । तर देउवा समूहभित्र पूर्वमहामन्त्री सिटौला समूहलाई पनि मिलाउनुपर्ने दबाब छ । सिटौलालाई उपसभापति दिएर भएपनि टिममा ल्याउनु पर्ने यो समूहका नेताहरुको तर्क छ । ‘हाम्रो रणनीति भनेको पहिलो चरणमै जित्ने भन्ने हो, त्यसका लागि सिटौलाजीसँग मिल्नैपर्छ,’ देउवानिकट पदाधिकारीका एक आकांक्षीले अनलाइनखबरसँग भने, ‘उहाँ(सिटौला) लाई के दिएर मिलाउनुपर्छ, त्यसका लागि तयार हुनुपर्छ ।’

सिटौला समूहसँग संस्थापन पक्षले तल्ला कमिटीहरुमा पनि चुनावी गठबन्धन गरेको थियो । बागमती र प्रदेश एकमा संस्थापन र सिटौला समूहले एकअर्कालाई समर्थन गरेका थिए । बुधबार पदाधिकारीका आकांक्षीको बैठकमा पनि केही नेताले केन्द्रमा पनि सिटौलासँग सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए ।

तर सिटौलासँग सहकार्य गर्दा आफूसँग भएका नेताहरुको व्यवस्थापन झनै सकसपूर्ण हुनेछ देउवाका लागि । देउवालाई सबैभन्दा बढी चुनौति महामन्त्रीको उम्मेदवार चयनमा छ । महामन्त्रीका लागि प्रभावशाली नेताहरुले अडान छोडेका छैनन् । गृहमन्त्री बालकृष्ण खाण, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य एनपी साउद र प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा दाबी गरेका छन् ।

त्यस्तै देउवालाई सहमहामन्त्रीमा खसआर्य, महिला, मधेसी, आदिवासी जनजाति, थारुलगायतमा ८ वटा क्लस्टरको उम्मेदवारको टुंगो लगाउन पनि सजिलो छैन । नेताहरुको व्यवस्थापन गर्न नसके टीम छोड्ने जोखिम देखेका उत्तिकै छ । ‘पद सीमित छ, तर आकांक्षी साथीहरु धेरै हुनुहुन्छ । सबैलाई त म कसरी पद दिन सक्छु ?’ देउवाले बुधबार बुढानीलकण्ठमा पदाधिकारीका आकांक्षीहरुसँग छलफलमा भने, ‘अहिले महाधिवेशनमा समेट्न नसकेका साथीहरुलाई पार्टी र सरकारमा भूमिका दिन्छु । पद पाएन भनेर साथीहरु नरिसाइदिनुहोला ।’

पौडेल समूह सभापतिमै रुमल्लियो

वडा अधिवेशनको अघिल्लो दिन १७ असोजमा सभापतिका आकांक्षीहरुलाई राखेर साझा उम्मेदवार उठाउने प्रतिवद्धता गरेका वरिष्ठ नेता रामचन्द्र पौडेको समूह पनि सकसमै छ । यहाँ भने पदाधिकारीभन्दा सभापतिको उम्मेदवार छनोट नै पेचिलो बनेको छ । सभापतिमा साझा उम्मेदवार तय गर्न दिनहुँजसो छलफल भइरहेका छन् तर सहमतिभन्दा असझदारी बढ्दै गएको छ ।

चार आकांक्षीमध्ये वरिष्ठ नेता पौडेल र महामन्त्री डा. शशांक कोइरालाले सहमतिका लागि लचकता देखाएपनि पूर्वमहामन्त्री प्रकाशमान सिंह र शेखर कोइरालाले एकअर्काको नेतृत्व स्वीकार गरेका छैनन् । नेताहरुले विकल्पका रुपमा वरिष्ठ नेता पौडेलको नेतृत्वमा दुबै नेता पदाधिकारीमा बस्ने विकल्प पनि सुझाएका छन् । सभापतिका आकांक्षीहरुलाई सहभागी नगराइएको केन्द्रीय सदस्यको बिहीबारको बैठकमा यो विकल्पबारे छलफल भएको थियो ।

नेताका अनुसार सभापतिका आकांक्षी डा. कोइराला सकारात्मक भएपनि सिंहले मानेका छैनन् । केन्द्रीय सदस्यहरुको सुझाव लिएर पूर्वमहामन्त्री सिंहलाई भेट्न नेताहरु अर्जुननरसिंह केसी, महेश आचार्य र बलबहादुर केसी चाक्सीबारी पुगेका थिए । तर नेता सिंहले सहमति भए आफ्नै नाममा गर्न नेताहरुलाई जवाफ फर्काएका थिए । ‘म कुनै पनि हालतमा सभापतिको उम्मेदवारीबाट पछाडि हट्दैन,’ नेता सिंहले भने, ‘सर्वसम्मत उम्मेदवार बनाउने भए मेरो नाममा गरौं, होइन भने म अगाडि बढिसकेको छु । मैले मात्रै त्याग गर्नुपर्ने भन्ने छैन ।’ उनले सभापतिमा मनोनयन दर्ता गर्ने प्रष्ट पारे ।

नेता सिंहले अडान नछोडेपछि सभापतिका अर्का आकांक्षी शेखर कोइरालाले पनि प्रचार प्रसार सुरु गरेका छन् । उनले ‘एक पटकका लागि यसैपटक’ भन्ने नारा अगाडि सारेका छन् । यही कारण पौडेल समूहमा साझा उम्मेदवार उठाउने प्रयास सफल हुनेमा नेता कार्यकर्ताहरु आशंका गर्न थालेका छन् ।

सभापतिको साझा उम्मेदवार तय गर्न नभएका कारण पदाधिकारीबारे औपचारिक रुपमा चयनमा छलफल नै भएको छैन । ‘कति जना उम्मेदवार बन्ने हुन् ? कस्तो टीम बन्छ ? हामी पनि अन्यौलमा पर्ने अवस्था आयो,’ पौडेल समूहका एक नेताले भने, ‘टीमकै टुंगो नलागेपछि उम्मेदवारीको के कुरा गर्नू ?’ यद्यपि सभापतिमा साझा उम्मेदवार तय भएको अवस्थामा पदाधिकारीका अन्य उम्मेदवार छनोटमा त्यति धेरै विवाद नहुने नेताहरुको दाबी छ ।

यो समूहमा उपसभापतिमा अर्जुननरसिंह केसी, महेश आचार्य, बलबहादुर केसी, चन्द्र भण्डारी, डा. रामशरण महत लगायतका नेताको दाबी छ भने महामन्त्रीमा डा. मिनेन्द्र रिजाल र गगनकुमार थापाले उम्मेदवारी दिने औपचापरिक घोषणा नै गरेका छन् । सहमहामन्त्रीका लागि क्लस्टरअनुुसार दलितमा जीवन परियार, महिलामा सरिता प्रसाई, कमला पन्त, आदिवासी जनजातिमा धनराज गुरुङ, पिछडियएको क्षेत्रमा बद्री पाण्डे लगायतले दाबी गरेका छन् ।

संस्थापन समूहबाट अलग भएका विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी दिने बताएका छन्, तर टिम बनाउन सकेका छैनन् । लामो समय देउवा समूहमा रहेर काम गरेका उनको प्रथमिकतामा त्यही समूहमा भएका नेताहरु छन् । तर उनले आफ्नो टिममा राख्न चाहेका नेताहरु सकेसम्म देउवा टिममै बस्न चाहन्छन् । त्यहाँ पदाधिकारीको टिकट नपाए मात्र यता आउने सम्भावना छ । ‘पहिला अरुहरुको टीम कस्तो बन्छ, त्यो हेरौं, त्यसपछि म टीम बनाउँछु,’ निधिले भने । संस्थापन र इतर समूहमा नअटाएका नेताहरुलाई आफूतिर तानेर प्यानल बनाउने निधिको तयारी छ ।

सभापतिका अर्का आकांक्षी पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सभापति लड्ने नलड्ने मुख खोलेका छैनन् । उनले आफ्नो समूहको चुनावी रणनीति पर्सि शनिबार मात्रै सार्वजनिक नेता सिटौलाले बताए । संस्थापन र रामचन्द्र पौडेल समूहसँग सम्वादमा रहेका उनले भने, ‘हामी उम्मेदवार मनोनयन गर्ने दिन मात्रै आफ्नो रणनीति सार्वजनिक गर्छाैं ।’

लेखकको बारेमा
खगेन्द्र भण्डारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?