+
+

कांग्रेस महाधिवेशनको सुरक्षाका लागि ५ हजार बढी प्रहरी खटाइयो

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २४ गते ११:०८

२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनलाई केन्द्रित गरी काठमाडौं उपत्यकामा पाँच हजार बढी प्रहरी परिचालन गरिएको छ । महाधिवेशनको उदघाटन समारोहस्थल भृकुटीमण्डप क्षेत्रमा तीन घेरा बनाएर सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले महाधिवेशनलाई केन्द्रित गरी काठमाडौं, ललितपुर र भक्तपुर तीनवटै जिल्लामा थप मद्दतसहिको आवश्यक सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिए ।

महानगरीय प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले महाधिवेशनलाई मात्रै केन्द्रित गरेर पाँच हजार बढी प्रहरी खटाइएको जानकारी दिए ।

ट्राफिक प्रहरी प्रवक्ता सञ्जिव शर्मा दासका अनुसार अघिल्ला दिनहरुको तुलनामा काठमाडौं उपत्यकामा भित्रिने सवारी साधनहरुको संख्या बढेको छ । त्यसैले चक्रपथ तथा उपत्यका प्रवेश गर्ने प्रमुख नाका, प्रतिनिधिहरु बसेको क्षेत्र, भीभीआईपी र भीआईपी रुटहरुमा पनि निगरानी बढाइएको छ । त्यसका लागि सादा पोशाकका प्रहरी परिचालन गर्नुका साथै सीसीटीभी क्यामराबाट पनि निगरानी गरिएको प्रहरीले जनाएको छ ।

‘प्रविधिको प्रयोग गरेर परीक्षण तथा आवश्यक सुरक्षा प्रवन्ध मिलाइएको छ, पैदल र मोबाइल गस्तीलाई पनि नियमित गरिएको छ,’ एकजना प्रहरी अधिकृतले भने ।

यस्तो छ ट्राफिक प्रहरीको तयारी

उद्घाटन समारोहका बेला आज हुनसक्ने सवारी चापलाई मध्यनजर गरी ट्राफिक व्यवस्थापनमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले आवश्यक व्यवस्था मिलाएको छ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले रुट व्यवस्थापनका लागि ट्राफिक प्रहरी मात्रै ३५० बढी परिचालन गरिएको जानकारी दिए ।

कार्यक्रमस्थलमा ट्राफिक जाम नहोस् भनेर पद्मोदय मोड, कमलादी मोड, सभागृहमोड, सिंहदरबार चोक र माइतीघरबाट डाइभर्सन गरिएको छ । टुँडिखेल वरपर अत्यधिक सवारी साधनको चाप भएमा त्रिपुरेश्वर चोक, बालाजु चोक, नारायणगोपाल, कलंकी, बल्खु, जावलाखेल, तीनकुने र गौशाला चोकबाट नै डाइभर्सन गर्ने गरी सुरक्षा योजना बनाइएको छ । मानिसहरुको उपस्थिति र सवारीको चाप हेरेर आवश्यकतानुसार सवारी रुट डाइभर्सन हुनसक्ने भट्टराईले बताए ।

महाधिवेशन प्रतिनिधिका खुलामञ्चमा सवारी साधन पार्किङको व्यवस्था मिलाइएको छ । झण्डावाला, पार्टी अध्यक्षहरू र विदेशी पर्यवेक्षकका गाडी भृकुटीमण्डपको सभाहल पछाडि तथा अन्य भिआइपीका सवारी साधन राष्ट्रिय सभागृहमा पार्किङको व्यवस्था मिलाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?