
२४ मंसिर, काठमाडौं । बलिउड अभिनेता आयुष्मान खुरानाले अभिनय गरेका पछिल्ला केही चलचित्रहरुले बक्स अफिसमा मात्र सुखद कमाइ गरेका छैनन्, उत्कृष्ट समीक्षा पनि पाउने गरेका छन् ।
फरक कथाका चलचित्रमा काम गर्न रुचाउने आयुष्मान अभिनित नयाँ चलचित्र ‘चण्डीगढ करे आशिकी’ शुक्रबार रिलिज भएको छ । यो चलचित्रलाई समीक्षकले उत्कृष्ट भनेका छन् ।
भारतका चर्चित समीक्षक तरण आदर्शले यो चलचित्रलाई ४ रेटिङ दिँदै ‘नयाँ कथा’ भनेका छन् ।
यो चलचित्रमा आयुष्मान खुराना र वाणी कपूरको मुख्य भूमिका छ । अभिषेक कपूरको निर्देशनमा तयार भएको यो चलचित्रलाई रोमान्टिक कथामा तयार पारिएको छ । चलचित्र करिब दुई घण्टा लामो छ ।
समीक्षकहरुले आयुष्मानले यसपटक फेरि नयाँ कथा रोजेको भन्दै यो चलचित्रमा पनि उनको नयाँ सोच झल्कने बताएका छन् । यो कथालाई धेरै नायिकाहरुले काम गर्ने आँट नगर्ने भन्दै समीक्षक तरणले वाणी कपूरले भूमिकामा न्याय गरेको उल्लेख गरेका छन् ।
नेपालमा पनि यो चलचित्रलाई मल्टिप्लेक्सहरुले उच्च शो दिएका छन् । नेपाली बक्स अफिसमा ‘सूर्यवंशी’पछि कुनै पनि चलचित्रले सुखद कमाइ नगरिरहेको अवस्थामा यो चलचित्रले दर्शक तान्ने नेपाली वितरकहरुको अपेक्षा छ ।
प्रतिक्रिया 4