+
+

हात्तीको बथानले घर भत्काउँदा पीडित परिवारको बिजोग

रासस रासस
२०७८ मंसिर २५ गते २०:४२

२५ मङ्सिर, कञ्चनपुर । लालझाडी गाउँपालिका–४ का धर्मानन्द भट्टको घर शनिबार बिहान आएको हात्तीको बथानले भत्काइदिएको छ । घर भत्काइदिँदा भट्टको परिवार बिचल्लीमा परेको छ ।

लालझाडी संरक्षण वन क्षेत्र हुँदै बस्ती छिरेको एक दर्जनभन्दा बढीको सङ्ख्यामा रहेको हात्तीको बथानले घर भत्काई घरभित्र राखेको अन्नसमेत सबै खाएर बिजोग बनाएको पीडित भट्टले बताए ।

‘हात्तीको बथानले बिहानको झिसमिसेमै घर भत्काउन थालेपछि बालबालिकासहित एकसरो लुगामै भागेर ज्यान जोगाउन सकेका छौँ’, उनले भने, ‘घर पूरै क्षतिग्रस्त बनाइदिएपछि छिमेकीको शरणमा बस्न बाध्य भएका छौँ ।’ अन्न, लत्ताकपडा र खाना बनाउन प्रयोग हुने भाँडाकुँडासमेत हात्तीको बथानले कामै नलाग्ने बनाएको उनको भनाइ छ । वडाध्यक्ष बहादुर रानाले हात्तीले भट्ट

परिवारको घर क्षतिग्रस्त बनाउनुका साथै घरभित्र राखेको सबै सामान खुट्टाले कुल्चेर क्षति पुर्‍याएको बताए । उनका अनुसार हात्तीको बथानले झण्डै रु दुई लाखको क्षति गरेको छ । यसैगरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्थापितको तारापुर शिविरमा बसोबास गर्दै आएका बासिन्दा एक सातादेखि हात्ती भगाउन जाग्राम बस्न थालेका छन् ।

विस्थापित परिवार बस्दै आएको झोपडी हात्तीबाट जोगाउन आगो बाल्ने, होहल्ला गर्ने कार्यसँगै पटाका पड्काएर हात्ती भगाउँदै आएका छन् । हात्ती साँझ नपर्दै बस्तीमा छिर्ने भएकाले रातभर पालैपालो जाग्राम बसेर भगाउँदै आएको नरिभान ढुङ्गालले बताए ।

भारतीय दुधुवा नेशनल पार्कबाट हात्तीको बथानले प्रतिवर्ष शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हुँदै मध्यवर्ती क्षेत्रमा बसोबास गर्दै आएका बासिन्दाको घर भत्काउने, घाइते बनाउने र मानवीय क्षति गर्दै आएको छ । हात्तीको आक्रमणबाट दुई वर्षको अवधिमै शुक्लाफाँटा नगरपालिका क्षेत्रका तीन जनाले ज्यानसमेत गुमाइसकेका छन् । तराई हुँदै हात्तीको बथान चुरे क्षेत्रसम्म पुग्ने गरेको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?