+
+

जाडोमा कस्तो फेसन उपयुक्त ?

सुक्निता चौलागाईं, फेसन डिजाइनर सुक्निता चौलागाईं, फेसन डिजाइनर
२०७८ मंसिर २६ गते १४:५८

मौसमसँगै पहिरन शैली पनि बदलिन्छ । जाडो मौसम शुरु भइसकेको छ । पातला, हल्का कपडा थन्काएर न्यानो कपडा खोज्न थालिएको छ । जाडोमा बाक्लो र पूरा शरीर ढाक्ने न्यानो कपडा खोज्ने गरिन्छ ।

यद्यपि अहिले पहिरनको सम्बन्ध आङ ढाक्न वा जाडो छल्नमा मात्र छैन । यो मानिसको व्यक्तित्वसँग अभिन्न रुपले जोडिएको छ । आफ्नो शरीर अनुसार कस्तो पहिरन सुहाउँछ भन्ने कुरामा बढी सचेत हुन थालिएको छ । आफूलाई सुहाउँदो एवं आकर्षक देखिने पहिरनको खोजीले फेसन बजारलाई बाह्रैमास चलायमान बनाउने गर्छ ।

जाडोयाममा कस्तो पहिरन उपयुक्त ?

जाडो महिनामा विशेषगरी महिलाका लागि अनेकथरी कपडा बजारमा पाइन्छ । जस्तै, कुर्तामा उनी (उलन) र मखमल (भेल्भेट)को कपडा जाडो महिनाको लागि उपयुक्त मानिन्छ । बुटिकबाट बन्ने भेल्भेट पछिल्लो समय चलेको फेसन हो । यसमा लुज टाइपको प्लाजो पाइन्ट पनि पर्छ । कामकाजी महिलाहरुको हकमा लामो कुर्तीमा प्लाजो पाइन्ट जाडो मौसमका लागि उपयुक्त हुन्छ । कोटमा हिपसम्मको सर्ट कोट पनि राम्रो देखिन्छ । हिपलेन्थसम्मको कोटमा सिंगल बटन लगाउने यसमा वेस्ट लेन्थसम्म बटन प्रयोग गर्नुपर्दैन ।

रंगको हिसाबमा कुरा गर्दा जाडो याममा गाढा कालो रंगका कपडाहरु बढी प्रयोगमा आउने गर्छन् । भेला, लाइक्रा जस्ता फेब्रिकले मान्छेलाई न्यानो बनाउँछ । डिजाइनको कुरा गर्दा क्याजुअल पोशाकमा प्यारलल पाइन्ट र लङ कोटहरू जाडोको लागि उपयुक्त हुन्छ । पार्टी वेयरमा भेलनको साडीहरु, भेल्भेटकै गाउनहरु बढी चलनचल्तीमा छन् । पार्टीका लागि लेहेंगा र साडी नै राम्रो देखिन्छ । जसमा त्यही कलरको भेल्भेटमा इम्ब्रोइडरी गरिएको फुल बाहुलाको ब्लाउज राम्रो हुन्छ । यो न्यानो पनि हुन्छ ।

पछिल्लो समय मंगोलियन अनुहार भएका व्यक्तिहरु कोरियन फेसनप्रति पनि आकर्षित भएका छन् । संख्यात्मक हिसाबमा हेर्दा यस्तो पहिरन मन पराउनेहरू कम भएपनि यसका प्रयोगकर्ता बढ्दै गएका छन् । मंगोलियन मूलका मान्छेलाई कोरियन फेसन बढी सुहाउने भएकोले पनि यसमा आकर्षण बढेको हो । आर्यन मूलका मान्छेमा भने कोरियन फेसनको प्रभाव शून्यप्रायः छ ।

कपडा धेरै होइन आकर्षक लगाउनुपर्छ

कतिपयले धेरै कपडा देखाउँदा बढी फेसनेबल देखिन्छ भन्ने सोचाइ राखेको भेटिन्छ । यस्तो सोचाइ राख्नेहरु जाडोभन्दा गर्मी मौसम बढी उपयुक्त मान्छन् । तर यो विचार सही हो जस्तो लाग्दैन । कपडा धेरै देखाउँदाभन्दा आफूलाई सुहाउँदो र मौसम अनुकूलको कपडा लगाउँदा बढी फेसनेबल देखिन्छ । सबै शरीर ढाकेर पनि कपडाको रंग र कपडाको आकारको आधारमा फरक फेसन देखाउन सकिन्छ ।

तर पूरै शरीर ढाक्ने, बाक्लो पहिरनमा पनि कसरी फेसनेबल देखिन के गर्ने त ? भन्ने प्रश्न आउन सक्छ । त्यसको लागि बडी टोन देखाएर कपडाको डिजाइन गर्ने र स्किनी बेस बनाएर पनि देखाउन सकिन्छ ।

जाडोयाममा कस्तो कपडा उपयुक्त ?

जाडो याममा आँखाले हेर्दा पनि न्यानो देखिने खालका कपडाहरु किन्नु उपयुक्त हुन्छ । जस्तो कालो, आगो जस्तो देखिने रंग, गाढा हरियो, वाइन कलर र बैजनी (परपल) रंगका कपडा जाडो मौसममा धेरै रुचाइन्छ । जाडो मौसममा हाम्रो शरीरलाई न्यानोको आवश्यकता पर्छ । तर माथि उल्लेखित यस्ता कपडाहरूले घामको तापलाई सोस्छ र शरीरलाई सधैं न्यानो प्रदान गर्छ । त्यसैले चिसो मौसमका लागि रंग, कपडाको प्रकृति र त्यसको बनोटले पनि असर गर्छ ।

(फेसन डिजाइनर सुक्निता चौलागाईं कोटेश्वरस्थित भ्यालेन्टिनो द बुटिककी सञ्चालक समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?