+
+

कांग्रेसमा उम्मेदवारको नामावली प्रकाशन, भोलि ८ बजेदेखि मतदान

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २६ गते १८:०५

२६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्य पदका उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ । निर्वाचन समितिले राष्ट्रिय सभागृहमा उम्मेदवारको अन्तिम नामावली टाँसेको छ ।

जस अनुसार सभापतिमा ५, दुई जना उपसभापतिका लागि ७, दुई जना महामन्त्रीका लागि ६ र ८ जना सहमहामन्त्रीका लागि १९ जनाको उम्मेदवारी परेको छ । सभापतिमा उम्मेदवारी दिएका युवराज न्यौपाने र सहमहामन्त्रीमा उम्मेदवारी दिएका सुरेन्द्र चौधरीले आइतबार उम्मेदवारी फिर्ता लिए ।

शनिबार नयाँ केन्द्रीय समितिको पदाधिकारी र केन्द्रीय सदस्य गरी १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गराएका थिए । तीमध्ये पदाधिकारीमा उम्मेदवारी दिएका २ जना र केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ५८ जनाले मनोनयन फिर्ता लिएका छन् । प्रदेश २ बाट दुई केन्द्रीय सदस्यमा रमेश रिजाल र आनन्दप्रसाद ढुंगाना भने निर्विरोध भएका छन् । ।

नयाँ नेतृत्व चयनका लागि सोमबार विहान ८ बजेदेखि राष्ट्रियसभा गृहमा मतदान हुनेछ ।

तीन मतदान केन्द्र

सोमबार हुने मतदानका लागि तीन मतदान केन्द्र कायम गरिएको छ । राष्ट्रिय सभागृहमा दुईवटा र भृकुटीमण्डपमा एउटा बुथ कायम गरिएको निर्वाचन समितिका सदस्य तेज रावलले जानकारी दिए ।

ती मतदान केन्द्रमा करिब एक हजार एक सय बुथ व्यवस्था गरिएको छ । महाधिवेशनबाट नयाँ केन्द्रीय समिति चयनका लागि सोमबार विहान ८ देखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ । महाधिवेशनमा ४ हजार ७ सय ४३ जनाले मतदान गर्नेछन् ।

महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा पार्टी केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भातृ र शुभेच्छुक सङ्घसंस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका मतदाताले मतदान गर्नेछन् ।

प्रदेश २ र गण्डकी प्रदेशका मतदाताले भृकुटीमण्डको प्राङ्गणमा र प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि भृकुटीमण्डपको प्रदर्शनी हलभित्र मतदान गर्ने व्यवस्था मिलाइएको निर्वाचन समिति सदस्‍य रावलले बताए ।

उनका अनुसार सोमबार हुने निर्वाचनमा २९ प्रकारका मतपत्रको व्यवस्था गरिएको छ भने सबै मतपत्रका लागि छुट्टाछुट्टै मतपेटिकाको व्यवस्था गरिएको छ।  मतदान गर्नका लागि राष्ट्रिय सभागृहमा २९३, भृकुटीमण्डप प्राङ्गणमा २९३ बुथ र भृकुटीमण्डपको हलमा ५१४ बुथ राखिएको निर्वाचन समितिले जनाएको छ ।

महाधिवेशनबाट सभापति दुई जना उपसभापति, दुई जना महामन्त्री, आठ जना सहमहामन्त्री निर्वाचित हुनेछन् । केन्द्रीय समितिमा विभिन्न क्लस्टरबाट १२१ जना निर्वाचित हुनेछन् ।

कांग्रेस महाधिवेशनका उम्मेदवारको अन्तिम नामावलीको सूची हेर्नुस् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?