+
+

कांग्रेस प्रतिनिधि भोट खसाल्ने लाइनमा, मत माग्दै नेता

चन्द्र आले/आर्यन धिमाल चन्द्र आले/आर्यन धिमाल
२०७८ मंसिर २७ गते ८:३७

२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन गर्न मतदान सुरु हुँदै छ । प्रतिनिधिहरु भोट खसाल्न लामबद्ध भएका छन् । त्यही लाइनमा पुगेर उम्मेदवारहरुले मत मागिरहेका छन् ।

भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा मतदान केन्द्र बनाइएको छ । मतदान गर्नका लागि राष्ट्रिय सभागृहमा २९३, भृकुटीमण्डप प्रांगणमा २९३ बुथ र भृकुटीमण्डपको हलमा ५१४ बुथ राखिएको छ ।

महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा पार्टी केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भातृ र शुभेच्छुक संघसंस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका मतदाताले मतदान गर्नेछन् ।

प्रदेश २ र गण्डकी प्रदेशका मतदाताले भृकुटीमण्डको प्रांगणमा र प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि भृकुटीमण्डपको प्रदर्शनी हलभित्र मतदान गर्ने व्यवस्था मिलाइएको निर्वाचन समिति सदस्य तेज रावलले बताए ।

उनका अनुसार निर्वाचनमा २९ प्रकारका मतपत्रको व्यवस्था गरिएको छ भने सबै मतपत्रका लागि छुट्टाछुट्टै मतपेटिकाको व्यवस्था गरिएको छ ।

महाधिवेशनबाट सभापति दुई जना उपसभापति, दुई जना महामन्त्री, आठ जना सहमहामन्त्री निर्वाचित हुनेछन् । केन्द्रीय समितिमा विभिन्न क्लस्टरबाट १२१ जना निर्वाचित हुनेछन् ।

बिहान आठ बजेदेखि सुरु हुने भनिएको मतदान केही ढिला भएको छ । साँझ ५ बजेसम्म मतदान गरिसक्ने कार्यतालिका छ । मतदानका लागि ४ हजार ७ सय ४३ जना प्रतिनिधिको नामावली सार्वजनिक भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?