+
+

‘कांग्रेसलाई अझ धारिलो, स्पष्ट र विधिसम्मत पार्टी बनाउन सकिन्छ’

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २७ गते ११:२१

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीका बलियो दावेदार हुन् गगन थापा । १३औं महाधिवेशनमै महामन्त्रीमा लडेकाले पनि होला, उनलाई यो पटक महामन्त्रीको उम्मेदवारका रुपमा आफूलाई अघि सार्न अरुलाई जस्तो सकस भएन ।

तर एउटै वयका विश्वप्रकाश शर्मा, प्रदीप पौडेल तथा आफूभन्दा केही सिनियर प्रकाशशरण महत र मिनेन्द्र रिजालसँग प्रतिस्पर्धा उनका लागि सहज छैन । यद्यपि प्रतिनिधिहरुले आफ्नो उम्मेदवारीलाई सहज रुपमा लिएको पाएको र त्यसअनुसार जिम्मेवारी दिनेमा आफू विश्वस्त रहेको थापाले सुनाए । प्रस्तुत छ, महामन्त्रीका उम्मेदवार थापासँग गरिएको संक्षिप्त कुराकानी :

महामन्त्रीमा उम्मेदवारी दिनु भएको छ, तपाईंको एजेण्डा के छ ?

हाम्रो पार्टीको विधानले महामन्त्रीलाई तीन वटा जिम्मेवारी सुम्पिएको छ, मैले आफूलाई त्यसकै वरिपरि प्रस्तुत गरेको छु ।

एउटा, महामन्त्री पार्टीको राजनीतिक कार्यक्रमको प्रस्तावक हो । हामीले ‘सम्मुन्नत नेपाल, सम्मानित नेपाली’ को अवधारणासहित आफ्नो राजनीतिक कार्यक्रम प्रस्तुत गरेका छौं । महामन्त्रीको रुपमा मेरो प्रयत्न त्यस्तो पार्टी बनाउने हुन्छ, जसले केवल निर्वाचन जित्ने कुरा मात्र होइन, लोकतान्त्रिक संविधानकै फ्रेमवर्कभित्र रहेर अब हामी कहाँ जान खोजेको हो ? कांग्रेस किन बलियो हुने ? कांग्रेसले किन चुनाव जित्ने ? भन्ने प्रश्नको उत्तर लिएर जान्छ । र, मैले अहिले प्रस्ताव गरेको कार्यक्रमलाई कांग्रेसको कार्यक्रम बनाउने प्रयत्न हुन्छ ।

दोस्रो, महामन्त्री भनेको पार्टी संगठनको नेता पनि हो । नेपाली कांग्रेसको कुनै पनि सदस्यको आजको दिनमा सदस्यता चुनावसँग मात्र जोडिएको छ । पार्टीको सदस्य किन भएको ? पार्टीलाई बलियो बनाउन । पार्टी किन बलियो बनाउने ? चुनाव जित्न । तर चुनाव जितिसकेपछि के गर्ने भन्ने बारेमा जहिल्यै एउटा अलमल छ । संघर्षकालमा कांग्रेसलाई सधैं एउटा ध्येयले बाँधेको थियो, त्यसैको प्राप्तिका लागि कांग्रेसजनले ठूलो संघर्ष, त्याग र बलिदान गरेको इतिहास छ । हामीलाई आज त्यस्तै उत्प्रेरणा चाहिएको छ । पार्टीको सदस्य हुनु भनेको एउटा विचारसँग जोडिनु हो, एउटा आन्दोलनसँग जोडिनु हो र आजको लक्ष्यसँग जोडिनु हो । आजको दिनमा कांग्रेसको लक्ष्य समुन्नत नेपाललाई सार्थक बनाउने हुनुपर्छ । म कांग्रेसको सदस्य किन भएको भन्दा नेपाललाई समुन्नत र सम्मानित नेपाली बस्ने घर बनाउन, त्यस लक्ष्यलाई सार्थक बनाउने दिशामा सघाउन । त्यो उद्देश्यलाई हासिल गर्न सरकारको नेतृत्व गर्नुपर्ने हुनाले पार्टीले गर्ने धेरै काममध्ये एउटा चुनाव जित्नु पनि हो । महामन्त्रीको रुपमा मेरो प्रयत्न सिंगो पार्टीलाई यही दिशामा अभिमुखीकरण गर्ने हुनेछ । पार्टी भनेको राज्य र समाजको बीचमा मध्यस्थकर्ता जस्तो हुनुपर्नेमा दोहन गर्ने, जम्मा गर्ने निकाय जस्तो भएको छ । हामीले यसको ब्राण्डलाई परिवर्तन गर्न आवश्यक भइसक्यो ।

तेस्रो, महामन्त्री भनेको पार्टीको प्रथम व्यवस्थापक पनि हो । कांग्रेसलाई दशौं लाख सदस्य भएको अझ धारिलो, ऊर्जा र स्पष्ट मिसन भएको राजनीतिक र नेपालको सर्वाधिक विधिसम्मत ढंगले चलेको व्यवस्थित संस्थासंगठन बनाउन सकिन्छ भन्नेमा म विश्वस्त छु । पार्टीको बैठकदेखि अधिवेशनसम्म, सदस्यतादेखि एउटा कार्यक्रम गर्नेसम्म व्यवस्थित पार्टीको रुपमा लिएर जान चाहन्छु ।

र, म भोलि महामन्त्री भएँ भने मैले रोजेको सभापति हुँदा मेरा कार्यक्रम लागू गर्न सजिलो हुन्छ भन्ने ठान्छु ।

तपाईंका एजेण्डाप्रति प्रतिक्रिया कस्तो पाउनु भयो ?

आज मुलुकको समग्र राजनीतिप्रति नै आम निराशाको वातावरण छ । ‘के देश सधैं उस्तै रहने हो’ भन्ने तिखो प्रश्नमा अन्तर्निहित आम नागरिकको दिक्दारीले हामी राजनीतिकर्मीलाई लाचार र दुःखी बनाइरहन्छ । त्यसको ‘रिफ्लेक्सन’ कांग्रेस पार्टीभित्र पनि हुने नै भयो । पार्टीलाई एउटा नयाँ सपना, नयाँ उत्प्रेरणा चाहिएको छ भन्नेमा हामी पार्टीका कार्यकर्ता मात्र होइन, हाम्रा लाखौं शुभेच्छुकले समेत महसुस गरेका छन् । पार्टीले बाटो समात्यो भने देश पनि ठीक बाटोमा हिँड्छ भन्ने कांग्रेसलाई विश्वास छ । हामीले प्रस्ताव गरेको ‘समुन्नत नेपालः सम्मानित नेपाली’को लक्ष्यले हामीलाई त्यो बाटो देखाउँछ भन्ने कुरामा साथीहरू सहमत र आशावादी रहेको पाएको छु ।

हाम्रो पार्टीको हरेक महाधिवेशनले जहिले पनि हाम्रा आदर्शप्रतिको निष्ठालाई अझ सुदृढ पार्दै मुलुकका लागि एउटा नयाँ आशा र उत्प्रेरणाको कोशेली दिएर जाने गरेको छ । जनतासँगको हाम्रो स्नेहपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउन हामीलाई नयाँ ऊर्जा दिएर जाने गरेको छ । यो महाधिवेशनबाट पनि हामीले जनताका लागि अब मुलुक समुन्नतिको दिशामा अगाडि बढ्छ भन्ने आशा र विश्वासको उत्साहजनक सन्देश लिएर फर्कनु पर्नेछ भन्नेमा प्रतिनिधि साथीहरू सहमत हुनुहुन्छ भन्ने लाग्छ ।

भनेपछि आफ्नो जितप्रति आशावादी हुनुहुन्छ ?

अघिल्लो पटक महामन्त्रीका रुपमा प्रस्तुत भएँ, तर विभिन्न कारणबस उत्तीर्ण हुन सकिनँ । त्यसपछि मैले कांग्रेसको एजेण्डा बोकेर देशभरि घुम्दा सबै साथीहरुले ‘एक पटक महामन्त्रीका रुपमा हेर्न चाहेका छौं । महामन्त्री बनाउँछौं र काम गरेर प्रमाणित गर’ भनेर सल्लाह र सुझाव दिनु भएको छ । त्यही पृष्ठभूमिमा उम्मेदवारी दिएको हुँ । पार्टीका स्नेही साथीहरुले पनि असाध्यै स्वाभाविक रुपमा लिएको पाएको छु र त्यसअनुसार जिम्मेवारी दिनुहुन्छ भन्नेमा विश्वस्त छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?