+
+

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रियामा विवाद

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २८ गते १९:३२

२८ मंसिर, काठमाडौं । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रियामा विवाद देखिएको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलको संयोजकत्वमा गठित समितिले छनोटसम्बन्धी काम अघि बढाइसकेपछि समितिको संयोजक को रहने भन्ने विषयमा विवाद देखिएको हो ।

धितोपत्र ऐन २०६३ अनुसार, राष्ट्रिय योजना आयोगको सम्बन्धित विषय हेर्ने सदस्यको संयोजकत्वमा अर्थसचिव र अर्का एक जना विज्ञ सदस्य रहने गरी सरकारले छनोट समिति गठन गर्ने व्यवस्था छ । आयोगको अर्थ हेर्ने जिम्मा उपाध्यक्ष पौडेलकै भागमा छ । यसअघि सम्बन्धित विषय हेर्ने भएकाले छनोट समितिको संयोजकका लागि पौडेल तोकिएका थिए ।

तर मन्त्रिपरिषद्ले पुनः अर्को समिति गठन गर्ने निर्णय गरेको छ । यसअघि मन्त्रीस्तरबाट भएको निर्णयलाई सच्याउदै १३ मंसिर २०७८ मा बसेको मन्त्रिपरिषद बैठकले समिति गठन गर्ने निर्णय गरेको थियो । १३ गते मन्त्रिपरिषदबाट निर्णय भएको भन्दै अर्थ मन्त्रालयले मगंलबार एक जना संयोजक पठाउन योजना आयोगका उपाध्यक्ष पौडेललाई पत्राचार गरेको छ ।

मन्त्रालयको पत्र बोकेर एक जना उपसचिव पौडेललाई भेट गर्न गएका थिए । तर, संयोजकका लागि नाम आफूले नपठाएको उपाध्यक्ष पौडेलले बताए । आफूले यसअघि नै पारदर्शी रुपमा तीन जनाको नाम सर्टलिस्ट गरेर पठाउने तयारी गरे पनि आफ्नाविरुद्ध विभिन्न प्रचारबाजी भएकाले के गर्ने भन्नेमा निर्णय हुनै बाँकी रहेको उनको भनाइ छ ।

‘उहाँहरुलाई हतार रहेनछ, १३ गतेको पत्र भर्खर आइपुग्यो’ पौडेलले भने, ‘पहिले नै कानूनसम्मत र विधिसम्मत तरिकाले काम गर्न थालिएको थियो, उहाँहरुलाई हतार देखिएन, अहिले मलाई पनि हतार छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?