+
+

काठमाडौं महानगरको टेकुमा भवन बनाउन ठेक्का लगाउँदा भ्रष्टाचार

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २९ गते १६:३५

२९ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले टेकुमा बन्ने कार्यालय भवनमा ठेक्का लगाउँदा भ्रष्टाचार भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरपालिकाका निर्देशक भैरवबहादुर बोगटीसमेत ५ जना उपर गलत लिखत तयार गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै आरोप-पत्र दायर गरेको छ ।

काठमाडौं महानगरपालिका वडा नं. १२, टेकुस्थित भवन निर्माण गर्न बिद्युतीय बोलपत्र प्रक्रियाबाट प्राप्त बोलपत्रहरुको मुल्यांकन प्रतिवेदनमा गलत लिखत तयार गरिएको ठहर अख्तियारको छ ।

अनुसन्धानमा ठेक्काको प्राविधिक मुल्यांकन प्रक्रियामा काठमाडौं महानगरपालिकाका निर्देशक भैरवबहादुर बोगटी, खरिद इकाई प्रमुख उप-निर्देशक बखतबहादुर साउद, उप-निर्देशक सुमन अधिकारी, उप-निर्देशक बीरबहादुर खड्का र इन्जिनियर उमेशकुमार बुढाथोकीले गलत लिखित तयार गरी निर्माण व्यवसायी छनौट गरेको अख्तियारको ठहर छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुर देखिएकोले मूल्याङ्कन प्रक्रियामा सहभागी भई गलत लिखत तयार गर्नेहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको सजाय हुन मागदावी गर्दै बुधबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।

३१ चैत २०७७ मा आहृवान गरेको बोलपत्रमा पनि ‘समानान्तर निर्माण सेवा’ मात्रै प्राविधिक रूपमा पास भएको थियो । ठेक्कामा सहभागी भएका अरू पाँच कम्पनीलाई योग्यता नपुगेको ठहर गरेर फेल गरिको तथ्य अनलाइनखबरले सम्प्रेषण गरेको थियो ।

ठेक्कामा राखिएका शर्त पूरा गरे पनि सार्वजनिक खरीद ऐन बमोजिम समान प्रकृतिको काममा ८० प्रतिशत योग्यता पूरा नगरेको ठहर गर्दै अरू कम्पनीलाई आर्थिक प्रतिस्पर्धामा सहभागी नै गराइएन ।

टेन्डरको बिड डकुमेन्टमा २१ मिटर अग्लो भवन बनाएको योग्यता र विशेष लाइटिङ सिस्टम जडानको अनुभव मागिएको थियो । व्यवसायीहरूका भनाइमा अरू सबै योग्यता पुगेर पनि यी प्रावधानका कारण केही व्यवसायीले प्रतिस्पर्धा गर्न पाएनन् । त्यसैले पछिल्ला शर्तहरू ‘सेटिङ’ गर्न राखिएका थिए । अरूले शर्त पूरा गर्न नसकेको भनेर महानगरपालिकाले ‘समानान्तर’ लाई मात्रै प्राविधिक रूपमा पास गरेको थियो ।

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले अनलाइनखबरसँग सबै प्रक्रिया पूरा गरेरै ठेक्का लगाएको बताएका थिए । ठेक्काको सेटिङमा संलग्न मेयर विद्यासुन्दर शाक्य र प्रमुख प्रशासकीय अधिृकत राजेश्वर ज्ञवालीले भने  उन्मुक्ति पाएको भन्दै  महानगरभित्र असन्तुष्टि छ ।

‘मेयर शाक्य र प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीज्युले नै त्यहाँ ठेक्का लगाउने प्रयोजनका लागि  खरिदमा उनीहरुलाई लानुभएको   थियो,’ महानगरका एक अधिकारी भन्छन्,’तर अख्तियारले उहाँहरूलाई दोषी नदेख्नु अच्चम्मको विषय भयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?