+
+

ग्लोबल आईएमई बैंकले बेलायतको विकास वित्त संस्थाबाट ३ अर्ब ऋण लिने

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २९ गते १८:२९

२९ मंसिर, काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले बेलायतको विकास वित्त संस्था सीडीसी ग्रुपबाट २५ मिलियन अमेरिकी डलर (करिब ३ अर्ब रुपैयाँ) ऋण लिने भएको छ ।

बुधबार बैंकमा आयोजित समारोहमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र सीडीसी ग्रुपका कन्ट्री रिप्रजेन्टेटिभ रवि रायमाझीले सम्झौता आदान प्रदान गर्ने सहमितपत्रमा हस्ताक्षर गरेका छन् ।

सीडीसीबाट प्राप्त ऋणले बैंकको कर्जा प्रवाह क्षमतालाई अभिवृद्धि गर्नुका साथै बैंकलाई नेपाल सरकारको प्राथमिकताका क्षेत्रमा ऋण प्रवाह गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । जलविद्युत, नवीकरणीय ऊर्जा र पूर्वाधार, निर्माण, उत्पादन, कृषि र पर्यटन क्षेत्रसम्बन्धी व्यवसायमा ऋण प्रदान गर्न सहयोग पुग्ने कम्पनीको भनाइ छ । यस ऋणलाई बैंकले कोभिड महामारीपछिको आर्थिक पुनरुत्थान तथा रोजगारी सिर्जना गर्दै दीगो र समावेशी विकासमा लगानी बढाउन सहयोग पुग्ने समेत बैंकले जनाएको छ ।

सीडीसी ग्रुपका प्रबन्ध निर्देशक तथा एशिया प्रमुख श्रिनिनागाराजनले नेपाल सधैं सीडीसीको प्राथमिकतामा रहेको बताए । नेपालभर शाखा सञ्जाल पुगेको ग्लोबल आईएमई बैंकसँग सहकार्य गर्न पाएकोमा उनले खुशी व्यक्त गरेको समेत बैंकले उल्लेख गरेको छ । यस ऋण सहयोगबाट नेपालको आर्थिक पुनरुत्थान र दिगो विकासमा सीडीसीको प्रतिवद्धता रहेको प्रष्ट भएको उनले बताए । विश्व अर्थतन्त्रमा देखिएको मन्दीसँगै अन्तर्राष्ट्रिय पुँजीलगानीमा कमी आएको अहिलेको अवस्थामा ग्लोबल आईएमई बैंकसँगको सहकार्यले नेपालमा लगानीको प्रचुर सम्भावना रहेको सकारात्मक सन्देश प्रवाह हुने उनले बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले विश्वका ७० भन्दा बढी देशमा सञ्जाल रहेको सीडीसीसँगको सहकार्यप्रति खुशी व्यक्त गर्दै प्राप्त ऋण सहयोगले बैंकको कर्जा लगानी क्षमता अभिवृद्धि हुने बताए ।

नेपालस्थित बेलायती राजदूत निकोला पोलिटले नेपालमा जलवायु परिवर्तनबाट पर्ने असर कम गर्न तथा कोभिड महामारी पछिको आर्थिक पुनरुत्थानमा बेलायत सरकारको सहयोग रहँदै आएको बताइन् । सीडीसीले नेपालको वित्तीय संस्थालाई गरेको यो सहयोग बेलायत सरकारको साना तथा मझौला उद्यमलाई जलवायु परिवर्तनका असर न्यूनीकरणमा गरिएको सहयोगहरु प्राप्त गर्न तथा उनीहरुको संस्थागत क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?