+
+

कांग्रेस महामन्त्री पदको मतगणना सुरु गर्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १ गते ७:२६

१ पुस, काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदको मतगणना आज सुरु गरिंदै छ । निर्वाचन समितिका एक सदस्यले बिहानदेखि महामन्त्रीको मतगणना सुरु गर्ने तयारी भइरहेको छ ।

सभापति शेरबहादुर देउवा प्यानलबाट महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेल, शेखर कोइराला प्यानलबाट डा. मिनेन्द्र रिजाल र गगन थापा तथा प्रकाशमान सिंह प्यानलबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि प्यानलबाट राजाराम कार्की महामन्त्रीका उम्मेदवार छन् । निर्वाचनबाट दुई जना महामन्त्री चुनिने छन् ।

कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनबाट सभापति र उपसभापति पदको परिणाम घोषणा भइसकेकाले महामन्त्री पदको मतगणना सुरु गर्ने तयारी भइरहेको नेपाली कांग्रेसको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले बताए । ‘महामन्त्रीका उम्मेदवारहरुका प्रतिनिधिहरु सबै आएपछि उहाँहरुको सहमति लिएर गणना सुरु गर्छौं,’ श्रेष्ठले भने ।

कांग्रेसको इतिहासमा पहिलोपटक भएको उपसभापति पदको निर्वाचनबाट पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् । सभापतिमा भने शेरबहादुर देउवा बुधबारै निर्वाचित भएका थिए ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको निर्वाचन हुने विधानमा व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।

कांग्रेसको विधानअनुसार ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी÷जनजाति १५, खस÷आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसंख्यकबाट एक, अपाङ्गता भएकाबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्य निर्वाचनबाट चुनिने छन् । यीबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?