+
+

मुनव्वर फारुकी भन्छन्- तपाईं जनतालाई रोक्न सक्नुहुन्न, कमेडी रोकिने चीज होइन

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १ गते १८:२८
मुनव्वर फारुकी

१ पुस, काठमाडौं । ‘जबसम्म देशमा प्रेम, शान्ति र कमेडी मन पराउने समझदार नागरिक तिम्रो साथमा छन् भने घृणाको भ्रम धेरै दिन टिक्दैन ।’

यो भनाइ हो भारतका स्टाण्डअप कमेडियन मुनव्वर फारुकीको ।

विगत दुई महिनामा मुनव्वर फारुकीको १२ वटाभन्दा बढी शो रद्द भइसकेका छन् । हालै मात्र मुम्बई र बैंग्लोर प्रहरीले अनुमति नदिंदा उनले अरु शो पनि रद्द गर्नुपर्‍यो । प्रहरीले शान्ति सुरक्षामा खलल पुग्ने र साम्प्रदायिक सद्भाव खल्बलिने आशंका गर्दै उनका शोहरु रद्द गरेको दाबी गरेको छ ।

प्रशासनको यस्तो हर्कतका विषयमा मुनव्वर भन्छन्, ‘कहिले हार हुन्छ त, कहिले जित । तर रोकिनु कहिल्यै हुँदैन ।’ प्रशासनले एकपछि अर्को शो रद्द गरिदिएपछि आक्रान्त बनेका मुनव्वरले सामाजिक सञ्जालमा लेखेका थिए, ‘अब त अत्ति भयो ।’

यसको अर्थ सोध्दा मुनव्वरले भने, ‘मलाई मेरो कुरा राख्ने मौका नै दिइरहेको थिएन । पछिल्लो केही दिनमै १५ शो रद्द भइसकेको छ । म सोच्थें, ठीकै छ । तर दर्शकहरुलाई यसको जानकारी छैन । म कुन अवस्थाबाट गुज्रिरहेको छु भनेर । म कुनै खतरनाक व्यक्ति त होइन । मेरो शो नै नहेरी कसैले कसरी भन्न सक्छ कि यो गलत हो ? यसैले मलाई अब लाग्यो कि यो त अति भयो ।’

उनले अगाडि भने, ‘मानिसलाई हँसाउन कहिल्यै छाड्ने छैन, उनीहरुलाई हँसाउन नै मलार्य मन पर्छ ।’

यस्तो अवस्थामा उनले आफ्नो शोलाई अनलाइन प्लेटफर्ममार्फत पनि दर्शकलाई देखाउन सक्थे । तर उनी यसो गर्न चाहँदैनन् । भन्छन्, ‘म अनलाइन शो गर्न सक्छु । तर त्यसमा स्टेजमा जुन मज्जा हुन्छ, त्यो मिल्दैन । दर्शकको प्रत्यक्ष साथ पनि त्यसमा मिल्दैन । त्यसैले मलाई यो देखाइदिनुपर्‍यो कि मबाट के गल्ती भयो र म अनलाइन प्लेटफर्ममा आउनलाई । मलाई त मेरै मैदान चाहियो । अहिले त्यही मैदानको खोजीमा छु म ।’

के हो इन्दौरको घटना ?

मुनव्वर फारुकी

गुजरातमा बस्ने मुनव्वर फारुकीलाई यसै वर्षको शुरुआतमा मध्यप्रदेशको इन्दौरमा प्रहरीले पक्राउ गरेको थियो । जसका कारण एक महिनाभन्दा बढी समय उनले जेलमा बिताउनुपर्‍यो ।

उनलाई हिन्दू देवीदेवतामाथि अभद्र टिप्पणी गरेको आरोप लगाइएको थियो । यो आरोपबारे मुनव्वर भन्छन्, ‘मेरो जोकको गलत अर्थ लगाएर कसैले इन्टरनेटमा गलत कुरा फैलायो । त्यो क्लिप पूरै भिडियोको ३० सेकेण्डको मात्रै थियो । त्यो पनि एक गीतको हो । मेरो कसैलाई दुःख पुर्‍याउने नियत थिएन । इन्टरनेटमा त्यो क्लिप पोस्ट भयो, जसमा एक नेरेटिभले बताएका छन् कि हिन्दू देवीदेवताको अपमान भयो भनेर । मेरो धर्म, आमा र बहिनीलाई पनि गाली गरिएको छ ।’

राजनीतिक विषयमा पनि कमेडी गर्ने मुनव्वरले यसै विषयमा मात्रै कटाक्ष गर्न पनि सक्छन् । कमेडियनको काम कमेडी गर्नु हो भन्दै उनले भने, ‘मानिसहरु चाहन्छन् कि कमेडियनले सिर्फ कमेडी गरोस् । राजनीतिक विषयमा किन फसिरहनुपर्‍यो ? जे विषयमा पनि कमेडी गरेर हँसाउनुपर्छ । मलाई पनि राजनीतिक कुरा गर्ने पनि त्यत्तिकै अधिकार भने छ ।’

यस कुरामा मुनव्वरको अभिव्यक्ति स्वतन्त्रताको विषय जोडिएको छ । तर एक विचारधारा वा राजनीतिक दलमाथि कटाक्ष गर्दा उनीहरुले फैलाउने घृणाका विषयमा मुनव्वर भन्छन्, ‘कुनै लोकप्रिय भनिएको विचारधारामाथि जोक नै गर्नुहुँदैन भन्नेहरु पनि छन् । के राहुल गान्धीमाथि जोक बनेको छैन र ? कति धेरै राजनीतिक दलमाथि जोक बनेका छन् ? प्रधानमन्त्री मोदीले जोक नबनाउनु भनेर त भन्नु भएको छैन । अनि कमेडियनले गर्ने कटाक्षमाथि किन यत्रो प्रहार ?’

राजनीतिक दलका कार्यकर्तालाई किन यो विषयमा समस्या भएको भन्नेमा मुनव्वरले भने, ‘राजनीतिक दलको काम नै घृणा फैलाउनु हो । तपाईं पछिल्लो तीन वर्षदेखिको माहोल हेर्नुस् त, कस्ता कस्ता मुद्दा उठाइएका छन् ? कस्ता चीजमाथि घृणा फैलाइरहेका छन् ? म यसकै शिकार भएको हुँ । उनीहरुलाई लाग्यो यो एक्लै छ, कुनै राजनीतिक व्याकअप छैन । मैले सबै राजनीतिक दलको मजाक उडाएँ । कुनै एक पार्टीको विचारधारामा सहमत हुनैपर्छ भन्ने त छैन होला । सहमत छैन भन्दैमा उनीहरु किन डराएका ? यस्तो भइरह्यो भने एकदिन जनता उनीहरुको भिजनबाटै डराउनेछन् ।’

कमेडियनलाई व्यंग्य गरेकै आधारमा छेक्न खोजे पनि आम नागरिकलाई कसैले रोक्न नसक्ने मुनव्वर बताउँछन् । आगामी दिनमा भारतमा कमेडी अरु बढ्ने उनको भनाइ छ । सन् २०२० मा ५० स्टाण्डअप भिडियो आएकामा सन् २०२१ मा यो बढेर २०० भइसकेको छ । उनी अगाडि भन्छन्, ‘नयाँ कमेडियन आइरहेका छन्, कमेडी रोकिने चीज होइन ।’

बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?