+
+

विकास खर्च दयनीय, ५ महिनामा २८ अर्ब मात्रै खर्च 

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १ गते १९:४१
फाइल तस्वीर

१ पुस, काठमाडौं । चालु आर्थिक वर्ष ०७८/७९ को पहिलो महिनाबाटै खस्किएको विकास खर्च पाँचौं महिना (साउन–मंसिर)सम्म आइपुग्दा पनि सुधार हुन सकेन ।

महालेखा परीक्षकको कार्यालयका अनुसार मंसिर मसान्त (बुधबार)सम्म विकास खर्च लक्ष्यको ६.४६ प्रतिशत मात्र हुन सकेको छ । चालु आवमा सरकारले कुल विकास खर्च गर्ने लक्ष्य ४ खर्ब ३९ अर्ब ६५ करोड रुपैयाँ राखेको छ । यो रकम खर्च गर्न साउनबाटै हरेक महिना औसतःमा मासिक ३६ अर्ब रुपैयाँ विकासको काममा खर्च हुनु पर्छ । तर ५ महिनासम्मको प्रगति भने दयनीय छ । मंसिर मसान्तसम्म सरकारले मत्र २८ अर्ब ४० करोड रुपैयाँ मात्र खर्च गर्न सकेको छ । यो मासिक ५ अर्ब ६८ करोड रुपैयाँ मात्र प्रगती हो ।

अर्थमन्त्री जनार्दन शर्मा विकास खर्च नहुनुमा केवल अर्थमन्त्रालयको मात्र हात नहुने बताउँछन् । बुधबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको नवउत्थान सम्मेलनमा बोल्दै अर्थमन्त्री शर्माले पूँजिगत खर्चको अवस्था सुधार गर्न सरकार असफल भएको भने स्वीकार गरे । यसमा अर्थ मन्त्रालयको मात्र हात नहुने भन्दै उनले सरोकारवाला मन्त्रालयसँग छलफल गरिरहेको उनको भनाइ छ ।

पछिल्लो समय बैंकिङ प्रणालीमा चुलिएको तरलता अभावलाई पुँजीगत खर्चसँग समेत जोडेर हेरिएको छ ।

चालु खर्च भने साढे ३१ प्रतिशत पुग्यो

तथ्यांकअनुसार ५ महिनामा चालु खर्च भने साढे ३१ प्रतिशत भन्दा माथि पुगिसकेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार यसअवधिमा ३ खर्ब १७ अर्ब ३२ करोड रुपैयाँ चालु खर्च भइसकेको छ ।

चालु आवमा सरकारले १० खर्ब ३ अर्ब ७४ करोड रुपैयाँ चालु खर्चको लक्ष्य सरकारले राखेको छ । अहिलेसम्म भएको खर्च ३१.६१ प्रतिशत हो । वित्तीय व्यवस्थामा ५ महिनासम्म ४१ अर्ब ३० करोड रुपैयाँ खर्च भएको छ । यो लक्ष्यको २१.८ प्रतिशत हो । यो वर्ष सरकारले वित्तीय व्यवस्थाका लागि १ खर्ब ८९ अर्ब ४३ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको छ ।

यो अवधिमा चालु, पुँजीगत र वित्तीय व्यवस्थामा गरी लक्ष्यको कुल २३.७ प्रतिशत बजेट खर्च भएको तथ्यांक छ । सरकारले चालु आवमा १६ खर्ब ३२ अर्ब ८२ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ । पहिलो ५ महिना पुरा हुँदा बजेट खर्च ३ खर्ब ८७ अर्ब ३ करोड भएको देखिन्छ ।

वैदेशिक अनुदान शून्य, राजस्व संकलन भने लक्ष्य अनुसार

यो वर्ष पहिलो ५ महिनामा वैदेशिक अनुदान प्राप्ति ‘शून्य’ रहेको तथ्यांक छ । तर, राजस्व संकलन भने लक्ष्य अनुसार नै भएको छ ।

पहिलो ५ महिनामा ४ खर्ब १२ अर्ब ४० करोड रुपैयाँ राजस्व संकलन भएको छ । यो कुल लक्ष्यको ३४.९३ प्रतिशत प्राप्ति हो । यस वर्ष सरकारले कुल ११ खर्ब ८० अर्ब ६० करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ ।

यस अवधिमा कर राजस्व ३ खर्ब ८० अर्ब २३ करोड र गैरकर राजस्व ३२ अर्ब १७ करोड रुपैयाँ उठेको छ । अन्य प्राप्ती ३१ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । यसअनुसार सरकारले ऋणबाहेकको आम्दानी ४ खर्ब ४३ अर्ब ७९ करोड गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?