+
+
साताका १० गीत :

प्रमोददेखि सुनितासम्मको स्वर, मदनकृष्णदेखि मलिकासम्मको अभिनय

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २ गते १६:२५

२ पुस, काठमाडौं । युट्युबमा दिनमै १० वटासम्म म्युजिक भिडियो सार्वजनिक हुन्छन् । पछिल्लो साता पनि हरेक दिनजसो नयाँ–नयाँ गीतका म्युजिक भिडियोहरु युट्युबमा आए । गत शुक्रबारदेखि बिहीबारसम्म हेर्दा चार दर्जन बढी गीतका म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएका छन् ।

प्रमोद खरेल, मेलिना राईका पनि केही गीत यो साता आए । मदनकृष्ण श्रेष्ठ, खेम सेञ्चुरीदेखि अन्जु पन्त, विष्णु माझी, सुनिता दुलाल, देवी घर्तीसम्मले स्वर दिएका गीतहरु पनि यस साता युट्युबमा सार्वजनिक भए । यस्तै आकाश श्रेष्ठ, पल शाहदेखि स्वस्तिमा खड्का, केकी अधिकारी, मलिका महतसम्म यो साता भिडियोमा देखिए । यद्यपि अधिकांश गीतमा युट्युबमा भ्युजको खडेरी नै देखियो । गत शुक्रबारदेखि बिहीबारसम्म सार्वजनिकमध्ये १० गीतको यहाँ चर्चा गरिएको छ ।

मदनकृष्णको स्वर र अभिनयमा ‘आँखामा राख्छौ कि मलाई’

मदनकृष्ण श्रेष्ठको स्वर तथा अभिनय रहेको नयाँ गीत हो, ‘आँखामा राख्छौ कि मलाई’ । बिहीबार सार्वजनिक भएको यो गीतमा मदनकृष्ण र मेलिना मैनालीको स्वर छ । कृष्ण भारद्वाजको शब्द तथा संगीत रहेको गीतलाई कुशल सिंहले एरेञ्ज गरेका हुन् ।

गज्जब टीभीको प्रस्तुति रहेको गीतको भिडियोलाई विवेक रसाइलीले निर्देशन गरेका हुन् । प्रेमभाव बोकेको गीतको भिडियोमा मदनकृष्ण र उषा खड्गी शीर्ष भूमिकामा देखिएका छन् । नवराज उप्रेतीको छायाँकन रहेको भिडियोमा भुपेन्द्र अधिकारीको सम्पादन छ । मदनकृष्णले यसअघि ‘ह्याप्पी हर्ट’ बोलको गीत गाएका थिए । ‘आँखामा राख्छौ कि मलाई’ गीतको भिडियोले शुक्रबार दिउँसोसम्म भने अपेक्षित भ्युज पाएको छैन ।

सुनिता र प्रतापको ‘मायाको डोरी’

गायिका सुनिता दुलालले मंगलबार ‘मायाको डोरी’ बोलको गीत युट्युबमा सार्वजनिक गरेकी हुन् । बबिता बानियाँ जेरीको शब्द तथा संगीत रहेको गीतमा सुनिता र प्रताप दासको स्वर छ । सुनिता र प्रतापले ‘बाँसको कप्टेरो’ बोलको गीतमा सहकार्य गरेका थिए ।

काजिश श्रेष्ठको निर्देशनमा तयार ‘मायाको डोरी’गीतको भिडियोमा अभिनेता पल शाह, अभिनेत्री केकी अधिकारीको अभिनय छ । साथमा अञ्जना बराइली र भोजराज शर्मा पनि भिडियोमा देखिएका छन् । उत्सव दाहालको छायाँकन रहेको यस भिडियोलाई प्रवीन श्रेष्ठले सम्पादन गरेका हुन् । भिडियोले शुक्रबार दिउँसोसम्म युट्युबमा १ लाख ६५ हजार भ्युज पाएको छ ।

कार्टुन क्रु’को ‘रातो कार्पेट’

नेपालको चर्चित डान्स ग्रुप ‘द कार्टुन क्रु’का जुनियर कलाकारहरुको अभिनय रहेको नयाँ गीत हो, ‘रातो कार्पेट’ । शान्ता खत्री कार्कीको शब्द, रिमेश कुमारको संगीत, दीपकराज विश्वकर्माको एरेञ्ज रहेको गीतमा सम्राट चौलागाईं र शान्ता खत्री कार्कीले स्वर दिएका छन् ।  डान्सिङ विटको भिडियोमा बालकलाकार रुवि राई र ऋतिक गिरीको नृत्य छ ।

सरोज अधिकारीको कन्सेप्ट एवं निर्देशनमा बनेको भिडियोलाई पवन सुस्लिङले छायांकन र सुरोज अधिकारीले सम्पादन गरेका हुन् । गत शुक्रबार सार्वजनिक गरिएको भिडियोले एक सातामा युट्युवमा ४ लाख ८१ हजार बढी भ्युज पाएको छ । यो गीत युट्युबको ट्रेन्डिङमा समेत उक्लिएको छ ।

स्वस्तिमा र पल अभिनित ‘पिरती लाउन सिकाइदेऊ’

सोमबार सार्वजनिक गरिएको ‘पिरती लाउन सिकाइदेऊ’ गीतको भिडियोमा अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता पल शाहको अभिनय छ । सोमबार सार्वजनिक यो गीतमा मिलन नेवार र राज निरौलाको स्वर छ । राजनराज शिवाकोटीको शब्द तथा संगीत रहेको गीतलाई अमोश तामाङले एरेञ्ज गरेका हुन् ।

गम्भीर विष्टको निर्देशन, सुबोल थापाको कोरियोग्राफी रहेको भिडियोमा स्वस्तिमा र पलका साथमा गोपाली कृति, नमु न्यौपाने, सुरेन्द्र बसेल लगायतलाई देख्न सकिन्छ ।

नवराज उप्रेतीले भिडियोको छायांकन गरेका हुन् । नवीन निरौलाको सम्पादन रहेको गीतको भिडियोलाई शुक्रबारसम्म २ लाख ६२ हजार बढी पटक हेरिएको छ ।

नेत्र अर्यालको ‘ठमेल असन’

थुप्रै हिट लोकदोहोरी गीत लेखेका गीतकार नेत्र अर्यालले आइतबार ‘ठमेल असन’ बोलको गीत सार्वजनिक गरेका हुन् । नेत्रको शब्द रहेको गीतमा गायक खेम सेञ्चुरी र गायिका सुनिता बुढाक्षेत्रीले स्वर दिएका छन् । खेमकै संगीत रहेको गीतलाई महेन्द्र भण्डारीले एरेञ्ज गरेका हुन् ।

विनोद भण्डारीको कथा एवं निर्देशन, जेरी भण्डारीको कोरियोग्राफी रहेको भिडियोमा विनोद स्वयंसँगै नारायणी खत्रीको शीर्ष अभिनय छ । अजय रेग्मीले खिचेको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका छन् । गीतकार नेत्रकै युट्युब च्यानलमा सार्वजनिक भिडियोले शुक्रबारसम्म १ लाख ७२ हजार भ्युज पाएको छ ।

वसन्त र सुमित्राको स्वरमा ‘तोरी फूल्यो पहेंलै’

गायक एवं संगीतकार वसन्त थापा र गायिका सुमित्रा कोइरालाको स्वर रहेको ‘तोरी फूल्यो पहेंलै’ बोलको गीत आइतबार सार्वजनिक गरिएको हो । गायिका सुमित्राकै शब्द एवं संगीत रहेको गीतमा कृष्ण बिके भान्जाको संगीत संयोजन छ ।

यो गीतको भिडियोमा पल शाह र गरिमा शर्माको अभिनय छ । अजय रेग्मीको छायांकन रहेको ‘तोरी फूल्यो पहेंलै’को भिडियोलाई दीपक विष्टले सम्पादन गरेका हुन् । यस गीतको भिडियोलाई युट्युबमा पाँच दिनमा २ लाख ४८ हजारभन्दा बढी पटक हेरिएको छ ।

आकाश र मलिकाको अभिनयमा ‘तिमी बस दिलैमा’

अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री मलिका महतको अभिनय रहेको ‘तिमी बस दिलैमा’गीतको  भिडियो शनिबार सार्वजनिक गरिएको हो । यो गीतमा गायक प्रमोद खरेल र गायिका अस्मिता अधिकारीको स्वर छ । विकास सिवाकोटीको शब्द, शेरा थामी र विकास सिवाकोटीको संगीत रहेको गीतलाई दीक्षित पौडेलले एरेञ्ज गरेका हुन् । सुरेन्द्र बसेलको कोरियोग्राफी एवं निर्देशन रहेको भिडियोलाई नवीन निरौलाले छायांकन गरेका हुन् । भिडियोलाई युट्युबमा १ लाख ८५ हजार बढी पटक हेरिएको छ ।

देवी र रविनको स्वरमा ‘एकाउन्न बाउन्न’

‘एकाउन्न बाउन्न’ बोलको दोहोरी गीत गत शुक्रबार सार्वजनिक गरिएको हो । यो गीतमा देवी घर्ती र रविन लामिछानेले स्वर दिएका छन् । सन्तोष पन्तको शब्द, रविन लामिछानेको संगीत रहेको गीतलाई कृष्ण बिकेले एरेञ्ज गरेका हुन् । यो गीतमा केही गायक–गायिकाले गु्रप स्वर दिएका छन् ।

मदन खड्काको निर्देशन रहेको भिडियोमा गायक–गायिका स्वयंको साथमा राजु ढकाल, करिश्मा ढकाल, सन्तोष पन्त, सुष्मा ढकाल, टंक डुम्रे लगायत देखिएका छन् । वीरेन्द्र भट्टको छायांकन, विकास ज्ञवालीको सम्पादन रहेको गीतको भिडियोले युट्युबमा २ लाख ३० हजार बढी भ्युज पाएको छ ।

प्रमोदको एकल स्वरमा ‘तक्दीर’

प्रमोद खरेलको एकल स्वर रहेको ‘तक्दीर’ बोलको गीत गत शुुक्रबार सार्वजनिक गरिएको हो । प्रेम विरहको यो गीतमा करण ओली शिशिरको शब्द, रोशन सिंहको संगीत र विशाल निरौलाको एरेञ्ज रहेको छ ।

विक्रम चौहानको कथा तथा निर्देशनमा तयार भएको भिडियोमा करण ओली शिशिर, सुप्रिया खनाल, संगम मल्ल ठकुरी लगायतको अभिनय छ । भिडियोमा वीरेन्द्र भट्टको छायांकन र मिलन विश्वकर्माको सम्पादन छ । भिडियोले युट्युबमा २ लाख २८ हजारभन्दा बढी भ्युज पाएको छ ।

राजु परियारको ‘बाले दियो बल्छ होला नि’

लोकदोहोरी गायक राजु परियारले गत शुक्रबार ‘बाले दियो बल्छ होला नि’ बोलको गीत सार्वजनिक गरेका हुन् । यो गीतमा राजु परियार र शान्तिश्री परियारको स्वर छ । गायक राजुकै शब्द तथा संगीत रहेको गीतलाई सुनिल परियारले एरेञ्ज गरेका छन् ।

धनी र गरिबबीचको खाडल, जातजातिबीचको भेदभावको विषयलाई राजुले गीतमा प्रस्तुत गरेका छन् । निशान बानियाँको निर्देशनमा बनेको भिडियोमा शिशिर पौडेल र आयुष्मा कार्कीको अभिनय छ । दीपक गिरीको छायांकन रहेको भिडियोलाई शिव पौडेलले सम्पादन गरेका हुन् । भिडियोले युट्युबमा १ लाख २७ हजार बढी भ्युज पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?