+
+
माइतीघर :

प्राणभन्दा प्यारो माइतीघर

सुदर्शन अर्याल सुदर्शन अर्याल
२०७८ पुष ३ गते २०:००

भनिन्छ, माइती गाउँको कुकुर नै प्यारो हुन्छ । यस्तै लाग्छ नायिका स्वस्तिमा खड्कालाई पनि । तर स्वस्तिमा आफ्नो जन्मघरलाई कहिलै पनि ‘माइती’ भनेर सम्बोधन गर्दिनन् । उनी भन्छिन् ‘मेरो लागि जन्मघर र कर्मघर दुवै आफ्नै घर हुन् । त्यसैलेमा माइती भन्न मलाई मन लाग्दैन ।’

झण्डै ७ वर्षअघि स्वस्तिमाको विवाह भयो । उनलाई जन्मघर र कर्मघरमा हुने व्यवहारमा त्यस्तो अन्तर छैन । तर पनि उनको भावनात्मक साइनो जन्मघरप्रति अलिकति पनि कम भएको छैन । विवाहको दिन घर छाड्दा आफू निकै दुःखी भएको उनी बताउँछिन् । ‘पश्चिमी मुलुकतिर त यस्तो नहोला । तर हाम्रो संस्कृतिमा विवाह गरेर गएपछि अर्काको घर सम्हाल्नुपर्छ भन्ने धारणाले गर्दा पनि हुन सक्छ, हामीलाई भावुक बनाइहाल्छ ।’

स्वस्तिमा जन्मघर छाडेपछि बिस्तारै त्यताको भावनात्मक प्रेममा कमी आउँदै गर्छ भन्ने तर्कमा असहमति राख्छिन् । उनी विवाह भएको समय बढ्दै जाँदा झनै जन्मघरको यादले बढी सताउन सक्ने बताउँछिन् । ‘विवाह गरेर जाने बेलाभन्दा पनि अरुको घरमा गएपछि नयाँ एक्सपेरियन्स हुन्छ । जुन जन्मघरकोभन्दा भिन्न हुन्छ । अनि माइतीको याद बढी आउँछ ।’ उनी भन्छिन् ।

आफ्नो जन्मघर छाडेर अर्काको घरमा पुगेपछि कहिलै पनि नभोगेको अनुभव बटुल्नुपर्छ । त्यतिबेला झनै माइतीघरको याद आउने बताउँछिन् स्वस्तिमा ।

भनिन्छ, बिहे गरेर अर्काे घरमा गएपछि आफ्नो समृद्धिसँगै चेलीले माइतीको समृद्धिको पनि चासो राख्छन् । कतिपयले त आफ्नो घरभन्दा पनि माइतीको समृद्धिमा धेरै चासो राख्ने गरेको उदाहरण भेटिन्छ । के यस्तै हुन्छ त ? स्वस्तिमा यसमा असहमति राख्छिन् । उनी भन्छिन् ‘कहिलै पनि जन्मघर र कर्म घरमा तुलना गरेर हेरिँदैन । आफ्नो प्रगतिसँगै आफ्नो माइतीघरको पनि उन्नति होस् भन्ने सोचाइ आउनु स्वाभाविक हुन सक्छ । तर मेरो कर्म घरभन्दा जन्म घर राम्रो होस् भन्ने हुँदैन ।’ उनी विवाहको जति नै वर्ष भएपनि आफ्नो माइतीप्रतिको माया र सद्भावमा कमी नआउने धारणा राख्छिन् ।

१० वर्षअघि बेहुलीको भेषमा काठमाडौंबाट विराटनगर पुगेकी सविना कार्कीको मन अहिले पनि विवाहको कुरा सुन्नेबित्तिकै भारी भएर आउँछ । घरमा बुबाले छोरीको करियर बनाएर मात्रै विवाह गर्ने अडान लिएका कारण उनको सानै उमेरमा विवाह त भएन तर बुबाले देखाएको त्यो अभिभावकत्वले उनलाई माइतीघर झन् बढी प्यारो हुन थाल्यो । अहिले पनि विवाहमा अन्माएको भिडियो हेर्दा उनी एकोहोरो हुन्छिन् । उनलाई विवाहकै दिन आफ्नो स्वतन्त्रता खोसिएको जस्तो अनुभूति हुन्छ ।

स्वतन्त्रता खोसिएको अनुभूति भए पनि उनले घरमा त्यस्तो महसुस गर्नुपरेको भने छैन । तर पनि माइतीघरको कुरा सुन्नेबित्तिकै किनकिन उनी भावुक बन्छिन् । विवाहपछि रातारात श्रीमान्को घर आफ्नो घर बन्छ । तर भावनात्मक रुपमा आफ्नो घर बन्न केही समय लाग्ने कार्की अनुभव सुनाउँछिन् । ‘श्रीमान्को घर आफ्नो मान्नुपर्छ भन्ने सैद्धान्तिक कुरा हो, तर यसको लागि समय लाग्दो रैछ ।’

विवाहको पहिलो वर्ष कार्कीले विराटनगरमा दशैं मनाइन् । उनले अर्कै दुनियाँ दशैं मनाएको अनुभूति भयो । उनी भन्छिन् ‘भलै हामी कर्म घरमा आइन्छ । तर जन्मदिने आमा र जन्म घरको छुट्टै महत्व हुन्छ ।’

बाबु/आमाले दिएको निःस्वार्थ मायाले पनि माइतीघरप्रति चेलीको चासो बढेको हुन सक्छ । जन्मिएर आफ्नो बाल्यकाल बिताएको ठाउँ भएकोले पनि त्यहाँको याद बढी भएको हुन सक्छ ।

सविनालाई माइतीमा बिताएको बाल्यकालको मिठास र सम्झनाले विवाहको १० वर्ष कटिसक्दा पनि सताइरहन्छ । अहिले माइतीसँगको आउजाउ अलिक कम हुन्छ । तर पनि माइतीसँगको भावनात्मक सम्बन्धले मन भने चटक्क बिर्सिन सकिँदैन । उनी भन्छिन् ‘चेलीको आशीर्वाद र श्राप लाग्छ भन्छन् मलाई त त्यो सही लाग्छ । नारी हृदय हो बढी भावनात्मक बनिहाल्छ त्यसैले अहिले पनि माइती घर भन्नेबित्तिकै मन फुरुंग भइहाल्छ ।

अहिले पनि नानी माइती घरमा आमा वा दाजुभाइसँग दैनिक कुराकानी गर्छिन् । विवाहको २ हप्तामा नै २ पटक माइत पुगिसकिन् । उनी भन्छिन् ‘माइती घर भनेको माइती नै रहेछ ।’

छोरीलाई पठाएपछि बाबुआमाको प्राथमिकता पनि कम हुँदै जान्छ । विवाहको लामो समय चल्दै जाँदा छोरी श्रीमान्को घरमा रमाउन थाल्छिन् । त्यो देखेर बुबाआमाले पनि त्यसैमा आफ्नो खुसी ठान्छन् । विवाहपछि नियमित भेटघाट लम्बिँदै जान्छ । आफ्नै छोराछोरी जन्मिएपछि नै किन नहोस् माइतीप्रतिको मायामा भने कमी आउँदैन । बरु झनै महत्व बढ्दै जान्छ । छोरी पनि आफ्नै दुनियाँमा रमाएको देखेको देखेर बाबुआमालाई पनि गर्व महसुस हुन्छ ।

सिन्धुपाल्चोकबाट १६ दिनअघि विवाह गरेर काठमाडौं आएकी नानी थापाको विवाह अनुभव अलिक फरक छ । १८ वर्षदेखिको चिनजान र आउजाउ भएको घरमा जाँदा उनलाई माइती र श्रीमान्को घरमा त्यति फरक अनुभूति नहुनुपर्ने हो । तर उनी विवाह मण्डपबाट अन्मिएर जाँदै गर्दा धेरै नरमाइलो अनुभव भएको सुनाउँछिन् ।

माइतीमा जाँदा परिवारले अहिले पनि आफूलाई बच्चाको रुपमा व्यवहार गर्ने भएकोले घरमा जस्तो व्यवहार भए पनि माइती प्यारो हुने गरेको उनको अनुभव छ ।

त्यसो त उनी विवाहपूर्व पनि माइतीघरमा धेरै बस्ने गर्दैनथिन् । तर पनि उनलाई विवाह दिन गोत्र परिवर्तन गर्ने, अन्माएर पठाउने जस्ता संस्कारले मनमा चसक्क पार्‍यो । उनलाई सधैंको लागि पठाएको जस्तो अनुभूति भयो । यसले उनलाई नराम्रो बनायो । उनी भन्छिन् ‘साँझमा चरा पनि गुँड खोज्दै घर आउँछ भन्ने चलन छ । तर म सिन्धुपाल्चोकबाट साँझमा अन्माएर घरबाट पठाउनु भयो । मलाई त्यो वातावरणले पनि अलिक भावुक बनायो । आफूलाई जन्मेको घरबाट अलग्याउन लागेको भान भयो । म भावुक भएँ ।’

विवाह गरेको लामो समयपछि माइतीप्रतिको प्रेममा कस्तो अनुभव हुन्छ त्यो उनलाई थाहा छैन । तर पहिलेभन्दा झनै माया बढ्छ भन्ने विश्वास उनी व्यक्त गर्छिन् ।

नानीको विवाह व्यावहारिक समस्याका कारण अलिक भिन्न खालको भएको उनी सुनाउँछिन् । बाबु नभएको कारणले उनमा आफैँले आफ्नो विवाहको तिरोतारो मिलाउनु पर्ने जिम्मेवारी थियो । त्यसले पनि उनलाई भावनातिरभन्दा धेरै व्यावहारिक कुराले सतायो । तर पनि कठोर हुन खोजेपनि भावनाले नछाड्ने उनी बताउँछिन् ।

अहिले पनि नानी माइती घरमा आमा वा दाजुभाइसँग दैनिक कुराकानी गर्छिन् । विवाहको २ हप्तामा नै २ पटक माइत पुगिसकिन् । उनी भन्छिन् ‘माइती घर भनेको माइती नै रहेछ ।’

विवाहको संरचना एवं आफ्नो घर छाडेर थर त्याग्नुपर्ने व्यवस्था कहिलेदेखि सुरु भयो होला ? त्रिभुवन विश्वविद्यालयकी संस्कृति विषयकी अध्यापनरत निर्मला पोखरेलका अनुसार यसको सामाजिक परिदृश्यलाई हेर्दा यो हिन्दु धर्ममा हिमालयपुत्री पार्वतीसँग कैलाशपति महादेवले गरेको विवाहको समयदेखि सुरु भएको मानिन्छ । उनले आफ्नो विवाह गर्दा सबै प्रकि्रयाहरु पूरा गरेका थिए भन्ने विश्वास गरिन्छ । धर्मशास्त्र अनुसार त्यतिबेला हिमालयले छोरी बिदाइ गर्ने बेलामा छोरीको लागि चाहिने सामग्री दाइजोको रुपमा दिन लागेका थिए । तर शिवले दाइजो अस्वीकार गरेको प्रसंग धर्मशास्त्रमा भेटिने अध्यापक पोखरेल बताउँछिन् ।

विवाहमा गोत्र फेर्ने र श्रीमान्को घर जाने चलन भने कहिलेदेखि सुरु भयो भन्ने यकिन नरहेको पोखरेल बताउँछिन् । जतिबेलदेखि पूर्ण पितृसत्ताको चलन सुरु भयो त्यतिबेलादेखि नै विवाहपछि पतिको घर जाने र थर एवं गोत्र फेर्ने चलन भएको अनुमान पोखरेलको छ । शास्त्रीय लेखोटलाई हेर्दा यो महाभारतकालपछि सुरुभएको चलन हुन सक्ने उनी बताउँछिन् । वैदिक कालमा पूर्ण पितृसत्ता थिएन । कतिपय ठाउँमा त बरु मातृसत्ता नै रहेको उल्लेख पाइन्छ । तर त्यसपछि बिस्तारै पितृसत्ता सुरु भयो जसले गर्दा विवाहमा पतिको घर जाने र पत्नीले थर फेर्ने चलन सुरु भएको मान्न सकिन्छ ।

पराइको घरमा एडजस्ट हुन गाह्रो-मनोविद् गोपाल ढकाल

मनोविद् गोपाल ढकालको मनोपरामर्शदाता मार्क नेपालमा केही समयअघि एक दम्पती मनोपरामर्शको लागि आए । काठमाडौं स्थायी घर भएका ती दम्पतीबीच विवाहको ३ महिनामा नै एड्जस्टमेन्ट डिसअर्डरको समस्या भएर उनीहरुबीच सम्बन्धविच्छेद भयो । मनोविद्हरु नवविवाहित दम्पतीबीच एकअर्काको व्यवहारमा घुलमिल हुन नसक्दा निम्तिने समस्या नै एड्जस्टमेन्ट डिसअर्डर हो ।

सम्बन्धविच्छेद भएका ती दम्पती दुवै बैंकका जागिरे थिए । उनीहरुबीच प्रेम विवाह भयो । केटाको घरमा आमा एकदमै संस्कारी र बिहानबेलुका आस्थापूर्वक पूजाआजा गर्ने स्वाभावकी थिइन् । बुहारी भने बैंकमा काम गर्ने भएकोले अलिक आधुनिक स्वभावकी थिइन् । विवाहको केही समयमा नै घरमा खटपट सुरु भयो । श्रीमान्ले बुढी आमालाई सम्झाउन भन्दा श्रीमतीलाई परिवर्तन गराउन सम्झाउन थाले । कुरा बिगि्रँदै गयो । त्यसपछि उनीहरुको ३ महिनामा नै सम्बन्धविच्छेद भयो ।

घरको एउटा वातावरणमा हुर्किएका मान्छे अर्काे व्यवहारमा एड्जस्ट हुन गाह्रो हुन्छ । एडजस्टमेन्ट डिसअर्डरमा निद्रा नलाग्ने खान मनलाग्ने डर लाग्ने जस्तो समस्याहरु देखिन्छ । परामर्शमा आएकाहरुमध्ये धेरैमा प्रेम विवाह छ भने अर्काे परिवारले स्वीकार्छ कि स्वीकार्दैन ? भन्ने जस्ता कुराले समस्या गराउँछ । यसबाहेक पनि खानपानमा भिन्नता, भौगोलिक प्रतिकुलता जस्ता समस्याले नवविवाहितमा समस्या निम्त्याउँछ ।

लेखकको बारेमा
सुदर्शन अर्याल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?