+
+

कैलाली हत्याको ‘जिम्मेवारी’ लिएको अडियो भेटियो

प्रहरीले घटनाको अनुसन्धान गरिरहँदा सामाजिक सञ्जालमा एउटा अडियो बाहिरिएको छ, जसमा ‘मनोज’ नामक व्यक्तिले आफू हत्यापछि सीमा पारि रुपैडिया पुगिसकेको बताएको सुनिन्छ।

जनक विष्ट जनक विष्ट
२०७८ पुष ४ गते १४:१४

४ पुस, धनगढी । कैलालीमा भएको २५ वर्षीय युवकको हत्याबारे प्रहरीले अनुसन्धान गरिरहेका वेला घटनाको ‘जिम्मेवारी’ लिएको एउटा शंकास्पद अडियो बाहिरिएको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक झण्डै तीन मिनेटको अडियोमा मनोज नाम बताउने व्यक्तिले एक जनाको हत्या गरेको खुलाएका छन् । अडियोमा उनले भनेका छन्, ‘एक/दुई दिनमा तपाईं खबर पाइहाल्नुहुन्छ, घाँटी अलग छ, शरीर अलग छ ।’

त्यतिकैमा अर्का व्यक्तिले कसको ? भनेर सोधेका छन् । जवाफमा उनले ‘जसको भएनी अलग छ । यति कुरा बुझ, जसमा कहाँ पुगिसकेँ’ भनेका छन् ।

घटनामा चिनजानकै व्यक्तिको संलग्नता छ, पहिचान भइसक्यो – विश्व अधिकारी, कैलाली प्रहरी प्रमुख

मनोजले घाँटी अलग, शरीर अलग भनेर कुरा गरिरहँदा अन्य व्यक्तिहरु पनि त्यहीँ भएको आवाज सुनिन्छ । एक जना व्यक्तिले आफू हत्यापछि सीमा पारि रुपैडिया पुगिसकेको र बैंग्लोर जाने तयारी गरिरहेको बताएको पनि सुनिन्छ ।

कैलाली प्रहरी प्रमुख एसपी विश्व अधिकारी अडियोबारे छानविन गरिरहेको अनलाइनखबरलाई बताए । उनले अनलाइनखबरसँग भने, ‘यो अनुसन्धानकै क्रममा रहेको विषय हो, यसबारे विस्तृत अनुसन्धानपछि बताउँछौं ।’

प्रहरी स्रोतका अनुसार यो अडियो मृतकको श्रीमतीको मोबाइलबाट बरामद भएको हो । स्रोत भन्छ, ‘कसैले उनलाई पठाएको देखिएको छ, पठाउने व्यक्तिबारे पनि अनुसन्धान भइरहेको छ ।’

जानकी गाउँपालिका–९ को अरावती सामुदायिक वनमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा शनिबार साँझ २५ वर्षीय अर्जुन दासको शव भेटिएको थियो । त्यसपछि उनको कपडा खोलेर त्यसैले शवलाई रुखमा बाँधेको पाइएको थियो ।

प्रहरीले यो घटनामा अर्जुनसँगै काम गर्ने व्यक्तिको संलग्नता हुनसक्ने अनुमान गरेको छ । र, हत्यामा कम्तिमा पनि २ जनाभन्दा बढीको संलग्नता हुनसक्ने बताएको छ ।

कैलालीका एसपी अधिकारीले उनको हत्यामा जानकी गाउँपालिकाकै स्थानीय तथा मृतकका चिनजानकै व्यक्तिको संलग्नता देखिएको र शंकास्पदको पहिचान भइसकेको बताए । उनले भने, ‘दासको हत्यामा ४/५ जनाको संलग्नता छ भन्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ, केहीको पहिचान भइसकेको छ । खोजी कार्य जारी छ ।’

अधिकारीका अनुसार हत्यामा लागूऔषध प्रयोगकर्ताको संलग्नता हुनसक्ने देखिएको छ । एसपी अधिकारीले दास हत्या कारण पनि लागुऔषध नै हुनसक्ने आशंका गरिएको बताए । यद्यपि, शंकास्पद व्यक्ति पक्राउ परेपछि मात्रै यसबारे तथ्य सतहमा आउने उनले बताए ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?