+
+

‘बैंकले आफूखुसी व्याजदर बढाए, केन्द्रीय बैंकले हस्तक्षेप गरोस्’

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ४ गते १८:१३

४ पुस, काठमाडौं । बैंकहरुले ऋणको व्याजदर आफूखुसी बढाएको भन्दै नेपाल उद्योग परिसंघ, एक नम्बर प्रदेशले आपत्ति जनाएको छ ।

केही महिना यता लगानी योग्य रकम (तरलता) अभावको बहानामा बैंकहरुले मनपरी ढंगले व्याजदर बढाएको र यसले उद्योग व्यवसायलाई नकरात्मक असर परेको भन्दै परिसंघले प्रेस विज्ञप्ति नै निकालेर आपत्ति जनाएको हो ।

परिसंघ एक नम्बर प्रदेशका अध्यक्ष भीम घिमिरेले बैंकहरुले आधारदर समेत मनपरी ढंगले तय गरेको भन्दै यसमा केन्द्रीय बैंकले हस्तक्षेप गर्नुपर्ने बताएका छन् । ‘कर्जा प्रवाह गर्दा लागत मूल्यमा सहमति गरिएको आधारदर तथा प्रिमियम बैंकहरुले आफुखुसी पटकपटक वृद्धि गरी पत्र काटेर जर्वजस्ती सहमति गराउन लागिएको छ,’ अध्यक्ष घिमिरेले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो एकदमै आपत्ति जनक कार्य हो, प्रिमियम दर एक पटक कायम भएपछि कर्जाको अवधिसम्म एउटै हुनुपर्छ ।’

बैंकहरु पछिल्लो समय व्यापारी भन्दा पनि बढी नाफाखोर भएको भन्दै विभिन्न बहानामा बढाइएको व्याजदरका विषयमा केन्द्रीय बैंकको हस्तक्षेप जरुरी रहेको घिमिरेले बताएका छन् ।

व्याजदरलाई एकल अंकमा राख्न यस अघि पटकपटक बैंक र उद्योगी व्यवसायीहरुबीच भद्रसहमति समेत भएको उल्लेख गर्दै उनले त्यो कार्यान्वयनमा बैंकहरु गम्भीर हुनुपर्ने बताएका छन् ।

पछिल्लो समय बैंकहरुमा तरलता अभाव हुँदा निक्षेपको व्याजदर बढेको छ । निक्षेपको व्याजदर वृद्धिको असर कर्जाको व्याजदरमा समेत देखिन्छ । निक्षेपको व्याजदर वृद्धिमा बैंकहरु अघिल्लो महिना आक्रामक बनेपछि राष्ट्र बैंकले हस्तक्षेप गर्दै एक पटकमा १० प्रतिशत भन्दा धेरै व्याजदर घटाउन वा बढाउन नपाउने व्यवस्था गरेको छ ।

बैंकहरुले आफूखुसी होइन व्याजदर बढाउन सबै बैंकहरुको औसत व्याजदर हेरेरमात्रै बढाउनु पर्ने व्यवस्था छ । यो व्यवस्था पछि मंसिर महिनाका लागि बैंकहरुले निक्षेपमा १०.०५ प्रतिशत व्याजदर कायम गराएका थिए । पुस महिनामा पनि बैंकहरुले यहीँ व्याजदर कायम गराउने सहमति गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?