+
+

एमाले विनाको सर्वदलीय बैठक : एमसीसीबारे कुन दलको अडान के ?

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ४ गते १८:०५

४ पुस, काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बारे छलफल गर्न बोलाएको सर्वदलीय बैठक विना निष्कर्ष सकिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको बैठकमा प्रमुख विपक्षी नेकपा एमाले सहभागी नै भएन । सत्तारुढ गठबन्धनमा रहेका दलहरुमा पनि एकमत देखिएन । बालुवाटारमा बसेको बैठकमा सबै राजनीतिक दलहरुले आ-आफ्नो धारणा राखेको र यस विषयमा पुनः छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने देखिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

कुन दलको अडान के ?

सर्वदलीय बैठकमा सहभागी नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले एमसीसी सम्झौता खारेज गर्नुपर्ने मत राखेका थिए । राष्टिय जनमोर्चाका प्रतिनिधिले पनि टेबल गर्न पनि नहुने र पास गर्न पनि नहुने मत राखेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङले एमसीसी पास गर्न समर्थन गर्न नसक्ने बताए ।

सत्तारुढ घटक जनता समाजवादी पार्टीका नेताहरु भने विभाजित रुपमा प्रस्तुत भएका थिए । अध्यक्ष उपेन्द्र यादवले हतार गर्न नहुने धारणा राखेका थिए । तर संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो निजी विचार भन्दै एमसीसीमा केही आशंका भएपनि अघि बढाउनुपर्ने बताए । यदि सहमति जुट्दैन भने लोकतान्त्रिक विधिअनुसार पनि अघि बढ्न सकिने उनले बताए ।

बैठकमा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुको धारणा भने समान थियो । एमसीसी सम्झौतामा प्रश्न उठेकाले तथ्यगत छलफल गरेर मात्र निष्कर्षमा पुग्नुपर्ने बताएका छन् । ‘तपाईंहरुले हामीलाई अमेरिकी सहयोग लिनै चाहँदैनन् नभन्नुस्, हामी पनि तपाईहरुले राष्ट्रघात गर्ने नियत राख्नुभयो भन्दैनौं’ माओवादी केन्द्रका एक नेताले बैठकमा भएको छलफलबारे भने, ‘तथ्यगत रुपमा छलफल गरौं । तपाईहरुले सके हामीलाई कन्भिस गर्नुस्, हामीले सके तपाईंहरुलाई कन्सिभ गरौंला ।’

यद्यपि यथास्थितिमा भने एमसीसी सम्झौता अघि बढाउन नहुनु दुबै दलका नेताहरुको जोड थियो ।

बैठकमा सरकारको नेतृत्व गरिरहेको कांग्रेसका नेताहरु भने एमसीसी पास गर्नुपर्नेमा जोड दिएका छन् । एक नेता भन्छन्, ‘संसदमा टेबल गरौं भन्नमा प्रधानमन्त्रीको निकै जोड थियो । अरु नेताहरुले पनि पास गर्नुपर्छ भन्नुभयो ।’

सरकारका प्रवक्ता मन्त्री कार्कीले केही राजनीतिक दलले एमसीसी सम्झौताप्रति आशंका व्यक्त गरेकाले सबै विषयमा छलफल गरेर चाँडै निष्कर्षमा पुग्नुपर्ने बताए । ‘एमसीसीको बारेमा कसरी अगाडि बढाउने भन्ने बारेमा सबै दलले आआफ्नो विचार राख्नुभएको छ । कसैले आशंका व्यक्त गर्नुभएको छ । ती सबै कुरामा फेरि छलफल गरेर चाँडै निष्कर्षमा पुग्नुपर्छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?