
५ पुस, काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले आफ्नो २१ औं वार्षिक साधारणसभा गरेको छ । २१ वर्षअघि नवलपुरको अरुणखोलास्थित जनता माविबाट स्थापना भएको प्रतिष्ठानले संस्थाको स्थापनास्थलमा शुक्रबार र शनिबार सांगीतिक कार्यक्रमसहित साधारणसभा गरेको हो ।
साधारणसभाको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गरेका थिए । उद्घाटन सत्र विद्यालयमा गरिएपनि बन्दसत्र नजिकैको अमलटारी सामुदायिक होमस्टेमा गरिएको थियो ।
साधारणसभाको अवसरमा लोकसंगीतको क्षेत्रमा योगदान पुर्याउने थुप्रै व्यक्तिलाई सम्मान गरिएको थियो । अग्रज लोकसंगीत श्रष्टा राष्ट्रिय सम्मानबाट सुदुरपश्चिमका देउडा गायक नरेन्द्रराज रेग्मीलाई सम्मान गरियो । राष्ट्रिय श्रष्टा सम्मानबाट लोकगायक प्रेमराजा महत र रामप्रसाद खनाललाई सम्मान गरिएको छ ।
यसैगरी सामाजिक सेवा रत्न राष्ट्रिय सम्मानबाट इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेल, लोक पत्रकारिता सम्मानबाट पोखराका पत्रकार राजाराम पौडेल, लोकसंस्कृति विद्यावारिधि सम्मानबाट तुलसी प्रभासलाई सम्मान गरियो । त्यस्तै ‘गार्जेन अफ पेन्डामिक (कोभिड १९)’ बाट समाजसेवी पृथ्वी थकालीलाई सम्मान गरियो । उत्कृष्ट वर्ष सदस्यमा पुरुषतर्फ प्रकाश सपूत र महिलातर्फ सीता रानालाई सम्मान गरियो ।
साधारणसभामा उत्कृष्ट प्रदेश शाखामध्ये लुम्बिनी प्रदेश तथा उत्कृष्ट जिल्ला शाखा मध्येबाट रुपन्देही जिल्ला शाखालाई पुरस्कृत गरिएको थियो । त्यस्तै संस्थापक कार्यसमिति तथा संस्थापक सल्लाहकारसँगै प्रतिष्ठानको स्थापनामा सघाउने तथा २१ औं साधारणसभालाई भव्य बनाउन सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई समेत साधारणसभामा सम्मान गरिएको थियो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँगै नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी, मध्यबिन्दु नगरपालिकाका प्रमुख चन्द्रबहादुर राना, प्रतिष्ठानका वर्तमान अध्यक्ष रमेश बीजी लगायतले खादा, सम्मानपत्रसहित सम्मान गरेका थिए ।
प्रतिष्ठानका संस्थापक अध्यक्ष अम्मर विरही गुरुङ, पूर्वअध्यक्षहरु प्रजापति पराजुली, दुर्गा रायमाझी, पुरुषोत्तम न्यौपाने, चन्द्र शर्मा, बद्री पंगेनी र वर्तमान अध्यक्ष रमेश बीजीलाई पनि सम्मान गर्दै सांस्कृतिक झाँकीसहित बजार परिक्रमा गराइएको थियो ।
साधारणसभामा लोकदोहोरीका चर्चित कलाकारहरुको सांगीतिक प्रस्तुति समेत रहेको थियो । पशुपति शर्मा, कुलेन्द्र विश्वकर्मा, खुमन अधिकारी, रामजी खाँड, प्रकाश सपूत, पुष्कल शर्मा, कुशल वेलवासे, शंकर बीसी, सम्झना लामिछाने, टीका जैसी, अञ्जली अधिकारी, रविना भण्डारी, रीना थापा लगायतले आ–आफ्नो प्रस्तुति दिएका थिए ।
प्रतिष्ठानले जनता माविका लागि २ लाख रुपैयाँको कोष समेत स्थापना गरेको छ । २१ वर्षअघि स्वर्गीय लोकबहादुर क्षेत्रीको स्मृतिमा भएको कार्यक्रमका बेला अरुणखोलास्थित जनता माविमा उपस्थित भएका कलाकारहरुले अमर विरही गुरुङको नेतृत्वमा संस्थापक समिति गठन गरेका थिए । सबै कलाकारलाई प्रतिष्ठानको स्थापना र स्थापनास्थलका बारेमा जानकारी होस् भन्ने उद्देश्यले नवलपुरमा साधारणसभा गरिएको प्रतिष्ठानका अध्यक्ष रमेश बीजी बताउँछन् ।
साधारणसभामा सहभागी हुन प्रतिष्ठानको जिल्ला, प्रदेश, उपत्यका समन्वय समिति, विदेशस्थित समन्वय समितिबाट ३ सय बढी प्रतिनिधि अरुणखोला पुगेका थिए ।
प्रतिक्रिया 4