+
+

अर्जुन दास हत्या प्रकरण : मृतककी श्रीमतीलाई अडियो पठाउने युवक पक्राउ

जनक विष्ट जनक विष्ट
२०७८ पुष ५ गते १५:०९

५ पुस, धनगढी । कैलालीको जानकी गाउँपालिका–९ का २५ वर्षीय अर्जुन दासको हत्याको घटना अनुसन्धानका लागि प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
हत्याको घटनापछि स्थानीय मनोज भण्डारीले पठाएको फोन संवादको अडियो मृतककी श्रीमती धर्मादेवी दासको फेसबुक म्यासेन्जरमा पठाउने युुवक पक्राउ परेका प्रहरीले जनाएको छ ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले ती युवकलाई आइतबार साँझ पक्राउ गरिएको र उनीमाथि अनुसन्धान शुरु गरिएको बताए । तर घटनामा उनको संलग्नताबारे अनुसन्धान भइरहेको भन्दै प्रहरीले नाम सार्वजनिक गरेको छैन ।

घटनामा संलग्नहरुको खोजी भइरहेको एसपी अधिकारीले जानकारी दिए । शुक्रबार साँझ घरबाट हिँडेका दास शनिबार साँझ जानकी गाउँपालिका–९ को अमरावती सामुदायिक वनमा घाँटी काटिएको अवस्थामा मृत फेला परेका थिए ।

दासको हत्या भएको अडियो फेसबुक म्यासेन्जरमा आएपछि अर्जुनकी श्रीमती धर्मादेवी शनिबार बिहान घटनाबारे जानकारी गराउन प्रहरी चौकी अमरावती पुुगेकी थिइन् ।

शव उठाउन सहमत

आक्रोशित स्थानीय वासिन्दाले हत्यामा संलग्नलाई पक्राउको माग गर्दै आइतबार शव उठाउन मानेनन् । सोमबार भने स्थानीय जनप्रतिनिधिहरुको अगुुवाइमा गरिएको छलफलका क्रममा प्रहरीले दोषीलाई शीघ्र पक्राउ गरेर कारवाहीको दायरामा ल्याउने प्रतिबद्धतापछि पीडित पक्ष शव उठाउन सहमत भएको छ ।

जानकी गाउँपालिका-९ का वडाध्यक्ष खकेन्द्र भण्डारीले पीडित पक्ष घटनास्थलबाट दासको शव उठाउन सहमत भएको बताए । उनका अनुसार प्रहरीले अहिले मृतकको शव उठाउने तयारी गरिरहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले पनि पीडित पक्ष शव उठाउन सहमत भएको बताए ।

संघर्ष समिति गठन

अर्जुन दासको न्यायका लागि भन्दै स्थानीय वासिन्दा र आफन्तले ललित परियारको संयोजकत्वमा संघर्ष समिति गठन गरेका छन् । समितिले दोषीलाई कानूनबमोजिम सजाय हुनुपर्ने, पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, परिवारको जीउज्यान सुरक्षाको ग्यारेन्टी हुनुपर्ने माग अघि सारेको छ ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?