
५ पुस, काठमाडौं । चिनियाँ विदेश मन्त्री वाङ यीले अमेरिकासँग स्वस्थ प्रतिस्पर्धा गर्न चीन तयार रहेको बताएका छन् ।
सोमबार एक कार्यक्रममा बोल्दै विदेश मन्त्री यीले अमेरिकासँग आफूहरू प्रतिस्पर्धा गर्न तयार रहेको तर प्रतिस्पर्धा स्वस्थ हुनुपर्ने बताएका हुन् । अमेरिकासँगको सहकार्यलाई चीनले स्वागत गर्ने पनि उनको भनाइ छ ।
त्यस्तै, चीनले अमेरिकासँग समान हैसियतका आधारमा वार्ता गर्न चाहेको पनि यीले बताए । तर आफूहरू द्वन्द्वसँग नडराउने उनको भनाइ थियो ।
यीले अमेरिका-चीन सम्बन्धबाहेक अन्य विषयबारे समेत बोलेको सीजीटीएनले जनाएको छ । उनले ताइवान मुद्दा, अन्तर्राष्ट्रिय न्याय एवं निष्पक्षताको रक्षाका लागि चीनको अग्रसरता, कोभिड-१९ विरुद्ध विश्वव्यापी अभियान र रुससँगको सम्बन्धबारे प्रकाश पारेको समाचारमा उल्लेख छ ।
ताइवान अन्तत: चीनसँग पुनर्एकीकरण हुने यीको धारणा छ । अमेरिकी समर्थनमा ताइवानका अधिकारीले स्वतन्त्रता खोजेको र अमेरिकाले समेत ताइवानलाई गोटी बनाएर चीनलाई घेर्ने नीति लिएका कारण पछिल्लो समय तनाव बढेको पनि उनले बताए ।
‘एक चीन नीतिको मर्मलाई खोक्रो बनाउने प्रयास भइरहेको छ’, यीले भने । तर चीनले यस्ता प्रयासलाई सशक्त रुपमा प्रतिकार गर्ने पनि उनले बताए ।
प्रतिक्रिया 4