+
+

विवेकशील साझाले गर्‍यो संयोजक पाण्डेलाई निष्कासन

विवेकशील साझा पार्टीले संयोजक मिलन पाण्डेलाई निष्कासन गरेको छ । मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टीको सदस्य समेत नरहने गरी पाण्डेलाई निष्कासन गर्ने निर्णय गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ६ गते १९:३६

६ पुस, काठमाडौं । विवेकशील साझा पार्टीले संयोजक मिलन पाण्डेलाई निष्कासन गरेको छ । मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टीको सदस्य समेत नरहने गरी पाण्डेलाई निष्कासन गर्ने निर्णय गरेको हो ।

विवेकशील साझाले पार्टीलाई लेखेको पत्रमा भनिएको छ, ‘तपाईंले प्रयोग गर्दै आउनुभएको पार्टीको नाम, लेटरहेड, छाप, चुनाव चिह्न तथा पार्टीसँग सम्बन्धित कुनै पनि सामग्री आजैका मितिदेखि प्रयोग नगर्न र गरेमा प्रचलित कानुन बमोजिम कारबाही अघि बढाइने जानकारी पनि गराइन्छ ।’

विवेकशील साझामा अध्यक्ष रवीन्द्र मिश्र र संयोजक पाण्डेबीच राजनीतिक कार्यदिशालाई लिएर चर्को विवाद भएको थियो । मिश्रले संघीयता खारेज गर्ने र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्ने प्रस्ताव ल्याएपछि पाण्डेले विरोध गरेका थिए ।

विवाद चलिरहेका बेला मिश्र पक्षले केन्द्रीय समितिको भर्चुअल बैठक गर्दै संयोजकको अधिकार खोसेर अध्यक्षलाई बलियो बनाउने गरी विधान संशोधन गर्‍यो । साथै संघीयता खारेज गर्ने र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्ने प्रस्ताव पास गर्‍यो ।

मिश्र पक्षको निर्णयलाई निर्वाचन आयोगले मान्यता दिएपछि पाण्डे पक्ष अठ्यारोमा परेको थियो । यद्यपि पाण्डे पक्षले समानान्तर गतिविधि जारी राख्यो ।

पार्टी विधान र केन्द्रीय समितिका निर्णयहरू विपरीत गतिविधि गरेको तथा केन्द्रीय समितिको बैठकमा निरन्तर अनुपस्थित भएको भन्दै विवेकशील साझाले २८ मंसिरमा पाण्डेलाई स्पष्टीकरण सोधेको थियो ।

४ पुससम्म जवाफ दिन भनिएकामा पाण्डेले एक दिन ढिला गरी दिएको स्पष्टीकरणमा तथ्यपरक र चित्तबुझ्दो जवाफ नआएको विवेकशील साझाले बताएको छ । पार्टीका निर्णय र नेतृत्वप्रति अनर्गल र भ्रमपूर्ण टिप्पणी जारी राखेको र समानान्तर समिति घोषणा गरेको देखिएकाले कारबाही गरेको विवेकशील साझाले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?