
६ पुस, डोटी । गत आर्थिक वर्षमा सायल गाउँपालिका–४ स्थित डौड स्वास्थ्यचौकीले शतप्रतिशत संस्थागत सुत्केरी गराउन सफल भएको छ ।
स्वास्थ्यचौकी ईन्चार्ज पूर्णिमा चन्दका अनुसार गत आर्थिक वर्षभित्र १९६ जनाले संस्थागत सुत्केरी गराउँदा घरमा सुत्केरी गराउनेको संख्या शून्य रहेको बताइन् ।
सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्यको अवस्था अनुगमन गर्न डौड पुगेको राष्ट्रिय महिला आयोगका सदस्यहरूसहित आईपास नेपाल, सामुदायिक विकास मञ्चको टोलीलाई स्वास्थ्यचौकीको अवस्थाको विषयमा जानकारी गराउँदै चन्दले भनिन्, ‘चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म ७१ जनाले प्रसूति सेवा लिएका छन् । यस आवमा पनि सेवा क्षेत्रभित्र घरमा सुत्केरी गराउने शून्य नै रहेको छ ।’
संस्थागत सुत्केरी, नियमित गर्भ जाँच र आइरन चक्की सेवन गर्नुपर्छ भनेर चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको उनले बताइन् । ‘आमा समूहको प्रत्येक बैठकमा आलोपालो गरी हामी स्वास्थ्यकर्मीहरू जान्छौं’ चन्दले भनिन् ‘महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई पनि नियमित रुपमा परिचालन गरेका छौं ।’
उनले नियमित रुपमा चारपटक गर्भ जाँच गराउने र स्वास्थ्य संस्थामै सुत्केरी हुन आउने महिलालाई गाउँपालिकाले प्रोत्साहन स्वरुप थप ५०० रुपैयाँ दिने गरेकोसमेत जानकारी दिइन् ।
प्रसूतिमा जटिल समस्या भई अन्यत्र रेफर गर्नुपरे स्वास्थ्यचौकीले निःशुल्क एम्बुलेन्स सेवा दिने गरेको ईन्चार्ज चन्द बताउँछिन् ।
प्रतिक्रिया 4