+
+

प्रदेश २ मा कांग्रेस नेतृत्वका लागि आज चुनाव, ७४ पदमा १८० जनाको उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ७ गते ७:५६
सभापति पदका उम्मेदवारद्वय रामसरोज यादव र कृष्णा राय यादव

७ पुस, जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ को नेतृत्वका लागि आज निर्वाचन हुँदैछ । बिहान ८ बजेदेखि निर्वाचन हुने यसअघि कार्यतालिका रहेपनि यो परिवर्तन हुन सक्ने निर्वाचन समितिले जनाएको छ ।

उम्मेदवारी दर्ताको समय राति ८ बजेसम्म राखिएकाले बुधबार बिहान ७ः३० बजेसम्म उम्मेदबारी फिर्ताको समय निर्धारण गरिएको निर्वाचन समितिका अधिकृत प्रह्लाद गौतमले जानकारी दिए । त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेपछि निर्वाचन सुरु हुनेछ ।

निर्वाचनमा दुई प्यानलले उम्मेदवारी दिएका छन् । सभापतिमा रामसरोज यादव र कृष्णा राय यादवले उम्मेदवारी दिएका छन् । प्रदेशका भौतिक पूर्वाधार मन्त्री समेत रहेका रामसरोज नेता विमलेन्द्र निधी निकट हुन् भने कृष्णा पार्टी सभापति शेरबहादुर देउवा निकट हुन् ।

रामसरोजलाई निधीका साथै डा. शेखर कोइराला समूहले समेत समर्थन गरेका छन् । निधी र कोइराला समूहबाट रामसरोजको प्यानल तयार भएको छ ।

रामसरोजको प्यानलबाट उपसभापतिमा रौतहटका धनलाल ठोकर र सर्लाहीका बिनोद खनालले उम्मेदवारी दिएका छन् । महामन्त्रीमा प्रदेश सांसद समेत रहेका सिरहाका नेता नरेश यादव र सर्लाहीका हरेस महतोले उम्मेदवारी दिएका छन् ।

सहमहामन्त्रीमा पर्साका अरबिन्द अमात्य, महोत्तरीका विनोद यादव र महिला सहमहामन्त्रीमा बाराकी निर्मला सुवेदीले उम्मेदवारी दिएका छन् ।

कृष्णा यादवको प्यानलबाट उपसभापतिमा बाराका चन्द्रशेखर यादव र प्रदेशका महिला बालबालिका, युवा तथा खेलकुद मन्त्री समेत रहेका सर्लाहीका नेता वीरेन्द्र सिंहले उम्मेदवारी दिएका छन् ।

सिरहाका उपेन्द्र यादव र पर्साका बृहस्पतिकुमार श्रेष्ठले महामन्त्रीमा उम्मेदवारी दिँदा सहमहामन्त्रीमा सप्तरीका पर्शुराम चौधरी, बाराका जयनारायण यादव र महिला सहमहामन्त्रीमा सप्तरीकी रिता यादवले उम्मेदवारी दिएका छन् । सहमहामन्त्रीमा उम्मेदवारी दिएका पर्शुराम सप्तरीको अग्निसाइर कृष्णासावरण गाउँपालिकाका अध्यक्ष समेत हुन् ।

निर्वाचन समितिका सदस्य अरुण यादवका अनुसार ७४ पदका लागि १ सय ८० जनाको उम्मेदवारी परेको छ ।

आ–आफ्ना उम्मेदवारलाई जिताउनका लागि नेताहरु जनकपुरधाम आएका छन् । देउवा प्यानललाई जिताउन गृहमन्त्री बालकृष्ण खाँण पछिल्लो तीन दिनदेखि जनकपुरधाममा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?