+
+

युरोपमा ओमिक्रोन भेरियन्ट : फेरि प्रतिबन्धात्मक नियम घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ७ गते ११:५५

७ पुस, काठमाडौं । युरोप महादेशमा नयाँ ओमिक्रोन भेरियन्ट फैलिने क्रम जारी रहेका बेला नेताहरूले कोभिड-१९ सम्बन्धी प्रतिबन्धात्मक नियम पुन: लागू गर्ने घोषणा गरेका छन् ।

युरोपका कैयौं मुलुकमा ओमिक्रोन प्रमुख भेरियन्टको रुपमा देखा परेको छ । यसैबीच जर्मनी र पोर्चुगलसहितका मुलुकमा क्रिसमसपछि सामाजिक दूरीसहितका नियममा कठाइ गरिने भएको छ ।

जर्मनीले २८ डिसेम्बरपछि व्यक्तिगत जमघटलाई १० जना मानिसमा मात्रै सीमित पार्ने र नाइट क्बल बन्द हुने घोषणा गरेको छ । उक्त मितिदेखि फुटबल प्रतियोगिता बन्द स्थलमा मात्रै गर्न पाइने भएको छ ।

पोर्चुगलले समेत डिसेम्बर २६ देखि बार र नाइट क्लब बन्द गर्न आदेश दिएको छ । जनवरीसम्म घरमै बसेर काम गर्नुपर्ने नियमलाई अनिवार्य बनाइएको छ भने बाहिर हुने जमघटमा १० जनाभन्दा बढी मानिस भेला हुन पाउने छैनन् ।

स्विडेनमा बुधबारदेखि बार, क्याफे र रेष्टुरेन्टमा बसिरहेका पाहुनालाई मात्रै सेवा उपलब्ध गराइने भएको छ भने संभव भएसम्म घरमै बसेर काम गर्न भनिएको छ । त्यहाँकी स्वास्थ्यमन्त्री लिना हलेनग्रेनले ओमिक्रोनका संक्रमित फैलिन सक्ने भन्दै स्वास्थ्य सेवामा चाप बढिरहेको बताएकी छन् ।

नेदरल्याण्डले सोमबार नै कडा लकडाउन गर्ने घोषणा गरिसकेको छ । तर अन्य युरोपेली नेताले क्रिसमस र नयाँ वर्षपछि आवश्यक परेको खण्डमा लडडाउन लगाउन चाहेको बीबीसीका संवाददाता निक बिकले बताए ।

यसैबीच, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का वरिष्ठ अधिकारीले ओमिक्रोनको बढ्दो संक्रमणले स्वास्थ्य प्रणालीलाई धरासायी बनाउन सक्ने चेतावनी दिएका छन् ।

युरोपका लागि डब्ल्यूएचओका क्षेत्रीय निर्देशक हान्स क्लुगेले अर्को लहर आउँदै गरेको भन्दै संक्रमण व्यापक बढ्ने र यसका लागि सरकारले तयारी गर्नुपर्ने बताए । ‘हामीले अर्को आँधीमय लहर आइरहेको देख्न सक्छौं’ जेनेभामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?