+
+
ब्लग :

महाधिवेशनको उत्साहसँगै कांग्रेसको अबको यात्रा

२०७४ सालमा सम्पन्न भएको संसदीय निर्वाचनमा पहिलो जनमत प्राप्त कम्युनिष्ट पार्टीले राष्ट्रको शासकीय सत्ता सम्हाल्न नसकेर प्रमुख प्रतिपक्षमा रहेको कांग्रेसले सत्ताको बागडोर सम्हाल्नु परेको छ । यसले देशको प्रमुख राजनैतिक शक्तिहरूलाई गोलबद्ध गरेर जिम्मेवार र नेतृत्वदायी भूमिका निर्वाह गर्नुपरेको छ ।

नवराज तिमल्सिना नवराज तिमल्सिना
२०७८ पुष ९ गते १०:३१

नेपाली कांग्रेसले आफ्नो १४औं महाधिवेशन भर्खरै सम्पन्न गरेको छ । २०७२ सालमा १३औं महाधिवेशन सम्पन्न गरेपश्चात् कांग्रेसले आफ्नो विधान बमोजिमको चारवर्षे कार्यकाल पूरा गरेर दुई वर्षअघि नै यो महाधिवेशन गरिसक्नुपर्थ्यो । तर, विश्वव्यापी रूपमा फैलिएको कोभिड-१९ को महामारीको असर, क्रियाशील सदस्यता वितरणमा ढिलासुस्ती, नेतृत्वको इच्छाशक्तिको कमि लगायत कारणहरूले गर्दा तोकिएको समयभन्दा झण्डै दुई वर्षपछि पार्टीले सम्पन्न गरेको छ ।

कांग्रेस नेपालको प्रमुख राजनीतिक दलमध्येको सबैभन्दा जेठो लोकतान्त्रिक राजनीतिक दल हो । त्यसैले पनि यस महाधिवेशनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट विशेष चासोका साथ हेरिएको थियो । यसलाई लोकतान्त्रिक प्रक्रिया मार्फत आमनागरिकको पर्यवेक्षणमा सम्पन्न गरेर कांग्रेसले लोकतन्त्रप्रतिको आफ्नो आस्था र निष्ठालाई पुनः प्रमाणित गरेको छ ।

तीन महीनाअघि भदौ १८ गतेदेखि वडा अधिवेशनबाट शुरू भएको पार्टीको १४औं महाधिवेशन वडा अधिवेशन, गाउँ/नगरपालिका अधिवेशन, प्रदेशसभा क्षेत्रीय अधिवेशन, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, जिल्ला अधिवेशन, प्रदेश अधिवेशन हुँदै केन्द्रीय महाधिवेशनसम्म आइपुग्दा प्रत्यक्ष रूपमा सहभागी भएका नेपाली कांग्रेसका ९ लाख क्रियाशील सदस्य तथा अप्रत्यक्ष रूपमा सहभागी कांग्रेसका लाखौं सदस्य एवं पार्टीका शुभचिन्तक लगायत सहभागी रहे । एउटा ठूलो पंक्ति सक्रिय रह्यो । यसले सिंगो कांग्रेसलाई उत्साहित बनाएको छ ।

२०७४ सालमा सम्पन्न भएको संसदीय निर्वाचनमा पहिलो जनमत प्राप्त कम्युनिष्ट पार्टीले राष्ट्रको शासकीय सत्ता सम्हाल्न नसकेर प्रमुख प्रतिपक्षमा रहेको कांग्रेसले सत्ताको बागडोर सम्हाल्नु परेको छ । यसले देशको प्रमुख राजनैतिक शक्तिहरूलाई गोलबद्ध गरेर जिम्मेवार र नेतृत्वदायी भूमिका निर्वाह गर्नुपरेको छ ।

लोकतन्त्रमा राजनीतिक दलका हरेक क्रियाकलाप उसको आन्तरिक विषय मात्र हुँदैन किनकि उसले गर्ने हरेक क्रियाकलापले देशको नागरिकसँग पनि प्रत्यक्ष सरोकार राख्दछ । त्यसैले यो महाधिवेशन पार्टीको आन्तरिक विषय भए पनि यसबाट निस्किने परिणामले समग्र देशको भविष्यलाई प्रभावित गर्दछ । त्यसैले पनि नेपाली नागरिक तथा अन्तर्राष्ट्रिय समुदायले यस महाधिवेशनलाई ध्यानपूर्वक नियालिराखेका थिए । यस महाधिवेशनले कांग्रेसको आन्तरिक लोकतन्त्र थप मजबूत भएको छ भने पार्टीका कार्यकर्ताहरूलाई थप जिम्मेवार बनाएको छ ।

कांग्रेस महाधिवेशन देशको राष्ट्रिय राजनीति तरंगित अवस्थामा रहेको समयमा सम्पन्न भएको छ । २०७४ सालमा सम्पन्न भएको संसदीय निर्वाचनमा पहिलो जनमत प्राप्त कम्युनिष्ट पार्टीले राष्ट्रको शासकीय सत्ता सम्हाल्न नसकेर प्रमुख प्रतिपक्षमा रहेको कांग्रेसले सत्ताको बागडोर सम्हाल्नु परेको छ । यसले देशको प्रमुख राजनैतिक शक्तिहरूलाई गोलबद्ध गरेर जिम्मेवार र नेतृत्वदायी भूमिका निर्वाह गर्नुपरेको छ ।

जनताले विश्वास गरेर आफ्नो अमूल्य मत प्रदान गरी सत्तामा पुर्‍याएको कम्युनिष्ट पार्टीले जनअपेक्षा अनुसार सरकार सञ्चालन गर्न नसकेर छिन्नभिन्न अवस्थामा पुगेपछि निराश भएका आमनागरिक कांग्रेसको यो महाधिवेशनबाट केन्द्रीय नेतृत्वमा चयन भएका युवाको मुहारले राष्ट्रिय राजनीतिमा पार्ने सकारात्मक प्रभावलाई आकलन गरेर केही आशावादी देखिएका छन् । भलै आम जनताको त्यो आशालाई निराशामा परिणत हुन नदिन नेतृत्व तहमा पुगेका नेताहरूको भूमिका मुख्य जिम्मेवार हुन्छ । उनीहरूको पहिलो भूमिका पार्टीलाई विधानसम्मत सञ्चालन गर्ने र जनचाहना बमोजिम राष्ट्रिय राजनीतिलाई मार्गनिर्देश गर्ने पार्टीको नीति अवलम्बन गरेर त्यसको सफल कार्यान्वयन गर्नु हो ।

१४औं महाधिवेशनबाट निर्वाचित वडा तहदेखि केन्द्रीय तहसम्मको कार्यसमितिको पहिलो जिम्मेवारी भनेकै निकट भविष्यमै हुन लागेको देशको तीनवटै तहका निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टीको रूपमा स्थापित गराउनु हो । कांग्रेसका ९ लाख क्रियाशील सदस्यहरूलाई परिचालन गरी पार्टीको नीतिलाई जनसमक्ष पुर्‍याएर आम मतदातालाई कांग्रेसले आगामी निर्वाचनपछि कुनै पनि तहको सरकारको नेतृत्व गरिरहँदा पार्टीले अख्तियार गर्ने कार्ययोजनाका बारेमा आश्वस्त बनाउनुपर्छ ।

त्यसका लागि अधिवेशनमा गरिएको प्रतिस्पर्धाका सिलसिलामा उत्पन्न वैमनस्यता, प्रतिशोध, बदलाभाव र तिक्ततालाई बिर्सनुपर्छ । ती नितान्त पार्टीको आन्तरिक अधिवेशनमा भएका क्रियाकलापहरू थिए । अब पार्टीको सर्वोपरि हितलाई मध्यनजर गरेर प्रतिस्पर्धी राजनीतिक शक्तिसँग जुध्न एकढिक्का भएर जनतामा प्रस्तुत हुनुपर्छ । यो भावना पार्टीका सबै तहका सदस्यहरूलाई आत्मबोध गराई निर्वाचन महाअभियान कार्यक्रम अगाडि बढाउनुपर्दछ ।

पार्टीभित्र बहस तथा छलफल र समन्वय गर्दै त्यस अभियानमा पार्टीलाई हिंडाउन पहिलो अग्रसरता अधिवेशन मार्फत तहगत कार्यसमितिमा चयन भएका नेतृत्व वर्गले लिनुपर्दछ । पार्टीको आन्तरिक अधिवेशनमा सहभागी भई पार्टीभित्रको जिम्मेवारी बहन गर्न आफूले चाहना गरेको पदमा आफूसँग प्रतिस्पर्धा गरेका सक्षम व्यक्तिहरूलाई संगठनमा सँगै लिएर अघि बढ्ने वातावरण निर्माण गर्ने जिम्मेवारी पनि नेतृत्व तहकै हो ।

यसरी नै प्रतिस्पर्धी व्यक्तिले अधिवेशनको प्रक्रिया पार गरिसकेपछि संगठन निर्माणका लागि सबै उत्तिकै जिम्मेवार हो भन्ने सोचेर सांगठनिक क्रियाकलापलाई अगाडि बढाउने हो भने आगामी निर्वाचनमा कांग्रेस तीन वटै तहमा पहिलो पार्टीका रूपमा स्थापित हुन सक्छ ।

पार्टीको आदर्श, विचार, सिद्धान्त, नीति तथा कार्यक्रमलाई जनताका बीचमा स्पष्टसँग राखेर देश विकासमा जनताको स्वस्फूर्त सहभागिता गराउनुपर्छ । यसका लागि पार्टीका तहगत कार्यसमिति मार्फत जनताका घरदैलोमा पुगेर अन्तरक्रियात्मक कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ । त्यहाँबाट आएका विचारलाई समेटेर पार्टीको राष्ट्रिय नीति तर्जुमा गरी कार्यान्वयन गर्ने विधि बनाउँदै अगाडि बढ्नुपर्छ ।

देशमा राजनीतिक स्थायित्व कायम गर्दै देश विकास र जनताको आर्थिक समृद्धिको स्पष्ट मार्गचित्र लिएर देशव्यापी रूपमा पार्टीलाई परिचालन गर्नुपर्छ । निर्वाचन हुनुअघि आम मतदातालाई आगामी निर्वाचनमा कुन पार्टीलाई भोट हाल्ने भन्ने प्रश्न जन्मिन्छ । त्यस्तो अवस्थामा कांग्रेसलाई किन भोट हाल्ने भन्ने प्रश्न पनि आउँछ । निर्वाचन अघि आफूपक्षीय जनमत तयार पार्न भर्खरै सम्पन्न महाधिवेशनको उत्साहसँग जोडेर कार्यक्रम अगाडि बढाउनुपर्छ ।

(लेखक नेपाली कांग्रेस धादिङका जिल्ला सह-सचिव हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?