+
+

मुस्लिममाथि हिंसाको अपिल गर्ने हिन्दु नेताहरूविरुद्ध मुद्दा दर्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ९ गते १६:५६

९ पुस, काठमाडौं । भारतको उत्तराखण्ड राज्यमा मुस्लिम समुदायमाथि हिंसा गर्नुपर्छ भन्दै हिन्दू नेताहरूले अपिल गरेपछि उनीहरूविरुद्ध मुद्दा दर्ता गरिएको छ ।

एक कार्यक्रममा सहभागी हिन्दू नेताहरूले मुस्लिम समुदायमाथि हिंसा गर्नुपर्ने अपिल गरेपछि उत्तराखण्ड प्रहरीले बिहीबार मुद्दा दर्ता गरेको हो । प्रहरीले हालसम्म कसैलाई पक्राउ गरेको छैन। उनीहरुविरुद्ध दर्ता गरिएको मुद्दामा एक पुरुषको नाम मात्रै उल्लेख छ ।

मुद्दामा इस्लाम धर्म त्यागेर हिन्दू धर्म अँगालेका र हाल नाम परिवर्तन गरी जितेन्द्र नारायण त्यागी बनेका वासीम रिज्वीको नाम उल्लेख गरिएको बीबीसीले जनाएको छ । त्यागीसहित नाम नखुलाइएका अन्य व्यक्तिविरुद्ध धार्मिक समुदायबीच घृणा फैलाएको आरोपमा मुद्दा दर्ता गरिएको प्रहरीको भनाइ छ ।

तर, सामाजिक सञ्जाल प्रयोगकर्ताले भिडियोमा बोलेका मानिसको पहिचान गरेका छन् । मुस्लिमको नरसंहार गर्नुपर्ने अभिव्यक्ति दिएका व्यक्तिहरू प्रधानमन्त्री एवं भाजपाका अन्य मन्त्रीसँग प्राय: देखिँदै आएका महत्त्वपूर्ण धार्मिक अगुवाहरू रहेका छन् ।

हरिद्वारमा सम्पन्न कार्यक्रमका एक आयोजक प्रमोदानन्द गिरी भाजपाका नेतासँग देखिँदै आएको भारतीय समाचार माध्यमले जनाएका छन् । कार्यक्रममा बोल्ने क्रममा गिरीले सेना, राजनीतिज्ञ र हिन्दूहरूलाई म्यानमारमा झैं मुस्लिममाथि हिंसा गर्न भनेका थिए ।

डिसेम्बर १७ देखि १९ गतेसम्म पवित्र नगर हरिद्वारमा आयोजित एक धार्मिक सम्मेलनमा हिन्दू नेताहरूले मुस्लिमको नरसंहार गर्नुपर्ने अभिव्यक्ति दिएका थिए । मुस्लिम समुदायले उक्त अभिव्यक्तिको निन्दा गरेका छन् ।

हिन्दू नेताहरूले उक्साहटपूर्ण अभिव्यक्ति दिएको भिडियो सार्वजनिक भएपछि भारतभर आक्रोश व्यक्त भइरहेको छ । सन् २०१४ मा भाजपा सरकारमा आएदेखि मुस्लिमसहित अन्य अल्पसंख्यक समुदायविरुद्ध घृणायुक्त अभिव्यक्ति बढेको अधिकारीकर्मीको भनाइ छ ।

सत्तासीन दलका नेताको समर्थन पाएका कारण हिन्दू अतिवादीले अल्पसंख्यक समुदायविरुद्ध अभिव्यक्ति दिएको आलोचनाहरू बताउँछन् । बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?