+
+

‘त्यसबेलासम्म नेपाल टेलिभिजनले दोहोरीगीत भनेकै बुझ्दैनथ्यो’

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १० गते ७:०७

१० पुस, काठमाडौं । त्यो आधुनिक र पप संगीतले बजार पिटेको समय थियो । जनमानसमा लोकभाकाप्रति उस्तो रुचि थिएन । यही समयमा दौरा सुरुवाल र ढाका टोपीमा ठाँटिएका हँसमुख रामप्रसाद खनाल ‘लोकदोहोरी’ कार्यक्रमका साथमा प्रस्तुत भए, नेपाल टेलिभिजनमा ।

टेलिभिजनमा यो कार्यक्रम असाध्यै लोकप्रिय भयो । कार्यक्रम छायांकनका लागि जिल्ला-जिल्लाबाट अनुरोधको लहर नै आउन थाल्यो । झन्डै एक दशकसम्म टेलिभिजनमा यो कार्यक्रम अविच्छिन्न जारी रह्यो । कार्यक्रम चर्चाको उत्कर्षमा रहेकै बेला प्रस्तोता रामप्रसाद खनाल भने अमेरिका भासिए ।

गायक, साहित्यकार, कलाकारसँगै पत्रकारका रूपमा ‘भर्सटायल’ व्यक्तित्वको छवि बनाएका खनाल २०६४ सालयता भने अमेरिका बस्दै आएका छन् । नेपाल छाडेर विदेशमा बस्न थालेपछि आफ्नो करियरलाई निरन्तरता दिने कमै पाइन्छ । ती कममध्येका एक प्रतिभा मानिन्छन् लोकगायक खनाल । त्यहाँ रहेर पनि उनले आफ्नो गायन, साहित्य, पत्रकारिता यात्रालाई निरन्तरता दिइरहेका छन् ।

उनै खनाल यतिबेला नेपालमा छन् । अनलाइनखबरका लागि सुशील नेपालसँगको कुराकानीमा उनले आफ्नो गायन यात्रा र सोही लोकप्रिय कार्यक्रम ‘लोकदोहोरी’बारे झण्डै अढाइ दशक अगाडिका सन्दर्भ र अनुभूतिहरू स्मरण गरेका छन् ।

पछिल्लो समय लोकदोहोरी कलाकारहरू चर्चित र भाइरल हुने लिगलिगे स्पर्धामा दौडिएको बुझाइ छ उनको । ‘हामीले साना दुःखले लोक र दोहोरी गीतलाई यहाँसम्म ल्याएका होइनौं,’ चेतावनीको शैलीमा उनले भने, ‘कृपया, त्यो बेलाको हाम्रो खुन र पसिनामाथि कसैले रजाइँ नगरोस् र हाम्रो खुन र पसिनामाथि कसैले बदनियत नराखिदेओस् । कसैले यो क्षेत्रलाई बदनाम नगरिदेओस् ।’

प्रस्तुत छ उनै खनालसँग गरिएको कुराकानीको सम्पादित अंश ।

यसपटक नेपाल आगमनको सन्दर्भ के हो ?

म छोरा र छोरीको विवाहको लागि नेपाल आएको हुँ । विवाह सम्पन्न भैसक्यो ।

कस्तो रह्यो छोराछोरीको विवाह ?

छोराछोरी १४ वर्ष अमेरिकामा बसे । दुई वर्ष अगाडि छोराको व्रतबन्ध पनि नेपाल आएर, नेपाली संस्कृतिअनुसार गरेँ । अहिले छोरा-छोरीको विवाह पनि टिपिकल नेपालीपनमा रहेर गरेँ । कुनै पनि चिज मैले नेपाली संस्कृतिलाई नाँघेर गरिनँ । यद्यपि, नेपाली संस्कृतिमा भएका कतिपय कुराहरू गरिनँ । जस्तो, कन्यादान भनेर छोरीलाई दान गर्ने शब्दसँग मेरो फरक मत थियो । त्यसकारण मैले छोरीलाई कन्यादान गरेर दिइनँ । बुहारी ल्याउँदा पनि तपाईंहरूले कन्यादान नगर्नुस् है भनेँ । हामीले नगद, जिन्सी वा अन्य कुनै पनि प्रकारको उपहार लिएनौं, दिएनौं । कलाकार, पत्रकार साथीहरू सबैले एकदमै उदाहरणीय विवाह गरिदिनुभयो भन्नुभयो ।

नेपाल अझै कति समय बस्नुहुन्छ ?

दुई हप्ता पक्कै बस्छु । ७ वटा गीतहरू रेकर्ड गर्ने तयारीमा छु । म सबै फ्लेवरका गीत लेख्छु, गाउँछु । यसपटक पनि लोकगीत, दोहोरी गीत, भजन इत्यादि छन् ।

तपाईंका गीतहरू बजारमा नआएको कति भयो ?

दुई वर्ष अगाडि आएर ५ वटा गीत ल्याएर फर्किएको थिएँ । अमेरिकामा प्रविधि राम्रो छ, टेक्निसियन छैनन् । जस्तो कि स्टुडियोहरू, रेकर्डिङ सिस्टम अत्याधुनिक छ । तर, हामीलाई त नेपाली लय, नेपाली संगीत, नेपाली वाद्यवाधन बुझ्ने टेक्निसियन चाहिन्छ । त्यो कुराको अभाव छ, त्यसकारण मैले अमेरिकामा भन्दा नेपालमै आएर रेकर्ड गर्छु । नेपालमा रेकर्ड गर्दा नेपालीपन हुन्छ । यहाँ मैले चाहेको बाजा हाल्न पाउँछु । मैले चाहेको रेकर्डिष्ट, म्युजिक एरेन्जर, स्टुडियो इत्यादि छान्न पाउँछु ।

त्यो भन्दैमा त्यता रेकर्ड गर्दिनँ भनेको होइन, तर त्यहाँ आफूले चाहेजस्तो गीत बनाउन सकिँदैन् । त्यता रेकर्ड गरेका गीतहरू आफैंलाई पनि चित्त बुझ्दैन् । अहिले २ वर्षको अन्तरालपछि मैले नयाँ गीत ल्याउन लागेको हुँ । कोभिडका कारण २ वर्ष अन्तर भएको हो । नत्र, अझ चाँडो मेरा नयाँ गीतहरू आउँथे ।

अमेरिका रहे पनि गीतसंगीतलाई निरन्तरता दिइरहनुभयो है ?

यसपालि कोभिडका कारण एकवर्ष बढी ग्याप भएको हो । वर्षको एउटा-दुईवटा गीत ल्याउनु नै निरन्तरता हो, मैले त वर्षमा ७-८, १० वटासम्म पनि गीत ल्याइरहेको हुन्छु ।

बाल्यकालतर्फ फर्किऔं न ! कस्तो वातावरणमा हुर्किनुभयो ? गीतसंगीतले कसरी तान्यो ?

गुल्मीको धरंपानी, मैनडाडाँमा मध्यमवर्गीय परिवारमा जन्मिएको हुँ । म जान्ने भएदेखि नै गीत गाउन थालेँ । अभिभावकका अनुसार म बच्चैमा पनि नाँच्ने गाउने गर्थें रे ! गीतसंगीत भनेपछि बढी फुरुक्क हुन्थेँ रे । २ कक्षामा पढ्दादेखि गीतसंगीत र कवितातिर रुचि राख्न थालेँको थिएँ । बिस्तारै गाउने, वतृत्वकला, कविता प्रतियोगितालगायतका कार्यक्रममा भाग लिन थालेँ । विभिन्न गायन र कवितालगायतका प्रतियोगितामा जान थालेँ ।

मादल बसेको सुन्नेबित्तिकै मन दौडिहाल्थ्यो । म र मेरो दिदी घरमा आमालगायत अरु सबै सुतेपछि लुकेर पनि गाउँको सांगीतिक कार्यक्रममा पुग्थ्यौं । तीज र अन्य सांगीतिक कार्यक्रममा लुकेर जान्थ्यौं र लुकेरै आउँथ्यौं । नशा-नशामा गीतसंगीत थियो । बुबा आसाम राइफलमा हुनुहुन्थ्यो । आमा, दाइले गीतसंगीतमा लागेका मन नपराउने भएकोले त्यसरी नाँच्ने-गाउनेतिर जान दिनुहुँदैनथ्यो । बाहुनको छोरो भएर नाँच्न-गाउन हुन्छ ? भन्नुहुन्थ्यो ।

हाइस्कूल पढ्न घरदेखि केही टाढा विभिन्न विद्यालयका प्रतियोगितामा भाग लिन जिल्ला, अञ्चल, केन्द्रसम्म पुगेँ । अधिकांश प्रतियोगितामा हामी प्रथम हुन्थ्यौं ।

गीत/संगीततिर ठ्याक्कै चाहिँ के कुराले आकर्षित गरेजस्तो लाग्छ ?

मलाई विश्वास छ- गीतसंगीत र रचना गर्ने शक्ति भगवानले दिने उपहार रहेछ । यस्तो उपहारलाई हामीले अलिकति सुधार्न, बनाउन, व्यवस्थित गर्नचाहिँ सकिन्छ । जसको स्वर नै राम्रो छैन उसले गाउन खोजेर त भएन ! जसलाई गीत लेख्नै आउँदैन त्यो गीतकार बनेर त भएन । जसलाई संगीत गर्न आउँदैन त्यो संगीतकार बनेर त भएन । मेरो सन्दर्भमा पनि ‘गर्ड गिफ्ट’ हो । अर्को गाउँठाउँको परिवेशले पनि हो । त्यो क्षेत्र दोहोरी गीतको खानी नै हो । त्यहाँ जन्मिसकेपछि, हुर्किसकेपछि परिवेशले नै गीतसंगीतमा तान्छ जस्तो लाग्छ ।

मेरो सन्दर्भमा अर्को श्रेय हाइस्कूलका गुरु नारद गौतमलाई दिन चाहन्छु । उहाँले मेरो गीत, कविता, मैले वतृत्वकलामा गर्ने भाषणहरूमा हौसला दिने, सिकाउने गर्नुहुन्थ्यो । उहाँले मलाई सिर्जनालाई माझ्न सिकाउनुभयो ।

पहिले त गीत गाउन रेडियो नेपालबाट स्वर परीक्षा पास गर्नुपर्थ्यो । स्वर परीक्षा पास गरेपछि बल्ल गायक भइन्थ्यो । तपाईंले स्वर परीक्षा कहिले पास गर्नुभयो ?

सो समय रेडियो नेपालमा गएर एउटा गीत गाउन पाए कस्तो हुन्थ्यो भन्ने हुन्थ्यो । रेडियो नेपालमा छिर्ने भनेकै ठूलो कुरा थियो ।मैले २०४४ सालमा रेडियो नेपालबाट स्वर परीक्षा पास गरेर गीत गाउन थालेको हुँ । शुरुमा प्रारम्भिक श्रेणीमा पास गरेको म घ, ग, ख, क श्रेणी हुँदै अहिले विशिष्ट श्रेणीमा पुगेको छु । अब फेरि प्रमोशनको बेला भएको छ । रेडियो नेपालले गर्ने स्तर निर्धारण र श्रेणी नै नेपाल सरकारको अहिलेसम्मको मापदन्ड मानिन्छ ।

पहिलो गीत कहिले रेकर्ड गर्नुभयो ?

स्वर परीक्षा पास गरिसकेपछि २०४४ सालमै प्रतियोगितामा गाइयो । पहिलो गीत भने २०४६ सालमा रेकर्ड भयो ।

गीत कुन थियो, याद छ ?

‘तिमीलाई नै सम्झेर आँशु मेरो झरेछ’ भन्ने आधुनिक गीत थियो । आधुनिक गीतको राष्ट्रिय सम्मेलन थियो, सो कारण पहिलो गीत आधुनिक गाएँ । राष्ट्रिय सम्मेलनमा गाएका उत्कृष्ट गीतहरू पछि रेडियो नेपालले रेकर्ड गरेर बजायो ।

तपाईंलाई टेलिभिजनमा लोकदोहोरी भित्र्याउने र त्यसको क्षेत्र विस्तारको श्रेय दिइन्छ । त्यो परिवेश स्मरण गरिदिनुस् न !

रेडियो नेपालमा पुरुषोत्तम दाहालले सञ्चालन गर्नुभएको ऐतिहासिक कार्यक्रम ‘घटना र विचार’सँग जोडिएको थिएँ । पहिलोपटक रेडियोमा लाइभ रिपोर्टिङ गर्न दिनुभएकोले उहाँलाई म रेडियोतर्फको आफ्नो गुरु मान्छु । पछि रेडियो नेपालमा कार्यक्रम सञ्चालक, निर्माता, निर्देशक भएर काम गरेँ ।

समसामयिक विषयको कार्यक्रम ‘नेपालको सेरोफोरो’ चलाउँथेँ । यही सन्दर्भमा २०५४ मा नेपाल टेलिभिजनमा बोलाइयो । त्यहाँ गएर कार्यक्रम निर्माता, निर्देशक, सञ्चालक तीनवटै भएर काम गरेँ । रेडियोको ‘नेपालको सेरोफोरो’ कार्यक्रम टेलिभिजनमा पनि चलाएँ । अर्को विद्युत भन्ने कार्यक्रम र ‘लोकदोहोरी’ पनि चलाएँ । त्यही लोकदोहोरी कार्यक्रमका उत्पादनहरू आज राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा छाइएका छन् ।

तर, लोकदोहोरी कार्यक्रम चलाउनुअघि दोहोरी गीत त परै छाड्दिऔं, टेलिभिजनले लोकगीत भनेकै बुझ्दैनथ्यो । गीतै गीतमा प्रश्नोत्तर हुन्छ भन्दा टेलिभिजनको तत्कालीन व्यवस्थापनमा त्यस्तो पनि हुन्छ भन्नुहुन्थ्यो । थाहै थिएन । त्यो बुझाइलाई चिरेर हामीले नै टेलिभिजनमा लोकदोहोरीलाई स्थापित गराएका हौं ।

कार्यक्रम सुरु गर्दै गर्दा कत्तिको चुनौती महसुस गर्नुभएको थियो ? अनि कार्यक्रम कसरी लोकपि्रय हुँदै गयो ?

एकदमै । त्यतिबेला मैले गरेको अध्ययनमा नेपाल अधिराज्यभर मसहित ११ जनामात्रै लाइभ दोहोरी गाउन सक्ने व्यक्ति भेटेको थिएँ । गाउँ-गाउँमा रोधी बस्ने चलन भएकोले मलाई आशा भने थियो । अर्को कुरा भनौं, नेपाल टेलिभिजनमा राती १० बजे अंग्रेजीमा समाचार बजेसँगै सवा १० मा प्रशारण बन्द हुन्थो । मैले व्यवस्थापनलाई च्यालेन्ज गरेर मलाई सबैभन्दा ‘अड टाइम’ दिनुहोस् मेरो ‘पर्फमेन्स’ले देखाउँछु भनेको थिएँ । अनि उहाँहरूले दिनुभएको टेलिभिजन बन्द हुने समयमा सवा १० बजे लोकदोहोरी कार्यक्रम प्रशारण शुरु गर्‍यौं ।

म आफै जिल्ला-जिल्ला, गाउँ गाउँ गएर दोहोरी गाउन सक्ने प्रतिभाहरू खोज्न थालेँ । खोज्दा खोज्दा धेरै प्रतिभावान व्यक्तिहरू भेट्टाएँ । कतिपय गाउँमै पनि छायाँकन गर्थे, कतिलाई काठमाडौं ल्याएर छायाँकन गर्थ्यौं ।

४ हप्तापछि दर्शकका चिठी र फोन प्रशस्तै आउन थाले । विज्ञापनदाहरू पनि प्रायोजनका लागि प्रतिस्पर्धा गर्न थालेपछि एक वर्ष भित्रै नेपाल टेलिभिजन कार्यक्रमलाई प्राइम टाइममा लैजान बाध्य भयो । एक महिनापछि चार महिना बेलुका ६ः ३० बजे, त्यसपछि ७ बजे, त्यसपछि साढे ७ बजे प्रशारण हुन थाल्यो । साढे ७ भनेको टेलिभिजनको सबैभन्दा महँगो टाइम हो । त्यति लोकपि्रय भयो कार्यक्रम । सो कार्यक्रम छायाँकन गर्दा हेर्न आउने हजारौं मानिसहरू जम्मा हुन्थे । हाम्रो ठाउँमा छायाँकन गर्नुपर्‍यो भनेर जिल्लाजिल्लाबाट टेलिभिजनमा डेलिगेसन आउँथे ।

दर्शकको अत्याधिक भीड लागेको एक, दुईवटा कार्यक्रम सम्झिनुस् न ?

नारायणगढको नजिकै चनौली भन्ने एउटा गाउँ छ । सो गाउँमा कार्यक्रम सुटिङ गर्नुपर्‍यो भनेर स्थानीयहरू टेलिभिजनमा डेलिगेशन आएर अनुरोध गर्नुभयो । हामीले त्यहाँ कल्पना गरेभन्दा बढी थाम्नै नसकिने भीड जम्मा भयो । त्यस्तो माहोलमा गीत गाएर, पर्फमेन्स गरेर त्यो रेकर्ड गरेर ल्याएर देखाइन्थ्यो । त्यस्ता ऐतिहासिक अनुभवहरू थुप्रै छन् ।

अर्को, नारायणगढदेखि पारीपट्टी गैँडाकोटमा नारायणी नदीको किनारमा खाली जग्गामा कार्यक्रममा पनि थाम्नै नसकिने विशाल भीड जम्मा भयो । कतिपयले त नारायणी नदीमा किनार भरिएर पानीभित्र छिरेर कार्यक्रम हेर्नुहुन्थ्यो । त्यो भिडियो अहिले पनि नेपाल टेलिभिजनमा अर्काइभमा छ । धेरै स्थानमा त्यसरी नै भीड लाग्थ्यो । त्यस्ता इतिहास सम्झँदा अहिले आफैंलाई अचम्म लाग्छ ।

‘लोकदोहोरी’ कार्यक्रम प्रशारण सुरु गर्नुभएपछि लोकदोहोरीलाई हेर्ने नजर कसरी परिवर्तन हुँदै गयो ?

पहिले पूर्वमा पूर्वेली गीत मात्रै सुनिन्थ्यो । पश्चिममा पश्चिमेली गीत मात्र सुनिन्थ्यो । काठ क्षेत्रमा काठे गीत मात्र सुनिन्थ्यो । सुदुरपश्चिममा देउडा चल्थ्यो । म टेलिभिजनमा आइसकेपछि मिक्स गर्न थालेँ । देउडामा पनि दोहोरी, पूर्वेली भाकामा पनि दोहोरी, पश्चिमेली भाकामा पनि दोहोरी, काठेमा पनि दोहोरी मिक्स गर्न थालेँ । कलाकारहरूलाई पनि क्रस गराउन थालेँ । म आफै पूर्वेली गीत गाउन थालेँ । म आफै काठे, देउडा गीत गाउन थालेँ । पूर्वेली कलाकारहरूले पश्चिमेली गीत गाउन मान्नुहुँदैनथ्यो । कलाकार मात्र होइन् दर्शकमा पनि विभेद थियो । पूर्वेलीले पूर्वेली गीत र पश्चिमेलीले पश्चिमेली मात्र हेर्ने सुन्ने गर्थे । दर्शकको दृष्टिकोण परिवर्तन गर्दै त्यो खालको माहोललाई परिवर्तन गर्दै लग्यौं । गायक-गायिकाको दृष्टिकोण पनि परिवर्तन भयो । त्यो गीतसंगीत क्षेत्रको राष्ट्रिय एकता, मेलमिलाप नै हो ।

अब, तपाईंका गीतहरूबारे कुरा गरौं । सुरुवाती दिनमा तपाईंका चर्चित गीतहरू कुन-कुन हुन् ?

वि.सं. २०५५ सालमा ‘छाता ओझेल पारिदेउ बर्खे झरीमा’ भन्ने दोहोरी गीत बीमाकुमारी दूरा र मैले गाएको थिएँ । सो गीत निकै चल्यो र क्यासेट बिक्रीमा रेकर्ड ब्रेक भयो । २०५७/५८ सालमा ‘देउरालीमा पिपल छायाँले, दिन बिताउनै गाह्रो भो मलाई त पागल भएँ तिम्रै मायाले’ बोलको म्युजिक नेपाल, रेडियो नेपाल र नेपाल टेलिभिजनको संयुक्त लगानी रहेको गीत थियो यो । बीमा र मैले गाएको यो गीत पनि निकै चल्यो । यी दुईवटा गीतले क्यासेटको बिक्रीको रेकर्ड ब्रेक गरेका थिए । अन्य धेरै गीतहरू स्रोता एवं दर्शकले रुचाउनुभयो । ‘गुल्मी झरेर, मेरै माया, माया गाँसौ न’ लगायतका थुप्रै गीतहरू हिट भएका छन् ।

हालसम्म कति गीत गाउनुभएको छ ?

मैले गाएका गीतहरूको संख्या १२ सय नाघिसकेको छ । ४८ वटा एल्वम बजारमा आइसकेका छन् । म गीत आफैं लेख्छु । यी गीहरूमध्ये एउटा बाहेक सबै गीतहरू म आफैंले लेखेका गीतहरू हुन् ।

मेला-महोत्सवमा पनि लोकदोहोरी तपाईंले नै छिराउनुभएको है ?

पहिले पनि मेला महोत्सवहरू हुन्थे तर कम मात्रामा । तर ती मेला महोत्सवमा किनबेच मात्र हुन्थ्यो । त्यसमा लोक गीत, दोहोरी गीत छिराउनै दिइँदैनथ्यो । हामीले वि.सं. २०५३ सालमा बुटवलबाट मेलामा दोहोरी छिरायौं । त्यो नै नेपालमा पहिलोपटक महोत्सवमा भएको दोहोरी थियो । त्यसपछि मेला महोत्सवमा औपचारिक रूपमा दोहोरी प्रवेश गर्‍यो ।

त्यतिबेला रूपन्देही उद्योग संघले महोत्सव आयोजना गरेको थियो । श्याम पाठक अध्यक्ष हुनुहुन्थ्यो । रमिला आचार्य भाउजुको बुवा, हरिवंश आचार्य दाइको ससुरा । कार्यक्रम गर्ने निधो भएपछि कसरी खर्च उठाउने त भन्दा हामीले दोहोरी राखौं भन्यौं । आयोजकमध्येको एक सदस्य म पनि थिए । त्यहाँ दोहोरी सञ्चालन नै मैले गरेँ । बाहिरबाट पनि समन्वय गरेर कलाकारहरू लगेँ । यसरी मेला महोत्सवमा दोहोरी छिराएपछि विस्तारै स्थापित नै भयो । त्यसपछि हरेक वर्ष जहाँ मेला महोत्सव भएपनि दोहोरी अत्यावश्यक जस्तै भयो । नेपालका धेरै जिल्ला घुमेँ । म आफैं अतिथि भएर जान्थेँ, म आफैँ प्रस्तुति दिन्थेँ । रेडियो टेलिभिजनबाट कलाकार लिएर जान्थ्यौं । अहिले सम्झँदा पनि ‘नोष्टाजिक’ हुन्छु ।

तपाईं टेलिसिरियलहरूमा पनि अभिनय गर्नुभयो है ?

नेपाल टेलिभिजनमा सन्तोष पन्त दाईको ‘हिजो आजका कुरा’मा २०५२ देखि तीन वर्ष काम गरेँ । टेलिभिजन स्त्रिmनका लागि सन्तोष दाईले मलाई पहिलोपटक टेक दिनुभएको हो । ‘मेरी बास्सै’देखि ‘जिरे खुर्सानी’लगायतका टेलिसियिरलमा पनि अभिनय गरे । तर अभिनयमा म अतिथि कलाकारको रूपमा मात्र गरेँ । कहिले मन्त्री, कहिले सांसद त्यस्तै भूमिकामा काम गरे । किनकी त्यो समय मलाई फुर्सद नै मिल्दैनथ्यो ।

चर्चा, करिअर उत्कर्षमा रहेकै बेला फेरी अमेरिका जानुभयो । अमेरिका गएपछि आफ्नो सांगीतिक यात्रा, त्यो आफ्नो लोकपि्रय कार्यक्रमसँगै समग्र नेपाललाई कत्तिको मिस गर्नुभयो ?

विशेष परिस्थितिवश म अमेरिका गएँ । त्यहाँ गएपछि पनि पत्रकारिता, कलाकारिता सबैलाई निरन्तरता दिए । यद्यपि नेपाल म हरेक समय मिस गर्थे । एउटा सन्तुष्टिको कुरा के भने, त्यता गएको पहिलो वर्ष सन २००८ मा अमेरिकामा पहिलोपटक तीज महोत्सव मैले नै आयोजना गरेँ । त्योभन्दा अघि अमेरिकामा कहिल्यै तीज महोत्सव भएको थिएन । हामीले त्यहाँ रहनुभएका नेपालीहरूको बीचमा सांगीतिक क्षेत्रसँग सम्बन्धित यस्तो-यस्तो कार्यक्रम गर्न थाल्यौं कि त्यहीँ नै नेपाल बनायौं । हरेक वर्ष त्यहाँ तीज महोत्सव हुन्छ । हामी दशैं तिहारका सांस्कृतिक कार्यक्रम गर्छौं । र, हामीले त्यही सानो नेपाल बनाएर बस्यौं ।

त्यता सांगीतिक कार्यक्रमहरू गरे पनि सन्तुष्टि चाँहि कत्तिको मिल्थ्यो ?

यहाँ म ५०/६० हजार दर्शकको मासका गीत गाउँथे भने उता ५ सय, १ हजारको मासमा गीत गाउनुपर्‍यो । नेपालमा जस्तो चार्म र हाइहाइ हुँदैनथ्यो । यताको माहोल एकदमै मिस हुन्थ्यो कहिलेकाहिँ । तर, चित्त बुझाउनुपथ्र्यो । मलाई मेरो माटो, मेरो साहित्य, लोकदोहोरी, कला क्षेत्र सधै मिस हुन्थ्यो । र, आज पनि मिस गर्दैछु । यहाँ भएको भए उता अमेरिकामा हुँदा भन्दा १० औं गुणा काम गर्न सकिन्थ्यो लाग्छ । तर, चिचि पनि पापा पनि हुँदैन । छोराछोरी र आफ्नो व्यवस्थापन गर्ने क्रममा जे गरियो, ठिक छ ।

अहिले त लोकदोहोरी विकृत भएको धेरै गुनासो सुनिन्छ नी ? कस्तो पाउनुहुन्छ ?

लोकदोहोरी धेरै फोहोरी भयो भन्ने म पनि सुन्छु । त्यो पाउँछु पनि । यो असाध्यै दुःखद् कुरा हो । हामीले साना दुःखले लोक र दोहोरी गीतलाई यहाँ ल्याएका होइनौं । कृपया त्यो बेलाको हाम्रो रगत र पसिनामाथि कसैले रजाईँ नगरोस् र कसैले बदनियत नराखिदेओस् । कसैले यो क्षेत्रलाई बदनाम नगरिदेओस् ।

मैले जुनसुकै कार्यक्रममा लोक र दोहोरी गीत गाउने कलाकारहरूलाई भन्ने गरेको छु- लोकगीत गाउने व्यक्ति सबैभन्दा अनुशासित हुनुपर्छ । लोकको गीत गाउने व्यक्ति लोकगायक हो । लोक भनेको जनता, देश, समाज, परिवेश सबै पर्‍यो । हामीले त उच्श्रृंखल भन्ने दिमागमा राख्नैहुन्न, छिराउनै हुँदैन ।

हामीले जति नाम कमाएका छौं यदि एउटा टुक्का गाउँदा कही चुक्यौं भने आजसम्म कमाएको हाम्रो धेरै कुुरा जान्छ । एउटा व्यक्तिले होइन्, समग्र हाम्रो क्षेत्रले त्यसको मूल्य तिर्नुपर्छ ।

मैले नयाँ भाइबहिनीलाई लोकपि्रय बन, लोकपि्रय बन्न खोज तर, भाइरल र चर्चित बन्न नखोज भन्ने गरेको छु । चर्चित बन्ने, भाइरल बन्ने र लोकपि्रय बन्ने कुरा पूरै फरक कुरा हो । जनताको मन जित्नु लोकपि्रयता हो । अहिलेका कलाकारहरूले यो कुरा छुट्याउन जरुरी छ र कलाकार, दर्शक, श्रोताहरूले यो कुरामा मूल्यांकन गर्न जरुरी छ । लोकपि्रय बन्न छाडेर भाइरल र चर्चित हुने नामले यो क्षेत्र बर्बाद बनाएका छन् । म समग्र कलाकारहरूलाई हामी चर्चित र भाइरल होइन् लोकपि्रय बन्न सिकौं भन्छु ।

जीवनको बुढ्यौली समय अमेरिकामै बिताउनुहुन्छ कि नेपालमा ?

छोराछोरीको सेटलमेन्ट भयो । उनीहरूको विवाह पनि भयो । अमेरिका पूरा रूपमा छोड्न सक्दिनँ । किनकि त्यहाँ मेरो धेरै व्यवसायहरू छन् । तर, अब उता कम र नेपालमा बढी समय बिताउने सोच छ । गीत संगीत, साहित्य र कलाको क्षेत्रमा केही गर्न पाइयोस् भन्ने इच्छा छ । अहिले त्यसैलाई प्राथमिकतामा राखेर सोचेको छु । हेरौं भोलि के हुन्छ । यही देशले मलाई सबैकुरा दियो, परिचय दियो । पुरस्कारदेखि लिएर मानसम्मान सबै कुरा पाए ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?