+
+
Shares
जडीबुटीबाट गोली हानेर समातिएका गणेश कार्की :

प्रहरीको जागिर छाडेर श्रृंखलाबद्ध अपराध, जेनजी आन्दोलनको मौकामा कारागारबाट फरार

जडीबुटीबाट गोली हानेर पक्राउ गरिएका व्यक्ति पूर्व प्रहरी भएको खुलेको छ । श्रृंखलाबद्ध अपराधमा संलग्न उनी जेनजी आन्दोलनको मौकामा सुन्धारा कारागारबाट फरार व्यक्ति भएको प्रहरीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १७ गते ९:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रहरीले गएराति काठमाडौंको जडीबुटीबाट गोली प्रहार गरी कर्तव्य ज्यान तथा डाँका मुद्दाका फरार अभियुक्त गणेश कार्कीलाई नियन्त्रणमा लिएको छ ।
  • डाँका चोरी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका कार्की २४ भदौ २०८२ मा केन्द्रीय कारागारबाट फरार भएका थिए ।
  • कारागारबाट फरार भएपछि उनले प्रहरीको नक्कली परिचय दिँदै उपत्यकाका विभिन्न स्थानमा लुटपाट गर्ने गरेको प्रहरीले जनाएको छ ।

१७ जेठ, काठमाडौं । जडीबुटी क्षेत्रबाट गोली हानेर गएराति नियन्त्रणमा लिइएका गणेश कार्की विभिन्न आपराधिक घटनामा संलग्न पूर्व प्रहरी र कारागारबाट फरार भएका व्यक्ति भएको प्रहरीले जनाएको छ ।

काठमाडौंका एसएसपी रमेश थापाका अनुसार काठमाडौं बूढानीलकण्ठ नगरपालिका–३ चपली भद्रकालीका ४० वर्षीय गणेश कार्की २०६१ सालमा प्रहरी जवान पदमा भर्ना भएका थिए । उनले २०६४ सालमा सेवा छाडेका थिए ।

प्रहरी अभिलेखअनुसार कार्कीविरुद्ध विगतदेखि नै विभिन्न फौजदारी मुद्दा दर्ता भएका छन् ।

उनीविरुद्ध २०६४ साल मंसिर ९ गते अभद्र व्यवहारको कसुरमा प्रहरी वृत्त बौद्धमा र सोही वर्ष पुस ८ गते हातहतियार तथा खरखजाना मुद्दा बालाजु प्रहरी वृत्तमा दर्ता भएको थियो ।

त्यसपछि २०६८ साल वैशाख २ गते कर्तव्य ज्यान मुद्दामा संलग्न भई दोषी ठहर भएपछि २०६८ असार २० गतेदेखि २०७८ असोज ३ गतेसम्म कैद सजाय भुक्तान गरेका थिए ।

सजाय भुक्तानपछि पनि उनी चोरी तथा डाँका चोरीका मुद्दामा पुन: पक्राउ परेका थिए । प्रहरीका अनुसार २०७८ साल फागुन ३ गते   ललितपुर प्रहरीमा चोरी मुद्दा र २०७८ साल फागुन २६ गते प्रहरी वृत्त गौशालामा डाँकाचोरी मुद्दा दर्ता भएको थियो ।

२०७९ सालमा डाँका चोरीमा ६ वर्ष सजायँ भई उनलाई केन्द्रीय कारागारमा राखिएको थियो । तर २०८२ भदौ २४ गतेको जेनजी आन्दोलनका बेला उनी कारागारबाट फरार भएका थिए ।

फरार भएपछि उनले काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा चोरी, लुटपाट तथा प्रहरीको परिचय दुरुपयोग गरी आपराधिक गतिविधि सञ्चालन गरेको आरोप प्रहरीले लगाएको छ ।

प्रहरीका अनुसार कार्कीले कपन क्षेत्रमा महिला साथीलाई भेट्न जाँदा पक्राउ गर्न पुगेका सादा पोशाकका प्रहरीमाथि धुलो र खुर्सानी छर्केर आक्रमण गरी फरार भएका थिए ।

यस्तै, गौशालामा २०८२ साल असोज ७ गते एक बिजुली पसलमा चोरी तथा लुटपाट गरेको, माघ ११ गते पिङ्लास्थान क्षेत्रमा विदेश जान लागेका एक व्यक्तिबाट नगद ५ हजार रुपैयाँ र मोबाइल फोन लुटेको, चैत महिनामा शान्तिनगरमा गुल्लु खान भन्ने व्यक्तिको मोबाइल फोन लुटपाट गरेको आरोप उनीमाथि छ ।

२०८२ साल फागुन महिनामा पनि तिलगंगामा आफूलाई प्रहरी भएको परिचय दिँदै लागुऔषध र नगद १ हजार ५०० रुपैयाँ लुटेको आरोप उनीमाथि छ ।

उनले पशुपति क्षेत्र, जोरपाटी तथा एयरपोर्ट आसपासका क्षेत्रमा समेत आफूलाई प्रहरीको परिचय दिँदै लागुऔषध प्रयोगकर्ता तथा विदेश जाने यात्रुलाई लक्षित गरी लुटपाट गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

त्यसैगरी, सुन्दरीजल क्षेत्रबाट एक स्कुटर चोरेर कलंकी क्षेत्रमा छाडेको घटनामा समेत उनको संलग्नता रहेको प्रहरीको दाबी छ ।

कार्कीको खोजी गर्ने क्रममा प्रहरीले गएराति काठमाडौंको जडीबुटीस्थित रोयल पार्टी ल्यालेस नजिकबाट गोली हानेर नियन्त्रणमा लिएको थियो । उनको वायाँ खुट्टामा गोली लागेको छ । राति नै उनलाई उपचारका लागि ट्रमा सेन्टरमा लगिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?