+
+
Shares

रुकुम पश्चिममा ३ जिल्लाको बैठक : सुरक्षा र विपद्‍ व्यवस्थापनमा निरन्तर सहकार्य गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १७ गते ८:५५

१७ जेठ, डोल्पा । रुकुम पश्चिममा बसेको तीन जिल्लाको अन्तरजिल्ला समन्वय बैठकले निरन्तर आपसी सहकार्य र समन्वय गर्ने सहमति गरेको छ ।

शनिबार रुकुम पश्चिमको जिल्ला प्रशासन कार्यालयमा बसेको अन्तरजिल्ला समन्वय बैठकमा डोल्पा, जाजरकोट र रुकुम पश्चिम जिल्लाबीच सुरक्षा, विकास निर्माण, विपद् व्यवस्थापन तथा नागरिक सेवासम्बन्धी विषयमा आपसी समन्वयलाई थप प्रभावकारी बनाउने उद्देश्यले अन्तरजिल्ला समन्वय बैठक बसेको डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले जानकारी दिइन् ।

उनका अनुसार बैठकमा विशेषगरी भेरीकरिडोर अन्तर्गत रुकुम पश्चिमको दामाचौर र मुलातारस्थित खोलामा वर्षायाममा पानीको बहाव बढ्दा सर्वसाधारणले भोग्दै आएको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्ने विषयमा विस्तृत छलफल भएको थियो ।

उक्त समस्याको समाधानका लागि आवश्यक समन्वय र व्यवस्थापन गर्ने सम्बन्धमा रुकुम पश्चिम र जाजरकोट जिल्लासँग लिखित रूपमा निर्णयसमेत गरिएको उनले बताइन् । बैठकले हाल जाजरकाेटमा रहेको भेरी कोरिडोर कार्यालयलाई डोल्पाको दुनैमा स्थानान्तरण गर्न आवश्यक पहल गर्ने निर्णयसमेत गरेको छ ।

यसका साथै डोल्पासँग प्रत्यक्ष रूपमा सरोकार राख्ने सडक पूर्वाधार, सुरक्षा व्यवस्थापन, विपद् जोखिम न्यूनीकरण, यातायात सञ्चालन तथा नागरिक सेवाका विषयमा तीन जिल्लाबीच निरन्तर सहकार्य र समन्वयलाई मजबुत बनाउने सहमति गरिएको छ ।

अन्तरजिल्ला सुरक्षा तथा समन्वय बैठकमा सीमा क्षेत्रको सुरक्षा अवस्था, विकास आयोजनाको प्रभावकारी कार्यान्वयन, नागरिक आवतजावतमा सहजता, विपद् व्यवस्थापनका साझा चुनौती तथा समाधानका उपायहरूबारे समेत छलफल भएको प्रजिअ हमालले बताइन् ।

उनले बैठकबाट भएका निर्णयहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायहरूबीच नियमित समन्वय र सहकार्यलाई निरन्तरता दिइने जानकारी दिइन ।

बैठकले तीन जिल्लाबीचको आपसी सम्बन्ध, सहकार्य र विकासका साझा प्रयासलाई थप सुदृढ बनाउने विश्वास समेत व्यक्त गरिएको छ ।

बैठकमा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?