+
+

वर्ल्ड एक्स्पो : वर्षा माग्दै नेपाली रथ दुबईमा तानिने

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १२ गते १३:१६

१२ पुस, काठमाडौं । संयुक्त अरब इमिरेट्सको दुबई शहरमा ‘वर्ल्ड एक्स्पो २०२०’ जारी छ । १ अक्टोबरदेखि शुरु भएको एक्स्पो ६ महिनासम्म चल्नेछ । हरेक ५/५ वर्षमा विश्वभरका मुलुक सहभागी भई आयोजना हुने एक्स्पो आयोजना गर्ने जिम्मा यो पटक दुबईले पाएको हो ।

इम्प्लिमेन्टिङ एक्स्पर्ट ग्रुपले नेपालको प्रतिनिधित्व गर्दै एक्स्पोमा सहभागिता जनाएको छ । इम्प्लिमेन्टिङ एक्स्पर्ट ग्रुपले १८ पुस (२ जनवरी)को दिन ‘नेशनल डे अफ नेपाल’ नामक विशेष कार्यक्रमको आयोजना गर्दैछ ।

ग्रुपका नेशनल प्रोग्राम कोर्डिनेटर विनायक शाहका अनुसार एक्स्पोमा नेपाल आर्थिक रुपमा तीब्र गतिमा अगाडि बढिरहेका दुई छिमेकी मुलुक भारत र चीनको बीचमा रहेको भन्दै यो आर्थिक करिडोरका रुपमा विकास हुनसक्ने सम्भावनालाई उजागर गर्ने लक्ष्य लिइएको छ । ‘नेपालको इतिहास सुनौलो छ,’ शाह भन्छन्, ‘विगतमा भोट र भारतको व्यापारिक सञ्जालका रुपमा नेपालले त्यसको भरपुर फाइदा उठाएको थियो, यो इतिहास हामी पुनः फर्काउन सक्छौं भन्ने उद्देश्यले लगानीकर्तालाई जानकारी गराइरहेका छौं ।’

१८ पुसमा आयोजना हुने नेशनल डेमा भने दुबईमा वर्षात् माग गर्दै नेपाली परम्परा अनुसार रथ तान्ने योजना छ । ‘त्यो दिन दुबईमा वर्षा माग्दै प्रार्थना गर्ने प्रचलन रहेछ, शाहले भने, हामीले पनि नेपालमा वर्षा माग्दै विगतदेखि गरिने रथयात्रालाई सांकेतिक रुपमा दुवईमा रथ तान्दैछौं ।’
शाहका अनुसार सो दिन सेतो मच्छिन्द्रनाथ, रातो मच्छिन्द्रनाथ, विष्केट जात्रा, मीननाथ जात्रा, र दोलखामा तानिने भिमसेन रथको नमुना दुबई पुर्‍याइएको छ । यस दिन निजी क्षेत्र, वाणिज्य मन्त्रालयका प्रतिनिधि र दुबई सरकारका उच्च अधिकारीको उपस्थितिमा रथ तान्ने कार्यक्रम राखिएको छ । यसले नेपालको संस्कृतिलाई विश्वसामु चिनाउन, नेपालतर्फ विश्वभरका लगानीकर्ताको ध्यानाकर्षण गराउन र दुई मुलुकबीचका सांस्कृतिक सम्बन्ध स्थापित गराउन समेत महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।

एक्स्पोमा नेपालले प्राचिन भारत–नेपाल–चीनबीचको भौतिक तथा आध्यात्मिक मार्गलाई पुनर्जिवित गर्ने, नेपालमा आर्थिक अवसर सिर्जनाको सम्भावनाबारे लगानीकर्तालाई जानकारी गराउने र यसलाई समृद्धिसँग कसरी जोड्ने भन्ने विषयमा आफ्नो प्रस्तुतिहरु दिइरहेको छ ।

सन् २०२० मै आयोजना हुनुपर्ने एक्स्पो यसवर्ष कोरोनाका कारण एक वर्ष ढिला आयोजना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?