+
+
प्रचण्डको आत्मसमीक्षा :

हतारमा ‘व्यक्तिवादी’ निर्णय, फुर्सदमा आत्मालोचना

प्रचण्डको गतिविधि अझै पनि व्यक्तिवादी भएकाले रुपान्तरित हुनेमा शंका गर्छन् नेताहरु । एक नेता भन्छन्, ‘इतिहासको घटनामा आत्मालोचना गरेपनि वर्तमान चाहिँ व्यक्तिवादी नै छ, रुपान्तरणमा विश्वसनीयता पैदा गर्न सकेको छैन ।’

राजकुमार श्रेष्ठ राजकुमार श्रेष्ठ
२०७८ पुष १२ गते २१:२२

१२ पुस, काठमाडौं । माओवादी केन्द्रमा आम नेता कार्यकर्ताको बुझाइ छ, पुनरोदयका लागि पार्टीमा रुपान्तरण आवश्यक छ र त्यसको सुरुवात नेतृत्वबाटै हुनुपर्छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा चलिरहेको पार्टीको आठौं महाधिवेशनमा शान्ति प्रक्रियामा आएपछि भए गरेका गल्ती कमजोरीमा आत्मालोचना गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रुपान्तरित हुन चाहेको सन्देश दिएका छन् ।

तर माओवादीका महाधिवेशन प्रतिनिधिहरु भन्छन्, ‘नेतृत्वमा रुपान्तरण दस्तावेजमा होइन, व्यवहारमा खोजेका हौं ।’ अहिले पनि प्रचण्डले ‘व्यक्तिवादी’ निर्णयहरु गर्न नछाडेकाले रुपान्तरित हुन्छन् भन्नेमा आशंका कायमै छ ।

प्रचण्डको नजरमा उनका चार गल्ती

महाधिवेशन प्रतिनिधिहरुलाई आफ्नो राजनीतिक प्रतिवेदन नदिई बाचन मात्र गरेका प्रचण्डले, ‘लेनिनले आफ्नो कमजोरीप्रति निर्मम हुन आँट नगर्ने पार्टी वैज्ञानिक र सर्वहारा पार्टी हुन सक्दैन भनेका छन्’ भन्दै गल्तीहरु सुनाएका थिए ।

उनले बृहत शान्ति सम्झौतामा हस्ताक्षर गर्ने र जनमुक्ति सेनालाई क्यान्टोनमेन्टमा राख्ने निर्णय गर्नुपूर्व केन्द्रीय समितिमा खुलस्त छलफल नगर्नु कमजोरी भएको बताएका छन् । शान्ति सम्झौतामा हस्ताक्षर गर्नु सही भएपनि निर्णय लिने प्रक्रियाले पार्टीभित्र अविश्वास र आशंकाको विजारोपण भएको भन्दै  प्रचण्डले आफ्नो प्रतिवेदनमा भनेका छन्, ‘प्रचण्डको मनोगत र जनवादी केन्द्रीयता अतिक्रमण गर्ने अति आत्मविश्वास झल्कने कमजोरी देखिन्छ ।’

जनमुक्ति सेना र हतियारलाई क्यान्टोनमेन्टमा राखेपछि पनि विद्रोह र संविधान निर्माणका कुरा एकैपटक गर्नु अर्को कमजोरी भएको प्रचण्डले स्वीकार गरेका छन् । मुखले संविधान, मनले विद्रोह भन्नु अत्यन्त अवस्तुवादी र अपारदर्शी भएको भन्दै उनले आफ्नो प्रस्तावमा भनेका छन्, ‘सेना र हतियार क्यान्टोनमेन्टमा राखिसकेपछि विद्रोह हुने कुरै थिएन । बरु संविधानसभाबाट अधिकतम प्रगतिशील निर्माणको काममा ठूलो क्षति पुग्न गयो ।’

विद्रोह नभन्ने हो भने कार्यकर्ता भड्किन्छन् कि भन्ने नेतृत्वको मनोगत भयले काम गरेको प्रचण्डको विश्लेषण छ । तर वैचारिक र राजनीतिक अस्पष्टताले पार्टीमा गुटबन्दी र अराजकता झाँगिएको भन्दै उनले दस्तावेजमा भनेका छन्, ‘विद्रोह र संविधान निर्माणका कुरा एकैचोटी गर्दा न पार्टी बच्यो, न अधिकतम प्रगतिशील संविधान बनाउन प्रभावकारी भूमिका खेल्न सक्यौं ।’

प्रचण्डले केन्द्रीय समिति वा राष्ट्रिय भेलामा छलफल नगरी प्रचण्डपथ स्थगित गर्नु पनि कमजोरी भएको बताएका छन् । कम्युनिस्ट आन्दोलनको बृहत एकतामा प्रचण्डपथ सबैलाई स्वीकार नहुने स्वीकार गरेका उनले भनेका छन्, ‘प्रचण्डपथबारे पार्टीभित्र गम्भीर बहस छलफलसहित सम्भव भए राष्ट्रिय सम्मेलन, नभए कम्तीमा केन्द्रीय समितिको बैठकमार्फत यसबारे एकरुप धारणा बनाएर निर्णय लिनुपर्दथ्यो । तर शान्ति प्रक्रियामा आएपछि विचार र नेतृत्वबारे आवश्यक बहस छलफल गरी निष्कर्ष निकाल्ने काम गरिएन ।’

यद्यपि अब पुनः प्रचण्डपथ स्थापित पर्छ भन्ने आफ्नो तर्क नभएको उनले प्रष्ट पारेका छन् । समाजवादी क्रान्तिको रणनीति अन्तर्गत नयाँ विचार संश्लेषणका लागि अध्ययन अनुसन्धान बहस गर्नु आजको आवश्यकता भएको भन्दै त्यसका लागि प्रचण्डपथ र २१औं शताब्दीको जनवाद सन्दर्भ सामग्री मात्र हुने बताए ।

प्रचण्डले तत्कालीन नेकपामा आफ्नो तर्फबाट भएका उदारवादी कमजोरीका कारण ओली प्रवृत्तिलाई षड्यन्त्रको जाल बुन्ने अनावश्यक अवसर दिएको भन्दै आत्मालोचना गरेका छन् । भनेका छन्, ‘आगामी दिनमा सिंगो पार्टीपंक्ति यसप्रकारको उदारवादी कमजोरी सच्याउन विशेष सजग र सतर्क रहनुपर्छ ।’

प्रचण्डको दस्तावेजमा के छ ?

१. केन्द्रीय समितिको चुनावाङ बैठकबाट सामान्य वैचारिक र राजनीतिक दिशाबोध गरिएको भएपनि शान्ति सम्झौतामा हस्ताक्षर गर्ने तथा जनमुक्ति सेनालाई क्यान्टोनमेन्टमा राख्ने जस्ता अत्यन्त गम्भीर र संवेदनशील निर्णय केन्द्रीय समितिको बैठकमा खुलस्त बहस छलफल गरेर तथा शान्ति सम्झौतापछि पार्टीको नीति, विधान र कार्यक्रमबारे समेत साझा धारणा बनाएर मात्र शान्ति सम्झौतामा हस्ताक्षर गर्नुपर्ने थियो ।

वस्तुगत रुपमा सही भएपनि नेतृत्वको निर्णय लिने प्रक्रियाले पार्टीभित्र अविश्वास र आशंकाको विजारोपण भयो । यसमा अध्यक्ष कमरेड प्रचण्डको मनोगत र जनवादी केन्द्रीयता अतिक्रमण गर्ने अति आत्मविश्वास झल्कने कमजोरी देखिन्छ । यो निर्णय प्रक्रियाले एकीकृत र केन्द्रिकृत रहेका जिम्मेवार कमरेडहरुको मनमा चिसो पस्न गएको । पार्टी कहाँ र कसरी जाने स्पष्ट मार्गचित्र नहुँदा आम कार्यकर्तामा अन्यौल बढ्न थाल्यो । यो विन्दुबाट पार्टीको सुदृढ वैचारिक, राजनीतिक र सांगठनिक एकताको गाँठो खुकुलो हुन थाल्यो ।

२. विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेर जनमुक्ति सेना र हतियारलाई संयुक्त राष्ट्रसंघीय मिसनको अवलोकनमा रहने गरी क्यान्टोनमेन्टमा लगिसकेपछि पनि विद्रोह र संविधान निर्माणका दुबै कुरा एकै पटक गरिरहनुले पार्टीमा ठूलो विचाराधारात्मक अन्यौल सिर्जना भयो । अझ कतिपय सन्दर्भमा मुखले संविधानका कुरा, मनले विद्रोहको कुरा गर्ने भन्ने अत्यन्त अवस्तुवादी र अपारदर्शी कुराले शान्ति सम्झौता गरेर सेना र हतियारलाई क्यान्टोनमेन्टमा राखिसकेपछि विद्रोह त हुन सक्दैनथ्यो । विद्रोह त कुनै कुरै थिएन । बरु संविधानसभाबाट अधिकतम प्रगतिशील निर्माणको काममा ठूलो क्षति पुग्न गयो ।

यही वैचारिक र राजनीतिक अस्पष्टताकै जगमा पार्टीमा गुटबन्दी र अराजकता झाँगिन थाल्यो । वस्तुतः पार्टीले शान्ति सम्झौतामा हस्ताक्षर गरेर जनमुक्ति सेना र हतियार व्यवस्थापन गरिसकेपछि प्रष्ट रुपमा अधिकतम प्रगतशील निर्माणका लागि संघर्ष नै अबको बाटो हो भन्नुपर्थ्यो । विद्रोह नभन्ने हो भने कार्यकर्ता भड्किन्छन् कि भन्ने नेतृत्वको मनोगत भयले काम गरेको छ ।

परिणामले के स्थापित गर्‍यो भने स्पष्ट बाटो संविधान निर्माण र शान्तिपूर्ण रुपले जनवादी क्रान्तिका बाँकी काम पूरा गर्नु हो भन्न सकेको भए सम्भवत: माओवादी पार्टीलाई विभाजनबाट जोगाउन सकिन्थ्यो कि ? विद्रोह र संविधान निर्माणका कुरा एकै चोटी गर्दा न पार्टी बच्यो, न अधिकतम प्रगतिशील संविधान बनाउन प्रभावकारी भूमिका खेल्न सक्यौं । यसबाट के स्पष्ट हुन्छ भने विचार र राजनीतिको प्रश्नमा हमेसा सिधा र स्पष्ट छलफल गरेर मात्र पार्टीमा साझा धारणा विकास गर्न र पार्टीलाई अझ बलियो बनाउन सकिन्छ । कुनै किसिमको कूटनीतिक तरिकाले पार्टीलाई सही नेतृत्व दिइरहन सम्भव छैन भन्ने शिक्षा प्राप्त भयो ।

३. आजको युगान्तकारी राजनीतिक परिर्वतन माओवादी जनयुद्धको जगमा संयुक्त जनआन्दोलनसमेतको समायोजनबाट आएको हो भन्ने प्रष्ट छ । पार्टीको इतिहासको माथिको सिंहावलोकनबाट के स्पष्ट हुन्छ भने जनयुद्धको गुणात्मक विकासमा एउटा विशिष्ट विचार श्रृङ्खलाका रुपमा संश्लेषित प्रचण्डपथ र त्यही आधारमा विकसित २१औं शताब्दीको जनवादको विकाससम्बन्धी प्रस्तावनाको महत्वपूर्ण भूमिका थियो तत्कालीन नेकपा माओवादीमा । तत्कालीन नेकपा माओवादीलाई एकतावद्ध राख्ने बलियो वैचारिक हेडक्वार्टरका रुपमा प्रचण्डपथलाई दोस्रो राष्ट्रिय सम्मेलनले स्वीकार गरेको थियो ।

शान्ति सम्झौता, संविधानसभाको निर्वाचन र संघीय लोकतान्त्रिक गणतन्त्रपछिको बदलिँदो राजनीतिक परिस्थितिमा कम्युनिस्ट आन्दोलनको बृहत एकताका निम्ति प्रचण्डपथ पदावली सबैका निम्ति स्वीकार्य हुन सम्भव थिएन । तर तत्कालीन नेकपा माओवादीले युद्धको बीचमा जीवन हत्केलामा राखेर सम्पन्न गरेको दोस्रो राष्ट्रिय सम्मेलनको सर्वसम्मत निर्णय तथा माओवादी कार्यकर्ता र समर्थन जनमुदायबाट अनुमोदित प्रचण्डपथलाई न केन्द्रीय समितिमा न राष्ट्रिय भेलामा कुनै खालको बहस छलफल गरिएन, बरु प्रचण्डको व्यक्तिगत पुँजी जसरी स्थगित गर्दा पार्टीभित्र गम्भीर आशंका र अराजकतालाई टेवा दिइयो ।

वास्तवमा प्रचण्डपथबारे पार्टीभित्र गम्भीर बहस छलफलसहित सम्भव भए राष्ट्रिय सम्मेलन, नभए कम्तीमा केन्द्रीय समितिको बैठकमार्फत यसबारे एक रुप धारणा बनाएर निर्णय लिनुपर्दथ्यो । तर शान्ति प्रक्रियामा आएपछि विचार र नेतृत्वबारे आवश्यक बहस छलफल गरी निष्कर्ष निकाल्ने काम गरिएन । यी दुबै नगरी हल्का ढंगले विषयलाई पन्छाउनु गलत भएको छ । यस सन्दर्भमा कतिपय कोणबाट पुनः प्रचण्डपथ स्थापित गर्नुपर्ने हो कि भन्ने तर्क पनि उठेको देखिन्छ । तर अब त्यसरी सोच्नु विल्कुल पछि फर्किनु हुनपुग्छ । बरु आजको आवश्यकता भनेको समाजवादी क्रान्तिको रणनीति अन्तर्गत नयाँ विचार संश्लेषणका लागि अध्ययन अनुसन्धान बहस गर्नु हो । तत्कालीन माओवादी आन्दोलनले विकास गरेको प्रचण्डपथ र २१औं शताब्दीको जनवाद त्यसका निम्ति महत्वपूर्ण सन्दर्भ सामग्री भने अवश्य हुनेछन् ।

४. पार्टी एकताका सन्दर्भमा मुख्यतः तत्कालीन नेकपा एमालेसँग एकता सम्पन्न भएपछि सहमति कार्यान्वयन गर्दा नेतृत्वको तर्फबाट बेलाबखत हुन गएका उदारवादी कमजोरीका कारण ओली प्रवृत्तिलाई आफ्नो षड्यन्त्रको जाल बुन्ने अनावश्यक अवसर दियो । यो कुरा राजनीतिक प्रतिवेदन र विधान लागू गर्नेदेखि एकताका बेला संगठन र सरकार सञ्चालनबारे भएका सहमति कार्यान्वयनमा देखा परे । आगामी दिनमा सिंगो पार्टी पंक्ति यसप्रकारको उदारवादी कमजोरी सच्याउन विशेष सजग र सतर्क रहनुपर्छ ।

‘व्यवहारमा रुपान्तरण चाहन्छौं’

२३ फागुन २०७७ को सर्वोच्च अदालतको फैसलाले पुनर्स्थापित माओवादी केन्द्रको चैतमा बसेको केन्द्रीय कमिटी बैठकमा रुपान्तरणको आवाज जोडदार रुपमा उठेको थियो । आफ्ना राजनीतिक मुद्दाहरु स्थापित हुने, तर पार्टी चाहिँ कमजोर भइरहेकाले पुनरोदयका लागि रुपान्तरण जरुरी भएको नेताहरुको जोड थियो । त्यसका लागि पहिलो शर्त थियो, नेतृत्वको रुपान्तरण ।

राष्ट्रिय महाधिवेशनमा प्रचण्डले आफू रुपान्तरित हुन तयार रहेको सन्देश नेता कार्यकर्तालाई दिएका छन् । एक स्थायी कमिटी सदस्य भन्छन्, अहिले रुपान्तरणको कुरा नगरी अगाडि बढ्न सक्ने अवस्था छैन भनेर पार्टीमा कुरा उठेको छ । उहाँ (प्रचण्ड)ले म रुपान्तरित हुन्छ भन्ने देखाउन खोज्नु भएको छ ।’

तर प्रचण्डको गतिविधि अझै पनि व्यक्तिवादी भएकाले रुपान्तरित हुनेमा शंका गर्छन् नेताहरु । एक नेता भन्छन्, ‘इतिहासको घटनामा आत्मालोचना गरेपनि वर्तमान चाहिँ व्यक्तिवादी नै छ, रुपान्तरणमा विश्वसनीयता पैदा गर्न सकेको छैन ।’

कमिटी प्रणालीलाई नमान्ने, अरुलाई नसुन्ने तथा व्यक्तिवादी निर्णय गर्ने र आपत पर्दा कमजोरी भयो भनेर आत्मालोचना गर्ने प्रचण्डको स्वाभाव नै भइसकेको नेताहरु बताउँछन् । पहिलो संविधानसभा विघटन गर्ने, दोस्रो संविधानसभाको निर्वाचनमा नराम्रो हार व्यहोरेपछि मतगणना स्थल छाड्ने, लोकमान सिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बनाउने लगायतका कदममा पनि त्यही भएको भन्दै एक स्थायी सदस्य भन्छन्, ‘२/४ वर्ष पछाडि पहिलो संविधानसभा विघटन गर्नु गल्ती थियो भनेर आउन बेर छैन ।’

केन्द्रीय कमिटीमा रुपान्तरणको आवाज उठेपछि प्रचण्डमा परिर्वतन नदेखिएको भन्दै भन्दै ती नेताले भने, ‘स्थायी कमिटीले मन्त्रीहरु छान्ने भनियो, व्यक्तिगत रुपमा नाम दिनुभयो । जनवर्गीय संगठनहरुको सम्मेलनदेखि एमसीसी सम्झौता संसदमा टेबल गर्न सहमति दिने जस्ता थुप्रै व्यक्तिवादी निर्णय भएका छन् ।’

स्थायी कमिटी सदस्य हरिबोल गजुरेल भने पार्टी अध्यक्ष प्रचण्डले सार्वजनिक रुपमा आत्मालोचना गरेर आफूलाई घेराबन्दीमा राखेकाले रुपान्तरण हुनेमा बढी आशावादी देखिए । गल्ती सच्याउने कदमको सुरुवात आत्मालोचना भएको भन्दै उनले भने, ‘अब रुपान्तरण भएन भने नेता कार्यकर्ताले पक्रिन्छन्, खबरदारी गर्छन् ।’ यद्यपि व्यक्तिवादी निर्णय गर्ने बानी बसिसकेकाले साँचो अर्थमा रुपान्तरण हुन्छ कि हुँदैन भन्ने भोलिको व्यवहारले नै देखाउने उनले बताए ।

नेताहरुका अनुसार शान्ति प्रक्रियामा आउने निर्णय गर्दा पार्टीमा पर्याप्त बहस छलफल नगरेकोप्रति गरेको आत्मालोचना चाहिँ पूर्वमाओवादीलाई फेरि एकतावद्ध गर्ने कार्ड पनि हो । किनकी प्रचण्डलाई छाडेका मोहन वैद्य, नेत्रविक्रम चन्द विप्लवसम्मले शान्ति प्रक्रियामा आउँदा एकलौटी निर्णय गरेको गुनासो छ ।

एक नेता भन्छन्, ‘उहाँहरु धेरे पर पुगिसक्नु भएको छ, प्रचण्डको आत्मालोचनाले तत्काल पूर्वमाओवादीहरु एक भइहाल्ने अवस्था बनेको छैन ।’

लेखकको बारेमा
राजकुमार श्रेष्ठ

राजकुमार श्रेष्ठ अनलाइनखबर डटकमका सहायक सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?